तमु धिं युकेले मनायो ल्होछार

तस्बिर मिलन तमु

लण्डन । तमुधिं युकेले गुरुङ (तमु) हरुको मौलिक सांस्कृतिक पर्व ल्होछार विविध कार्यक्रमका साथ मनाएको छ । गत २८ डिसेम्बर २०१९ शनिबार रेडिङ्गस्थित रिभरमेड लिजर सेन्टरमा ल्होछार मनाइएको हो । तमुधिं युकेले स्थापना कालदेखि नै विविध सांस्कृतिक कार्यक्रमका साथ ल्होछार मनाउदै आएको छ ।

बेलायतवासी तमुलगायत नेपालीहरुको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रम बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङ र संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङले संयुक्त रुपमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका थिए ।

गुरुङ, नेपाली र अंग्रेजी गरी ३ वटा राष्ट्रिय गानबाट शुभारम्भ भएको कार्यक्रममा नेपाली राजदूत डा. सुवेदीले प्रमुख अतिथिको आसनबाट ल्होछार गुरुङहरुको मात्र नभई नेपाल र नेपालीहरुको राष्ट्रिय पर्व भएको बताउंदै ल्होछारको शुभकामना दिए । उनले नेपाल र नेपालीलाई आपतविपत पर्दा नेपाली समुदाय बेलायत जहिले पनि ब्यूंझिरहन्छ भन्दै सोमध्ये तमुधिं युके व्यवस्थित र अग्रपंक्तिमा रहेको बताए । साथै, उनले तमु धिं युकेले आयोजना गर्दै आएको नेपाली मेला, गोर्खा कप, ल्होछार र नेपाली राजदूतको स्वागत तथा बिदाई गर्ने परम्पराको खुलेर प्रसंशा गरे ।

नेपाली भाषा, कला संस्कृति संरक्षण तथा सम्वर्धनमा तमुधिं युके लगायत संघसंस्थाले विशेष ध्यान दिनुपर्नेमा समेत सुवेदीले जोड दिए । उनले भिजिट नेपाल २०२० को प्रसंग जोड्दै बेलायतबाट १ लाख भन्दा बढी पर्यटक नेपाल पठाउने महत्वाकांक्षी योजना रहेको बताए । उनले हरेक नेपालीले आफ्ना एकजना ब्रिटिश साथीलाई नेपाल घुमाउन र आफू समेत नेपाल जान आग्रह गरे । साथै, उनले सहारा युकेको संयोजकत्वमा आउंदो २५ मे २०२० का दिन नेपालको राष्ट्रिय फुटबल टिम र इंग्ल्याण्डको फुटबल टिमबीच हुन लागेको मैत्रीपूर्ण खेलमा १० हजार नेपाली जुटाउन आव्हान गरे ।

कार्यक्रममा तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङले च्यु ल्होछारको शुभकामना प्रकट गर्दै प्रमुख अतिथि महामहिम डा. सुवेदी, विभिन्न संघसंस्थाबाट आएका अतिथि लगायत उपस्थित महानुभावहरुलाई धन्यवाद दिए । त्यस्तै, उनले कार्यक्रम सफल बनाउन विशेष भूमिका खेलेका कार्यक्रम संयोजक एवं तमुधिं युकेका वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङ लगायत उनको टिम, कार्यसमिति, आमा समूह, युवा, विभिन्न ईकाई, रेडिङ तमु समाज, नेपालबाट आएका कलाकार तथा स्थानीय कलाकार र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई विशेष धन्यवाद दिएका थिए ।

कार्यक्रम संयोजक एवं तमुधिं युकेका वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङले च्यु ल्होछारले सबैलाई राम्रो गरोस् भन्ने शुभकामना दिंदै प्रमुख अतिथि, आमान्त्रित पाहुना लगायत सबैलाई स्वागत गरेका थिए ।

कार्यक्रममा तमुधिं यूकेको वार्षिक मुखपत्रको रुपमा गत १७ वर्ष देखि प्रत्येक वर्ष ल्होछारकै दिन प्रकाशन गरिंदै आएको ‘फ्रेंसी’ को १७ औं अंक प्रमुख अतिथि राजदूत डा. सुवेदी, तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङ, संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक हितकाजी गुरुङ, उपाध्यक्ष हरि गुरुङ, उपाध्यक्ष जुमकाजी गुरुङ, सल्लाहकार एकेन्द्र गुरुङ, कोषाध्यक्ष कुमार गुरुङ, फ्रेंसी प्रधान सम्पादक रोहित गुरुङ लगायतले संयुक्त रुपमा लोकार्पण गरे । सो अवसरमा फ्रेंसीका प्रधान सम्पादक रोहित गुरुङले फ्रेंसीमा समावेश भएका तमुधिं युकेका विभिन्न गतिविधि, लेख, रचना, शुभकामना सम्बन्धमा चर्चा गरेका थिए ।

युवापुस्तासंगै जेष्ठ नागरिकहरुको समेत उपस्थिति रहेको कार्यक्रममा तमु विद्यार्थीहरुमध्ये हालै जिसीएसई परीक्षामा उत्कृष्ट अंक ल्याउन सफल जेसिका गुरुङलाई डा. हर्क गुरुङ अवार्डबाट सम्मान गरिएको थियो । माझकटेरी, स्याङ्जा पुख्र्यौली घर भई हाल रेडिङ्ग बस्दै आएका राजेन्द्र गुरुङ तथा गंगा गुरुङकी सुपुत्री जेसिका गुरुङलाई ५०० पाउण्डको चेक, शिल्ड र प्रमाणपत्रसहित खादा लगाई सम्मान गरिएको थियो ।

त्यस्तै, विभिन्न बिषय र क्षेत्रमा उच्च शिक्षा हांसिल गरेका तमु विद्यार्थीहरुलाई समेत सम्मान गरिएको थियो । सो अवार्ड तमु धिं युकेका सल्लाहकार एकेन्द्र गुरुङ संयोजक, उपाध्यक्ष हरि गुरुङ र सल्लाहकार बोहत गुरुङ सदस्य रहेको कमिटीले मूल्यांकन तथा व्यवस्थापन गरेका थिए ।

युवाहरु समेत उल्लेखनीय रुपमा सहभागी उक्त ल्होछार सांझमा नेपालबाट आएका चर्चित गायक तिलक गुरुङ, गायक राजन गुरुङ, गायिका तारा श्रीष र गायिका विष्णु माया गुरुङले विभिन्न गुरुङ तथा नेपाली गीत प्रस्तुत गरेका थिए । त्यस्तै, रेडिङ तमु समाज, साउथ इष्ट रिजनल तमुधिं, तमु प्ये ल्हु संघ युके, घान्द्रुक समाज युके, तमुधिं लण्डन ईकाई, सिक्लेस पार्चे समाज युकेका कलाकारहरुले समेत विभिन्न गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

निर्धारित समयमा शुरु भएको कार्यक्रममा आसन र भाषण भने एकदमै न्यून थियो । करिब १ घण्टा १५ मिनेटको औपचारिक कार्यक्रम पश्चात प्रस्तुत गरिएको सांगीतिक कार्यक्रममा नेपालबाट आएका गायक तथा गायिकाहरुको बेजोड प्रस्तुति रह्यो । उनीहरुको गायनमा प्रमुख अतिथि, विशेष अतिथि लगायत दर्शकहरुले भरपूर मनोरञ्जन लिए ।

सो अवसरमा गीत तथा नृत्य प्रस्तुत गरेका कलाकारलाई तमुधिं युकेका वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङले मायाको चिनो र प्रमाणपत्र प्रदान गरे ।

बेलायतस्थित तमुहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा तमुधिं युके आमा समूहले प्रवेशद्वारमा पाहुनाहरुको स्वागत, जलपान तथा टिकटको विशेष व्यवस्थापन गरेको थियो । त्यस्तै, सपन इन्टरटेनमेन्टका सपनकुमार राईले साउण्ड सिस्टम व्यवस्थापन, मिलन तमुले फोटोग्राफी र सविन्द्र कुमार गुरुङ तथा कृष्णदेव गुरुङले भिडियोग्राफीको जिम्मेवारी लिएका थिए ।

तमुधिं युकेका अध्यक्ष नन्दजङ्ग गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रम वरिष्ठ उपाध्यक्ष हित काजी गुरुङले संयोजन गरेका थिए । सचिव पर्शुराम गुरुङले हेल्थ एण्ड सेफ्टीबारे र महासचिव तुलाराम गुरुङले औपचारिक कार्यक्रम संञ्चालन गरेका थिए । त्यस्तै, तमुधिं युकेका सांस्कृतिक सचिव इन्द्र गुरुङको संयोजकत्वमा भएको सांस्कृतिक कार्यक्रम सूर्य गुरुङ, योगेश गुरुङ र निलम गुरुङले संयुक्त रुपमा सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री