एनआरएनए यूके निर्वाचन आयुक्तहरु पाँच महिनापछि सम्मानित

लण्डन । एनआरएनए यूकेले पाँच महिनाअघि सम्पन्न निर्वाचनका आयुक्तहरुलाई सम्मान गरेको छ । निवर्तमान र वर्तमान कार्यसमितिका तर्फबाट संयुक्त रुपमा शुक्रबार सांझ फार्नबरोको गोर्खा प्यालेस रेष्टुरेन्टमा एक कार्यक्रम गरी उनीहरुलाई सम्मान गरिएको हो । 

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङ र निवर्तमान कार्यसमिति अध्यक्ष योगकुमार फगामीले सम्मानपत्र र मायाको चिनोसहित आयुक्तहरुलाई सम्मान गरे । 

त्यसअवसरमा एनआरएनए यूकेको गत सेप्टेम्बरमा सम्पन्न निर्वाचनका प्रमुख निर्वाचन आयुक्त मेजर डमर घलेले थुप्रै चुनौति र जोखिमबीच पनि निर्वाचन समितिले निष्पक्ष र स्वच्छ निर्वाचन सम्पन्न गर्न सफल भएको स्मरण गरे । एनआरएन यूकेका पूर्व अध्यक्ष समेत रहेका घलेले भने, ‘डेढ दशकको इतिहासमा यति धेरै चुनौतिपूर्ण निर्वाचन यसअघि कहिल्यै भएको थिएन । तर पनि म र मेरो टिमले दिनरात, भोक निद्रा नभनी हप्तौंसम्म खटिएर पनि आफ्नो जिम्मेवारी पूरा गरयौं भन्ने विश्वास छ ।’

निर्वाचनका क्रममा सिर्जना भएका थुप्रै विवाद र असहमतिले काम गर्न असहज बनाए पनि निर्वाचन समिति हतोत्साही नबनेको उनले सम्झिए । 

निर्वाचन समितिका उपप्रमुख एवं प्रवक्ता शिवजी श्रेष्ठले  कुनै बदमासी र पूर्वाग्रहविना निर्वाचन सम्पन्न गर्न सक्दो प्रयास गरिएको बताए । ‘निर्वाचन समितिले सबैतिरबाट गाली खायो । एक पक्षको मात्रै गाली आएको भए पूर्वाग्रही भयौं कि भन्ने आशंका हुन सक्थ्यो । सबैले गाली गरेको सुन्दा त हामीले कसैको पनि पक्ष नलिइ काम गरेका रहेछौं भनेर खुशी नै लागेको छ’-उनले भने ।  

वर्तमान कार्यसमितिको सफलता सिंगो एनआरएनए यूकेको भविष्यसंग जोडिएको भन्दै श्रेष्ठले अब निर्वाचनलाई बिर्सिएर सबैले सहयोग गर्नुको विकल्प नरहेको बताए । 

अर्का निर्वाचन आयुक्त मेजर कृष्ण गुरुङले निर्वाचन प्रक्रियामा हारजित स्वभाविक हुने भएकाले चुनावी वैमनस्यता हटाएर संस्थाको हितका लागि एकठाउँमा आउन सबैलाई आव्हान गरे । 

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले गत निर्वाचनमा निर्वाचन समितिले निभाएको भूमिकाको आफूहरुले उच्च मुल्यांकन गरेको बताइन् । ‘संवेदनशील अवस्थामा पनि संस्थालाई एक बनाइराख्न र सही दिशा दिन निर्वाचन समितिले जसरी काम गरयो, त्यो निकै प्रशंसनीय छ । तपाईंहरु सबै बधाईका पात्र हुनुहुन्छ’-अध्यक्ष गुरुङले भनिन् । 

निवर्तमान अध्यक्ष एवं आइसिसी सदस्य योगकुमार फगामीले निर्वाचनको तयारीदेखि सम्पन्न गर्नसम्म निकै ठूलो समय र शक्ति लगानी भएको स्मरण गरे । निर्वाचन समितिलाई आफ्नो कार्यसमितिले दिएको कठिन जिम्मेवारी पनि कुशलतापूर्वक पूरा गरेको भन्दै उनले धन्यवाद दिए । 

एनआरएन यूकेका पूर्व अध्यक्ष सुर्य गुरुङले गत निर्वाचनको क्रममा डुब्नै लागेको संस्थालाई निर्वाचन समितिले सफलतापूर्वक किनारा लगाएको भन्दै प्रशंसा गरे । ‘वर्तमान कार्यसमितिमाथि बेलायतबासी सम्पूर्ण नेपालीहरुले आशापूर्वक नजर राखिरहेको छ’, गुरुङले थपे, ‘सबैको अपेक्षालाई बुझेर तपाईंहरु अहिलेदखि नै परिणाममुखी कामहरु सुरु गर्नुहोस्, ढिलाई गर्दै नगर्नुहोस् ।’ 

कार्यक्रम सञ्चालक एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले वर्तमान कार्यसमिति उच्च मनोबल र उत्साहका साथ काम गर्न तत्पर रहेको बताउँदै आफूहरुलाई हौसला र भरोसा आवश्यक रहेको बताए । 

कार्यक्रममा उपस्थित हुन नसकेका निर्वाचन आयुक्तहरुलाई समितिका प्रमुख र उपप्रमुखमार्फत सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिनेछ । 

निर्वाचनपछि लामो समयसम्म निर्वाचन समितिका प्रमुख आयुक्त घले नेपालमा रहेका कारण सम्मान कार्यक्रम आयोजनामा ढिलाई भएको बताइएको छ ।

कार्यक्रममा एनआरएनए अभियन्ता थर्क सेन, आइसिसी सदस्य सुरोज मास्के, एनआरएनए यूके उपाध्यक्ष सुनिलबाबु खड्का, सचिवद्वय जीत रानाभाट र रञ्जिता मल्ल, प्रवक्ता रामकुमार गुरुङ, सदस्य प्रकाश कँडेल लगायत कार्यसमितिका पदाधिकारी सहभागी थिए । 

तस्विर- एसके गुरुङ

प्रतिक्रिया

सम्बन्धित सामाग्री