बेलायतमा आइएनइए अवार्ड वितरण गरिने

लण्डन । बेलायतबाट सञ्चालित मिडिया ‘ह्याब अ मोमेन्ट’ ले आउँदो महिना अवार्ड वितरण तथा सम्मान कार्यक्रम गर्ने भएको छ । 

नेपाली समुदायमा विशिष्ट योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सम्मान र हौसलाका लागि ‘इन्टरनेसनल नेप्लिज एक्सिलेन्स अवार्ड’ (आइएनइए) कार्यक्रम गर्न लागिएको हो । 

जनवरी ११ तारिख आइतबार अल्डरसटस्थित एम्पायर हलमा अवार्ड वितरण गर्ने कार्यक्रम छ । 

ह्याब अ मोमेन्टका निर्देशक नवीन गुरुङका अनुसार बेलायतको नेपाली समुदायमा विशेष योगदान गरेका समाजसेवी, खेलाडी, कलाकार, संगीतकर्मी, मिडियाकर्मी लगायत विभिन्न १० विधामा अवार्ड दिइनेछ । त्यसबाहेक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने केहि बेलायतबासी नेपालीलाई पनि विशेष सम्मान गर्ने योजना छ । 

विभिन्न विधाका अवार्डको विजेता चयनका लागि सोहि क्षेत्रको अनुभव र विज्ञता भएकाहरुलाई राखेर जुरी कमिटी निर्माण गरिएको निर्देशक गुरुङले बताए ।  सोहि कमिटीले पहिलो चरणमा अर्को साताभित्रै अवार्डका लागि नोमिनेसनमा पर्नेहरुको ‘सर्ट लिस्ट’ सार्वजनिक गर्ने र अवार्ड समारोहमा विजेताको नाम घोषणा गर्ने तयारी छ । 

‘यो अवार्ड कुनै प्रतिस्पर्धाभन्दा पनि समाजमा काम गर्नेहरुको लागि हौसला हो’- निर्देशक गुरुङ भन्छन्, ‘राम्रो काम गर्नेहरुको हौसला बढ्दै जाओस् र सिंगो समुदायलाई सकारात्मक प्रेरणा मिलोस् भन्ने हाम्रो चाहना छ ।’ अवार्डलाई निश्पक्ष र निर्विवाद बनाउन आफूहरु सचेत रहेको र सोहिअनुसार तयारी भइरहेको उनले बताए ।

‘ह्याब अ मोमेन्ट’ को आयोजना रहने यो कार्यक्रममा एनआरएनए यूके र लेक्स लिम्बू डटकम साथै चर्चित इभेन्ट आयोजकहरु ‘जि नाइन इन्टरटेनमेन्ट’ र ‘सिग्नेचर’ सपोर्टिङ पार्टनरका रुपमा छन् ।

‘यो कार्यक्रम एनआरएनए यूकेले नै गर्न लागेको भन्ने गलत चर्चा बजारमा चलेको जानकारी हामीले पायौँ’-एनआरएनए यूके युवा संयोजक समेत रहेका ह्याब अ मोमेन्ट निर्देशक गुरुङले भने, ‘तर एनआरएनए यूके एक सपोर्टिङ पार्टनर मात्र हो । आयोजना ह्याब अ मोमेन्टको एकल हो ।’

आफ्नो व्यक्तिगत सम्बन्धका आधारमा नभएर कार्यसमिति बैठकले अनुमोदन गरेरै एनआरएनए यूके सपोर्टिङ पार्टनर बन्ने निर्णय भएको गुरुङको भनाइ छ ।

कार्यक्रम गर्न आवश्यक खर्च व्यवस्थापनका लागि कुनै चन्दा नउठाइएको समेत उनले स्पष्ट पारे । ‘हामीले १ पेनी चन्दा उठाएका छैनौ र उठाउने पनि छैनौं । कार्यक्रम हेर्न आउने दर्शकले लिने टिकट, केहि कमर्सियल प्रायोजक र कम्पनीको आफ्नै लगानीबाट खर्च व्यवस्थापन गर्नेछौं’-गुरुङले भने ।

तीन सय बढि दर्शकले हेर्ने अपेक्षा गरिएको कार्यक्रमको टिकट शुल्क १५ पाउण्ड राखिएको छ । अवार्ड वितरण कार्यक्रममा मनोरञ्जनका लागि नृत्य तथा गीतसहितका आकर्षक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री