‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रचारप्रसार गर्न विदेशका नेपालीलाई आग्रह


लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अंग्रेजी नयाँ वर्ष (न्यू इयर इभ) मा ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रचारप्रसार गर्न गैरआवासीय नेपाली समुदायलाई आग्रह गरेको छ ।

नयाँ वर्ष मनाउने क्रममा विश्वका विभिन्न शहरमा हुने नयाँ वर्ष विशेष समारोह (न्यू इयर इभ) मा भ्रमण वर्षको प्रचारप्रसार गर्न संघका अध्यक्ष कुमार पन्तले राष्ट्रिय समन्वय परिषद् (एनसीसी) लाई पत्राचार गरेका हुन् ।

‘नेपाल भ्रमण वर्ष २०२०’ सफल पार्न सिंगो गैरआवासीय नेपाली संघ परिचालित हुने संघका महासचिव डा. हेमराज शर्मा जनाए । ‘नेपाल भ्रमण वर्ष २०२०’ अभियानको संयोजन अध्यक्ष पन्तले गर्ने भएका छन् भने ‘नेपाल भ्रमण वर्ष २०२०’ समितिका संयोजक निवर्तमान अध्यक्ष भवन भट्ट तोकिएका छन् ।

संघले लण्डन, बर्लिन, न्यूयोर्क, टोकियो, सिड्नी, ब्रसेल्स, हङकङ, बेइजिङ, दुबई, मस्को लगायत शहरमा आयोजित ‘न्यू इयर इभ’ विशेष समारोहमा नेपाल भ्रमण वर्षको प्रचारप्रसार गर्ने तयारी गरेको छ ।

संघले नेपाल भ्रमण वर्षका सामाग्रीहरु (ब्यानर, ह्याट, टिसर्ट आदि) नेपाली दूतावासहरुसंग समन्वयन गरी तयार समेत आग्रह गरेको छ ।

यसअघि नेपाल सरकार र गैरआवासीय नेपाली संघबीच ‘नेपाल भ्रमण वर्ष २०२०’ का लागि सहकार्य गर्न सहमति भएको थियो ।

सन् २०२० लाई सरकारले भ्रमण वर्ष घोषणा गर्दै २० लाख पर्यटक भित्रयाउने लक्ष्य राखेको छ । सरकारले सन् २०२० मा नेपाल आउने पर्यटकलाई ‘भिजा फ्री’ गर्ने, नेपाल आएपछि कुन गन्तव्यमा जाँदा के सुविधासेवा पाइने त्यसको स्पष्ट व्यवस्था गर्ने, हिमाल आरोहणमा आकर्षित गर्न रोयल्टीमा छुट दिने लगायत सहुलियत घोषणा गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री