बेलायती राजकुमार ह्यारी-मेगन जिम्मेवारीबाट अलग !

Harry Megan

लन्डन । अमेरिका इरान टकरावले विश्व ध्यान 
खिचिरहेका बेला बुधबार बेलायती राजदरबारबाट एउटा अप्रत्यासित खबर सार्वजनिक भयो । बेलायती राजकुमार ह्यारी र उनकी श्रीमती मेगनले राजपरिवारको वरिष्ठ सदस्यका रुपमा आफूहरुको जिम्मेवारी कम गर्ने र आर्थिक हिसाबले स्वतन्त्र बन्न काम गर्ने घोषणा गरेपछि सर्वत्र चासो व्यक्त भएको छ ।

बेलायतबाट प्रकाशित हुने सबैजसो अखबारले बिहीबार यस समाचारलाई प्रमुखताका साथ छापे ।

ड्युक तथा डचेस अफ ससेक्सको उपाधि समेत पाएका दम्पतिले एक वक्तव्यमा आफ्नो समय बेलायत र उत्तरी अमेरिकाबीच बांड्ने जनाएका छन् ।

उनीहरुको वक्तव्य बकिंङघम राजदरबारसंग सरसल्लाह नगरिकनै जारी गरिएकाले राजपरिवारका वरिष्ठ सदस्यहरु उक्त घोषणाबाट दुःखी भएको बीबीसीले जनाएको छ । यद्यपि, ति दम्पतिले कयौं महिनाको आन्तरिक छलफलपछि यस निर्णयमा पुगिएको बताएका छन् । राजकुमार ह्यारी राजगद्दी उत्तराधिकारीको छैठौं वरियतामा छन् ।

आफ्नो छोराको पठनपाठन तथा नयां कल्याणकारी काम शुरु गर्न पछिल्लो निर्णयले सहयोग पुग्ने आशा उनीहरुको छ । गत मेमा जन्मिएका उनीहरुको पहिलो सन्तान आर्ची ह्यारिसन अहिले ८ महिनाका भए ।

गत अक्टोबर महिनामा राजकुमार ह्यारी तथा उनकी श्रीमती मेगनले लगातार सञ्चारमाध्यमहरुको ध्यान आफूहरुमाथि केन्द्रित भइरहंदा जीवनमाथि परेको दबाब र तनावबारे चर्चा गरेका थिए । त्यस लगत्तै हयारीले केही मिडियाले गैर कानूनी रुपमा आफ्नो ’भ्वाइस मेसेज’ सुनेको आरोप लगाउंदै बेलायतबाट प्रकाशित हुने सन तथा डेली मिरर समाचारपत्रविरुद्ध कानूनी कारवाही शुरु गरेका थिए । १० प्याराग्राफ लामो वक्तब्य लेख्दै ह्यारीले ट्याबलोइड पत्रिकाहरुले आफ्नी आमा स्वर्गीय डायनाले भोगेको जस्तो पीडा दोहोरयाउन खोजेको आरोप लगाएका थिए ।

उनकी श्रीमती मेगनले पनि मेल अखबारविरुद्ध आफ्ना पितालाई लेखेको गोप्य पत्र प्रकाशित गरेको आरोप लगाउंदै मुद्दा दायर गरेकी थिइन् ।

ह्यारी मेगन बिवाह लगत्तै उनीहरूलाई १९ मे २०१८ मा ड्यूक एन्ड डचेस अफ ससेक्स उपाधि प्रदान गरिएको थियो ।

क्रिसमसका बेला ह्यारी मेगनले शाही जिम्मेवारीबाट ६ साता बिदा लिएर छोरासंगै क्यानडा गएका थिए । क्यानडाबाट फर्किए लगत्तै गत मंगलबार लन्डनस्थित क्यानडेली हाइ कमिसन गएर हयारी (३५) र मेगन (३८) ले क्यानडामा आफूहरुको न्यानो आतिथ्यका लागि आभार व्यक्त गरेका थिए ।

३१ वर्ष ब्रिटिश आर्मीमा सेवा गरेका ब्रिटिश गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष रिटायर्ड मेजर टिकेन्द्रदल देवान ह्यारी मेगनको यो निर्णयबाट आश्चर्यचकित भने भएनन् । ‘पछिल्लोपटक घरभित्रको मनमुतावका खबरहरु आइरहंदा मलाई ढिलो चांडो यस्तो हुन्छ भन्ने लागेको थियो’, देवानले भने, 
‘मेगन सेलिब्रेटी र ह्यारी अलिक चुलबुले स्वभावका भएकाले उनीहरु स्वतन्त्र बस्न खोज्नु स्वभाविक हो । यद्यपि, टाइटिल नत्यागेकाले राजदरबारसंग लिंक त रहिरहन्छ जस्तो लाग्छ ।’

बेलायतमा नेपालीको पहिलो उर्जा कम्पनी जिइनर्जीका निर्देशक समेत रहेका देवान रानीसंग सल्लाह नगरि यस्तो निर्णय गर्न चाहिं नहुने थियो भन्ठान्छन् ।

बेलायती राजपरिवारको लोकप्रियता विश्वमै उच्च छ । बेलायती महारानी एलिजावेथ बस्ने लन्डनस्थित बकिङहम प्यालेस हेर्न वर्षेनी करिब डेढ करोड पर्यटक दरबार पुग्ने गरेका छन् ।

भिजिट ब्रिटेनका अनुसार, बेलायती पर्यटनको प्रमुख आधार शाही आवास गृह बकिङहम प्यालेस र वीन्डसोर क्यासल हुन् । कन्सल्टेन्सी ब्राण्ड फाइनान्सको तथ्यांकमा सन् २०१७ मा बेलायती राजतन्त्रले अर्थतन्त्रमा एक दशमलव ८ बिलियन पाउण्ड योगदान गरेको थियो । यसमध्ये ५ सय ५० मिलियन पाउण्ड शाही पर्यटनबाट भएको थियो ।

प्रिन्स हयारीको साइनो नेपाल र गोर्खा सैनिकहरुसंग निकट छ । महाभूकम्प लगत्तै नेपाल भ्रमण गरेका राजकुमार हयारीले उत्तरी गोर्खाको लापु गाउं विकास समितिस्थित प्रभातकिरण निमाविको पुनर्निर्माणमा सघाएका थिए ।

उनले अन्नपूर्ण हिमश्रृंखला तथा बर्दिया राष्ट्रिय निकुन्जको प्राकृतिक सौन्दर्यको दृश्य कहिल्यै नभुल्ने बताएका थिए ।

कुनै बेला अफगानिस्तान युद्धमा संगै रहेका हयारीले गोर्खा सैनिकहरुसंगको सम्बन्धबाट खुशी र गर्व महशुस गर्ने गरेको उनी बताउंछन् । राजकुमार हयारीले गोर्खालीहरुको साहस, निस्वार्थ त्याग र व्यावसायिकताको प्रशंसा गर्दै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री