बेलायतका युवाले बनाए भिसी कुलबीर थापाको जीवनीमा चलचित्र


लन्डन । बेलायतमा रहेका भूतपूर्व ब्रिटिश गोर्खा सन्तानहरुको विशेष पहलमा ‘गोर्खा: बिनिथ दि ब्रेभरी’ चलचित्र निर्माण अन्तिम 
चरणमा पुगेको छ । प्रथम विश्वयुद्दमा आफ्नो अदम्य साहस तथा बहादुरी देखाएवापत ब्रिटिश सरकारबाट पहिलो भिक्टोरिया क्रस (भिसी) पदकबाट सम्मानित भिसी कुलबीर थापाको जीवनीमा चलचित्र निर्माण गरिएको हो ।

चलचित्रबारे जानकारी गराउन चलचित्र युनिटले गत शुक्रबार २७ डिसेम्बर २०१९ अल्डरसटस्थित भेटघाट रेष्टुरेण्टमा एक पत्रकार सम्मेलन गरयो । पत्रकार सम्मेलनमा चलचित्रका लेखक तथा निर्देशक प्रदीप शाहीले बेलायतमा भूतपूर्व गोर्खाहरुको बसोबास बाक्लिंदै आएसंगै गोर्खाहरु को हुन् भन्नेबारे जानकारी गराएर गोर्खाजहरुले महायुद्दमा खेलेको भूमिका बाहिर ल्याउनुपर्ने महसुस भई पहिलो भिसी प्राप्त गरेका कुलबीर थापाको बारेमा ‘बायोग्राफी फिल्म’ बनाइएको जनाए ।

उनले सो चलचित्रको ८० प्रतिशत निर्माण कार्य पुरा भएको जानकारी दिंदै चलचित्रको छायांकन, बजेट, अनुभव लगायत विषयमा बोलेका थिए । उनले सो चलचित्रको केही भाग छायांकन गर्न बांकी रहेको र ‘क्यान्स फिल्म फेस्टिभल’ मा सहभागिताका लागि प्रयन्त गरिने समेत जनाए । आउंदो जुलाई २०२० मा फिल्म प्रर्दशन गरिने उनले जनाए । त्यस्तै, उनले उक्त चलचित्रबाट फाइदा भएको पुरै रकम गोर्खा वेलफेयर ट्रष्टलाई सहयोग गरिने समेत उद्घोष गरे ।

सो अवसरमा उक्त चलचित्रको टिजर र ‘फलाम नि पगालिन्छ’ बोलको टाइटल गीत समेत सार्वजनिक गरियो । विश्व शाहीले संगीत दिएको उक्त गीतमा रविन श्रेष्ठको स्वर र 
रचना छ ।

प्रथम विश्वयुद्दका क्रममा भिसी कुलबिर थापाले युद्ध मैदानमा खेलेको भूमिकालाई केन्द्रविन्दूमा राखेर २५ हजार पाउण्ड बजेटमा चलचित्र निर्माण गरिएको चलचित्र निर्देशक शाहीले जनाए । उक्त पत्रकार सम्मेलनमा चलचित्र युनिटकी प्रोजेक्ट मेनेजर मधु गुरुङले चलचित्र निर्माणका लागि करिब २१ हजार पाउण्ड संकलन भइसकेको र अब पांच हजार पाउण्ड बजेट अभाव भएको जानकारी दिइन् ।

सो अवसरमा जिनर्जीका सिइओ तथा ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (बिजीडब्लुएस) का अध्यक्ष मेजर टिकेन्द्रदल देवान जेपीले युवाहरुले गरेको कामको प्रशंसा गर्दै उक्त चलचित्र निर्माण सहयोगार्थ जिनर्जीका तर्फबाट दुई हजार पाउण्ड र बिजीडब्लुएसको तर्फबाट ५०० पाउण्ड प्रदान गरेका थिए ।

त्यस्तै, मगर संघ युकेका अध्यक्ष सुनिल राना, किरात याक्थुङ्ग चुम्लुङ्ग युकेका अध्यक्ष तिलबिक्रम सम्बाहाम्फे, ग्रेटर रसमोर नेपाली कम्युनिटी युकेकी उपाध्यक्ष माया डंगोल केसी, पञ्चासे हर्पनडांडा समाज युकेका महासचिव प्रकाश गुरुङ, किरात राई यायोक्खाकी निलम राई, थकाली वेलफेयर सोसाइटीका मेजर खिम गौचन, सिर्जनशिल नेपाली समाज युकेका अध्यक्ष भक्त बहादुर दर्जी, एभरेष्ट टाइम्सका मिलन तमु, हाल ब्रिटिश गोर्खा आर्मीमा कार्यरत मेजर दिल्ली राई, एनआरएनए युकेका पूर्व उपाध्यक्ष शेरबहादुर सुनार लगायत सहभागीले उक्त चलचित्र ऐतिहासिक भएको बताउंदै आर्थिक सहयोगका लागि आ-आफ्नोतर्फबाट पहल गरिने प्रतिवद्धता व्यक्त गरे । उनीहरुले सहयोग रकम समेत प्रदान गरेका थिए ।

सो अवसरमा चलचित्र युनिटकी ब्रान्ड एम्बासेडर प्रतिष्ठा राउतले उक्त ऐतिहासिक चलचित्र निर्माणमा सहयोग गर्न अनुरोध गरिन् ।

भूतपूर्व गोर्खालीको छोरा समेत रहेका निर्देशक शाही लगायत कलाकार, क्यामरामेन र चलचित्र युनिट पुरैले आफूहरुको बाउबाजेले बनाएको इतिहास जीवन्त राख्न उक्त चलचित्र निर्माण गरिएको बताए । साथै, उनीहरुले कुनै पनि पारिश्रमिक नलिएको समेत जानकारी दिए ।

बजेट कम भएपनि आफूहरुले चलचित्रलाई स्तरीय बनाउन अत्याधुनिक प्रविधिको प्रयोग गरिएको, उपयुक्त छायांकन स्थल, कलाकार, पोशाक रोजिएको बताउंदै निर्देशक शाहीले कलाकारको अभावमा आफूले समेत ३ वटा पात्रको अभिनय गरेको जनाए ।

सो अवसरमा भिसी थापाको भूमिका निभाएका समिर गुरुङ, गौमाया गुरुङ, क्यामरामेन निको प्रताप गुरुङलगायत चलचित्र युनिटले छायांकनको अनुभव समेत सुनाएका थिए ।

करिब ७२ मिनेटको उक्त चलचित्रमा समिर गुरुङले कुलबीर थापा र गौमाया गुरुङले माया अर्थात कुलबीर थापाकी धर्मपत्नीको भूमिकामा अभिनय गरेका छन् भने ओली बासी, सूर्य गुरुङ, राजन गुरुङ, अगोस्टीनो, रोविन, चार्ली, ज्याक, ली लगायतले प्रत्यक्ष लडेका सेनाहरुको भूमिकामा अभिनय गरेका छन् । त्यस्तै, सगरमाथा युथ युके र वानआरजीआरले समेत अभिनयमा साथ दिएका छन् ।

एसएचवाई फिल्मको ब्यानरमा निर्माण हुन लागेको सो चलचित्रको प्रदीप शाहीले लेखन तथा निर्देशन, जेशन विलियमले लेखन तथा स्क्रीन प्ले, हयारी हरोन र भिक्टर एक्ज्यूकेटिभ प्रोड्युसर, अमित गुरुङले सह-निर्देशन, अमृत गुरुङ र निक्को प्रताप गुरुङले फोटोग्राफी निर्देशन, प्रयास गुरुङ प्रोड्युसर, हर्के गुरुङ अपरेशन मेनेजर, मधु गुरुङ प्रोजेक्ट मेनेजर, इशुप अधिकारी प्रोजेक्ट कन्सल्टेन्ट, नेशा गुरुङ पीआर मेनेजर, अमृत गुरुङ एरियल फोटोग्राफी, अश्रृति पटेल आर्ट डाइरेक्सन, दिनेश थापा र सुमन सरु क्यामरा असिस्टेन्ट, एमीन सोसियल मिडिया मेनेजर, विप्लप गुरुङ तथा माया गुरुङ सोसियल मिडिया कोर्डिनेटर, मिस ईंग्ल्याण्ड सेकेण्ड रनरअफ प्रतिष्ठा राउत ब्राण्ड एम्बासेडर, संजीव श्रेष्ठ क्राउड फन्डिङ कोअर्डिनेसन, कुल थापा फन्डरेजिङ कोअर्डिनेसन, केने जेम्स वेभ डिप्लोभर र हयाब अ मोमेन्टले अफिसियल मिडिया पार्टनरको भूमिका निभाएका छन् ।

बेलायतस्थित विभिन्न संघसंस्थाका पदाधिकारीहरुको समेत विशेष उपस्थिति रहेको पत्रकार सम्मेलनमा चलचित्र निर्देशक प्रदीप शाहीले पत्रकारहरुको जिज्ञासा मेटाउने प्रयत्न गरेका थिए । प्रोजेक्ट मेनेजर मधु गुरुङले विभिन्न व्यक्ति, संघसंस्था, उद्यमी तथा व्यापारीको सहयोग, विभिन्न इभेन्ट आयोजना, च्यारिटी, देउसीभैलो, नेपाली मेला, ओपन कन्सर्ट, अनलाईन लगायतको सहयोगबाट २१ हजार संकलन भएकामा उक्त पत्रकार सम्मेलनमा ६ हजार १०० पाउण्ड थप संकलन भएको जनाउंदै सबै सहयोगदातालाई धन्यवाद दिइन् ।

उक्त पत्रकार सम्मेलन पीआर मेनेजर नेशा गुरुङले सञ्चालन गरेकी थिइन् ।

चलचित्रको टिजर-

प्रतिक्रिया

सम्बन्धित सामाग्री