बेलायती महारानी ह्यारी मेगनको नयां जीवनप्रति सकारात्मक

लण्डन । ह्यारी दम्पत्तिले शाही भूमिका परित्याग गर्नेबारे छलफल भएको छ । महारानी एलिजावेथ द्वितीयाले आफ्ना परिवारका वरिष्ठ सदस्यहरुसंग सोमबार स्यान्ड्रिङ्गम दरबारमा छलफल गरेकी हुन् ।

बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगनले गत साता राजपरिवारको वरिष्ठ सदस्यका रुपमा आफूहरु जिम्मेवारीबाट अलग्गिने र आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेपछि अहिले राजपरिवारभित्र यो बिषय संवेदनशील बनेको छ ।

छलफलमा महारानी एलिजाबेथ द्वितीयाले राजकुमार ह्यारी र उनकी श्रीमती मेगन मर्केलले संक्रमणको अवधिभर युके तथा क्यानाडाबीच समय बिताउन सहमति जनाएकी छिन् ।

ब्रिटिश महारानीद्वारा सोमबार जारी वक्तव्यमा त्यस्तो उल्लेख गरिएको छ तर संक्रमणको अवधि कहिलेसम्म हुने भन्ने चाहिं खुलाइएको छैन् ।

ब्रिटिश महारानीले नयाँ भूमिका निर्वाह गर्ने राजकुमार ह्यारी तथा उनकी श्रीमतीको चाहनाप्रति आफ्नो पूर्ण सहयोग रहने पनि बताएकी छन् । तर उनीहरु दुवैजना पूर्णकालिन रुपमा शाही परिवारको सदस्यको रुपमा रहेको भए राम्रो हुने आफ्नो धारणा रहेको उनले बताएको बीबीसीले जनाएको छ ।

ब्रिटिश महारानीले स्यान्ड्रिङ्गम दरबारमा आफ्ना परिवारका वरिस्ठ सदस्यहरुसंग भएको कुराकानी निकै रचनात्मक भएको पनि बताइन्।

‘स्यान्ड्रिङ्गम समिट’ नाम दिइएको उक्त छलफलमा राजकुमार ह्यारी, राजकुमार विलियम, राजकुमार चार्ल्स सहभागी भएपनि ह्यारी पत्नी मेगन भने थिइनन् । गत हप्ता जिम्मेवारीबाट अलग्गिने घोषणा गरेपछि मेगन अहिले क्यानाडामा छिन् ।

बकिंङघम राजदरबारसंग सरसल्लाह नगरिकनै उक्त घोषणा भएपछि राजपरिवारका वरिष्ठ सदस्यहरु समेत दुःखी भएका समाचार प्रकाशित भएका थिए । तर, ति दम्पतिले कयौं महिनाको आन्तरिक छलफलपछि शाही भूमिका परित्यागको निर्णयमा पुगिएको बताएका थिए । आफ्नो छोराको पठनपाठन तथा नयां कल्याणकारी काम शुरु गर्न पछिल्लो निर्णय गरिएको उनीहरुको स्पस्तोक्ति छ । उनीहरुको पहिलो सन्तान आर्ची ह्यारिसन अहिले ९ महिनाका छन् ।

ह्यारी दम्पत्ति पछिल्लो पटक केही मिडियाका कारण तनावमा देखिन्थे । गत अक्टोबरमा ह्यारीले गैर कानूनी रुपमा आफ्नो ‘भ्वाइस मेसेज’ सुनेको आरोप लगाउंदै बेलायती समाचारपत्र सन तथा डेली मिररविरुद्ध कानूनी कारवाही शुरु गरेका थिए भने मेगनले पनि मेल अखबारविरुद्ध आफ्ना पितालाई लेखेको गोप्य पत्र प्रकाशित गरेको आरोप लगाउंदै मुद्दा दायर गरेकी थिइन् ।

केही बेलायती मिडियामा हयारी र दाजु विलियमबीच सम्बन्ध बिग्रिएको समाचार आएपनि दाजु भाईले सोमबार एक संयुक्त वक्तव्य नै जारी गरी उक्त समाचारको खन्डन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री