लण्डन । गैर आवासीय नेपाली संघ युएसएका प्रमुख संरक्षक डा. केशव पौडेलले एनआरएनए सुधारका लागि विशेष अपिल गरेका छन् ।
डा. पौडेल संघको नवौं महाधिवेशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएर सानो मतान्तरले पराजित भएका थिए ।
नवौं विश्व सम्मेलनमा भएका कतिपय ‘उच्श्रृखंल’ गतिविधि सांच्चिकै दु:खदायी भएको जनाउदै उनले नेतृत्व पंक्तिको कमजोरी र व्यवस्थापकीय त्रुटिका कारण घटेका केही घटनाले गैर आवासीय नेपालीलाई हेर्ने नजरमा नै असर परेको टिप्पणी गरेका छन् ।
संस्थालाई विधिसम्मत ढंगवाट लैजान निर्वाचन प्रणाली, सदस्यता वितरण र प्रतिनिधि चयन प्रक्रियामा आमूल परिवर्तन लगायत कतिपय विषयहरु प्रक्रियागत ढंगवाट सम्बोधन गर्नुपर्नेमा जोड दिंदै पौडेलले यसका निम्ति जतिसक्दो चाँडो एक महिनाभित्र विधान संशोधन प्रयोजनका लागि विशेष अधिवेशन आह्वान गरी ६ महिनाभित्र विशेष अधिवेशन डाकेर संस्थालाई गतिशील र संस्थागत बनाउन वर्तमान समितिको ध्यानाकर्षण पनि गराएका छन् ।
डा. पौडेलको वक्तव्यको पूर्ण पाठ:
आदरणीय गैर आवासीय नेपाली आमा, बुबा, दाजुभाइ तथा दिदीबहिनीहरु सम्पूर्णमा नमस्कार
सर्वप्रथम नयां वर्ष २०२० को अवसरमा तपाई सम्पूर्णलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्न चाहन्छु । सँगसँगै नेपाल भ्रमण वर्ष २०२० को सफलताको समेत कामना गर्दछु ।
तपाई हामी सबैलाई थाहा नै छ, गत अक्टुबर महिनाको १५ देखि १७ सम्म नेपालमा गैर आवासीय नेपाली संघको नवौं विश्व सम्मेलन सम्पन्न भएको थियो । काठमाण्डौंमा भएको सो सम्मेलनका क्रममा भएका कतिपय गतिविधिले तपाईं हामी गैर आवासीय नेपालीलाई हिनताबोध गरायो । नेतृत्व पंक्तिको कमजोरी र व्यवस्थापकीय त्रुटिका कारण घटेका केही घटनाले गैर आवासीय नेपालीलाई हेर्ने नजरमा नै असर पर्न गयो । नवौं विश्व सम्मेलनमा भएका कतिपय उच्श्रृखंल गतिविधि सांच्चिकै दु:खदायी थियो ।
सम्मेलनमा आफ्नो जीत सुनिश्चित गराउनका लागि भए गरेका गलत कार्यहरूको फेहरिस्त नै छन् । नेतृत्व हात पार्नका लागि प्रतिनिधि छान्ने प्रक्रियादेखि प्रतिनिधि पास उपलब्ध गराउने कार्यमा के कस्ता गलत कार्यहरु भएका थिए भन्ने कुरा सम्मेलनमा सहभागी जो कसैलाई पनि थाहा भएकै कुरा हो । प्रतिनिधिको संख्यामा कसरी गोलमटोल गरिएको थियो त्यो पनि थाहा भएकै हो । विभिन्न नाममा के कसरी पासहरु वितरण भएका थिए, निर्वाचन प्रक्रियाको अपारदर्शिता र निर्वाचन कसरी गरिएको थियो, त्यो जगजाहेर नै छ । र नतिजा कस्तो निकालिदैंछ भन्ने कुरा पनि लुकेको थिएन । यी सबैका बीच पनि संस्थालाई सर्वोपरी ठानी संस्थाको हितका निम्ति एकताबद्ध एनआरएनए बनाउनको लागि जानाजान प्रक्रियामा सहभागी भएका थियौं । र म पनि उपाध्यक्षको उम्मेद्वार भएको थिएं । प्रक्रियामा सहभागी भएपछि त्यसको नतिजालाई स्वीकार गरी प्रजातान्त्रिक पद्दतिको सम्मान गरिएको हो । संस्थाको निम्ति राम्रो काम गर्न जो आउँदा पनि हुन्छ भन्ने कुरामा विश्वास राख्दै निर्वाचन समितिले चुनेको समितिलाई मैले बधाई तथा शुभकामना दिनुका साथै सहयोग गर्ने वचन समेत दिएको थिए । र, फेरि पनि यो समितिलाई राम्रो कार्य गर्न सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
तर, विडम्वना, सुरुवातका यी दिनहरु हेर्दा अहिलेको नेतृत्व महत्वपूर्ण विषयहरुप्रति गम्भीर नभएको देखिन्छ । हामी सबैलाई थाहा छ नवौं विश्व सम्मेलनमा कोषाध्यक्षको प्रतिवेदन र महासचिवको प्रतिवेदन पारित भएन । यो दुवै महत्वपूर्ण विषयलाई अर्थहीन जस्तो गराइ चुनाव गराइयो र त्यसवाट चुनिएको अहिलेको समितिले के आधारमा संस्थाको कोष संचालन गरिरहेको छ ? त्यो महत्वपूर्ण प्रश्न बनेर आएको छ । अर्कोतर्फ संस्थाको वार्षिक प्रतिवेदन समेत पास नभएको अवस्थामा अहिलेको समितिले कार्यक्रमहरु कसरी लगिरहेको छ ? यो पनि एउटा महत्वपूर्ण विषयको रुपमा रहेको छ । यो विषयमा यो समितिलाई गम्भीर बन्न म आग्रह गर्न चाहन्छु । र सँगसँगै अहिलेको निर्वाचन प्रक्रियाबाट स्वच्छ निर्वाचनको कल्पना गर्न सकिदैन । निर्वाचन प्रक्रियालाई वैज्ञानिक र समय सापेक्ष रुपमा सुधार गरी आमूल परिवर्तन गर्नु पर्ने खाँचो रहेको छ । प्रतिनिधि छान्ने प्रक्रियापनि अवैज्ञानिक खालको छ, यसमा सुधार हुन आवश्यक छ । एउटा व्यक्तिले ठानेको विचारका आधारमा संस्थालाई हिडाउन खोजिएको छ । आफू अनुकूल हुने गरी विधानलाई प्रयोग गर्ने कार्य बढ्दै गइरहेको छ । यसले एनआरएनए संस्थागत हुन सकिरहेको छैन् ।
निर्वाचन प्रक्रियालाई पारदर्शी बनाउनका लागि सम्मेलनमा पुगेर पास पाउने र त्यो पनि कसैको निगाहमा भर पर्नुपर्ने परिपाटीको अन्त्य हुनुपर्दछ । प्रतिनिधिको छनौटको काम सम्मेलन हुनुभन्दा कम्तिमा १ महिना अघि हुनुपर्दछ । हामी गैर आवासीय नेपालीले सिकेको सीप, अनुभव र काम गर्दा अपनाइने प्रक्रियागत कार्यलाई नेपालमा स्थानान्तरण गर्ने कुरा गरिरहँदा हाम्रो आफ्नै संस्था संस्थागत दिशामा अघि बढ्न नसक्नु अत्यन्तै खेदजनक छ । सस्तो लोकप्रियताका लागि बोल्ने, तर गर्न नसक्ने कार्य बढ्दै गएको छ । यसले गैर आवासीय नेपालीप्रति वितृष्णा पैदा भइरहेको छ भने एनआरएनए संस्थाप्रतिको विश्वास र भरोसामा आघात पुगिरहेको छ । आवश्यकता एउटा र काम अर्कै भइरहेको छ । एकप्रकारले भन्दा मनोमानी बढेको छ । यो संस्था विश्वभर रहेका गैर आवासीय नेपालीको पसिनाले सिञ्चित संस्था हो । यसको हेक्का हामी सबैले राख्नैपर्दछ । नयाँ नेतृत्वले नेतृत्वमा आए पश्चात अब सदस्यता शुल्क नलिने जुन घोषणा गरेको थियो, त्यो एकदमै प्रशंसनीय कार्य हो । यदि त्यो योजनावद्ध रुपमा व्यावहारिक पक्षलाई समेत अध्ययन गरी सस्तो लोकप्रियता भन्दा माथि उठेर ल्याइएको हो भने त्यसको सुरुवात तत्काल गर्न पनि म विशेष आग्रह गर्न चाहन्छु ।
अन्त्यमा, अहिले संस्थाभित्र धेरै विषयहरुमा छलफलको आवश्यकता छ । संस्थालाई विधिसंमत ढंगवाट लैजानका लागि निर्वाचन प्रणाली, सदस्यता वितरण र प्रतिनिधि चयन प्रक्रियामा आमूल परिवर्तन लगायतका कतिपय विषयहरु प्रक्रियागत ढंगवाट सम्बोधन गर्नुपर्नेछ । यसका निम्ति जतिसक्दो चाँडो एक महिनाभित्र विधान संशोधन प्रयोजनका लागि विशेष अधिवेशन आह्वान गरी ६ महिनाभित्र विशेष अधिवेशन डाकेर संस्थालाई गतिशील र संस्थागत बनाउन म अहिलेको समितिको ध्यानाकर्षण गर्न चाहन्छु । संस्थालाई सबल, सक्षम, एकताबद्ध र संस्थागत बनाउने दिशामा हामी सबै एक हौं, यही अनुरोध पनि गर्न चाहन्छु ।
धन्यवाद
जय एनआरएनए । जय नेपाल
डा. केशव पौडेल
१५ जनवरी, २०२०
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक