एनआरएनए यूके महिला फोरमले महिला सशक्तिकरणबारे अन्तर्राष्ट्रिय सेमिनार गर्ने

लन्डन । एनआरएनए यूके महिला फोरमले आगामी ८ मार्चमा महिला सशक्तिकरणबारे एक अन्तर्राष्ट्रिय सेमिनार गर्ने भएको छ । नेपाल तथा बेलायतका विज्ञहरुको सहभागितामा ‘समूहगत छलफल’ सहित हुने उक्त सेमिनार लन्डन इस्टकोटस्थित ‘भेन्यू फाइभ रेष्टुरेन्ट’ हलमा तय भएको महिला विभाग प्रमुख एवं एनआरएनए यूके महिला संयोजक प्रसुना कंडेलले जनाइन् ।

अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल र बेलायतमा रहेका नेपाली महिलाका समस्यामा केन्द्रित भएर गरिने सेमिनारको तयारी शुरु भइसकेको कंडेलले जनाइन् । ‘बेलायतबाहेक नेपालबाट समेत केही विज्ञ ल्याईंदैछ’- संयोजक कंडेलले भनिन्, ‘कार्यक्रममा आर्थिक प्रायोजन र उत्साहजनक सहभागिताका लागि म सबैमा अनुरोध गर्दछु ।’

कंडेलले नै कार्यक्रमको सम्पूर्ण संयोजन गरिरहेकी छन् । सेमिनारलाई एनआरएनए यूकेले पनि पूर्ण सहयोग गर्ने भएको छ । ‘कार्यक्रमको निष्कर्षले महिला समस्या पहिचान र उनीहरुलाई सवल, सशक्त एवं आत्मनिर्भर बनाउन केही हदसम्म सहयोग गर्ने हाम्रो अपेक्षा छ’, उनले भनिन् ।

यही सेमिनार सफल बनाउन फोरमको दुईवटा बैठक सम्पन्न भइसकेको छ । गत ११ जनवरीमा भएको पहिलो बैठक संयोजक कंडेलको अध्यक्षतामा बसेको थियो । बैठकमा फोरमका सदस्यहरु दुर्गा गुरुङ, डा. सारा रावल, प्रियंका आचार्य, सल्लाहकार डा. पुनम यादव, एनआरएनए यूके उपाध्यक्ष रोजिनाप्रधान राई, महासचिव फडिन्द्र भट्टराई, मिडियाकर्मी लगायत सहभागी थिए ।

सो अवसरमा विभागमा नियुक्त सदस्य तथा सल्लाहकारहरुको औपचारिक स्वागत गरिएको थियो । सहभागी अतिथीहरुले विभागको सफलताको कामना गर्दै कंडेल नेतृत्वको विभागले एनआरएनए यूकेमा नयां उचाईं लिने आशा व्यक्त गरेका थिए । विभाग सदस्यहरु र सल्लाहकारले पनि यसलाई कुन ‘मोडल’ मा लैजांदा प्रभावकारी काम गर्न सकिन्छ भन्नेबारे आ-आफ्नो धारणा राखेका थिए ।

बैठकमा अन्तर्राष्ट्रिय सेमिनार सफल बनाउनेबारे पनि गहन छलफल भएको थियो । बैठकको अध्यक्षता गर्दै संयोजक प्रसुना कंडेलले विभागका भावी कार्यक्रम र योजना सम्बन्धमा अवगत गराएकी थिइन् । उनले विभागमा आवद्ध महिलाहरुको सशक्त टिमले पृथक काम गरेर विभाग उदाहरणीय बन्ने अपेक्षा समेत व्यक्त गरिन् । बैठकमा प्रियंका आचार्यलाई विभागको सदस्य सचिवको जिम्मेवारी दिइएको अवगत गराइयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री