बिहीबार, माघ ९ २०७६ | Thu, January 23, 2020
नेपालको समय: ०७:३८ | UK Time: 01:53

एनआरएनए यूकेको प्रेस तथा मिडिया विभाग बिस्तार

विनेपाली
२०७६ माघ १ गते १८:१७

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको प्रेस तथा मिडिया विभाग बिस्तार भएको छ । 

विभागका प्रमुख एवम् एनआरएनए यूकेका प्रवक्ता रामकुमार गुरुङले विभागमा संयोजक, सदस्यहरु र  सल्लाहकारहरु नियुक्त गरेका छन् । 

विभाग प्रमुख गुरुङका अनुसार विभागको संयोजकको जिम्मेवारी पत्रकार ध्रुवराज अर्याललाई दिइएको छ । विभागको सदस्यमा पत्रकारहरु बाचस्पति रेग्मी, नरेन्द्र बस्नेत, पूर्ण गुरुङ, जगन कार्की र खेमराज रानाभाटलाई चयन गरिएको छ । त्यस्तै, सल्लाहकारमा वरिष्ठ पत्रकारहरु भगिरथ योगी, नवीन पोखरेल र प्रमिला लाबुङ राई मनोनित भएका छन् । 

विभागमा संयोजकको जिम्मेवारी पाउने अर्याल नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपाध्यक्ष हुन् । नेपालीपत्रका सम्पादक उनी अन्नपूर्ण राष्ट्रिय दैनिकको बेलायत संवाददाताका रुपमा समेत कार्यरत छन् । उनी यसअघिको एनआरएनए यूके मिडिया तथा प्रेस विभागमा पनि सदस्यसचिव थिए । 

विभागमा सदस्य मनोनितहरुमध्ये बाचस्पति रेग्मी पत्रकार महासंघ बेलायतका पार्षद हुन् । उनी शितलपाटीन्यूजका सम्पादक पनि हुन् । त्यस्तै, नरेन्द्र बस्नेत पत्रकार महासंघ बेलायतका उपमहासचिव तथा रातोपाटी अनलाइनका बेलायत संवाददाता हुन् । पूर्ण गुरुङ र जगन कार्की दुवै पत्रकार महासंघ बेलायतका सचिव हुन् । गुरुङ एभरेष्ट टाइम्स यूके र नागरिकखबर अनलाइनसंग आबद्ध छन् भने कार्की साउथ एशिया टाइम अंग्रेजी अनलाइनका सम्पादक हुन् । 

त्यसैगरी, विभागको सदस्य मनोनित भएका खेमराज रानाभाट पत्रकार महासंघ बेलायतका कार्यसमिति सदस्य, प्रेस युनियन बेलायतको उपाध्यक्ष तथा नेपाली वेभ अनलाइनका सम्पादक हुन् ।  

विभागको सल्लाहकारमा मनोनित हुने भगिरथ योगी लामो समय बिबिसीमा आबद्ध रहेका वरिष्ठ पत्रकार हुन् । उनी पत्रकार महासंघ बेलायतमा सल्लाहकार छन् । त्यस्तै, अर्का सल्लाहकार नवीन पोखरेल कान्तिपुर दैनिक र कान्तिपुर टिभीका बेलायत संवाददाता हुन् । झण्डै डेढ दशकदेखि बेलायतमा सक्रिय उनी पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष पनि हुन् । 

सल्लाहकारमा मनोनित प्रमिला लावुङ राई फोनिज यूकेकी अध्यक्ष हुन् । बिजिडब्लुएस रेडियोमा कार्यरत उनी पत्रकार महासंघ बेलायतमा पनि पार्षद छन् । 

विभागका प्रमुख एवम् एनआरएनए यूके प्रवक्ता रामकुमार गुरुङले बेलायतमा क्रियाशिल नेपाली पत्रकारहरुको प्रतिनिधिमुलक सहभागितामा विभाग बिस्तार गरिएको बताए । 

विभागको सिंगो टिम र सल्लाहकार समेतको सहभागितामा छिट्टै एक बैठक गरी भावी कार्ययोजना तय गरिने उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक