आरोहणमा विश्व कीर्तिमान राख्ने निर्मल पूर्जाको चर्चा सर्वत्र

Nirmal Purja

लन्डन । यतिखेर एकजना म्याग्देली युवाले विश्व ध्यान खिचिरहेका छन् । ६ महिना ६ दिनमा ८ हजार मिटर उचाईंका विश्वका सबै १४ हिमाल चढेपछि निर्मल पूर्जा ‘निम्स’ (एमबीइ) मिडियामा सर्वत्र छाएका छन्, बधाइको ओइरो छ उनलाई ।

‘संसारले मलाई नजिकबाट हेरिरहेको थियो । आफ्नो मिसन पुरा गरेर औधी खुशी छु’, पूर्व ब्रिटिश सैनिक निर्मलले खुशी सांटे, ‘मैले प्रकृतिसहित विश्वभरबाट साथ सहयोग पाएं, म उहांहरुप्रति धन्य छु ।’ निर्मलले आरोहणमा यसअघि सन् १९८७ मा पोल्याण्डका जर्जी कुकुज्काको ७ वर्ष, ११ महिना १४ दिनको विश्व कीर्तिमान तोडेका हुन् ।

‘यदि तपाईंको सोच सकारात्मक छ र लक्ष्यप्रति एकदमै प्रतिवद्ध हुनुहुन्छ भने जीवनमा हरेक चीज सम्भव हुन्छ’, उनी भन्छन् ।

उनले आफ्नो स्वास्थ्य राम्रो भएको जानकारी दिए । ‘म गाइड गर्न पर्सी आम डब्लम जांदैछु । अब पैसा पनि कमाउनु परयो नि, 
हंस्यौली पारामा उनले सुनाए, ‘११ नोभेम्बर (रिमेम्बरेन्स डे) मा 
दिवंगत सैनिकहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्न आम डब्लम चढ्ने मेरो योजना छ । १७ तारिख बेलायत फर्कन्छु ।’ बेलायत फर्किएर किताब लेख्ने र वृत्तचित्र बनाउन समय खर्चने निर्मलले सुनाए ।

७ महिनाभित्र ८ हजार मिटर उचाईंका विश्वका सबै १४ हिमाल चढ्ने उनको महत्वकांक्षी योजनालाई शुरुमा धेरैले पत्याएनन् । ‘अप्रोच’ गर्दा कयौं संघसंस्था र व्यक्तिले असम्भव ठानेर हच्किए । कतिपयले निर्मलको पागलपन पनि भने । तर, कत्ति डगमगाएनन् उनी । बरु 
निर्धारित समय अगाडि ६ महिना ६ दिनमै आफ्नो योजना सफल बनाएर विश्वमा नयां कीर्तिमान राखे । नेपाल र नेपालीको नाम सगरमाथा जस्तै उंचो बनाए ।

यद्यपि, आरोहण अनुमति, खर्च र राजनीतिक सवाल आरोहणमा व्यवधान बनेका उनले स्मरण गरे । आरोहणअघि कम्तीमा दश करोड ५० लाख रुपैयां (७ लाख ५० हजार पाउण्ड) खर्च हुने बताएका निर्मलले अहिले भने त्यसबारे केही उल्लेख गर्न चाहेनन् ।

ब्रिटिश आर्मीमा पनि स्पेशल फोर्सेसको जागिर र ५ लाख पाउण्ड (करिब ७ करोड रुपैयां) पेन्सन वेवास्ता गर्दै निर्मलले विश्व कीर्तिमानका लागि हिमाल आरोहण योजना बनाएका थिए । निर्मलको आरोहण अभियान घाइते सैनिक भेट्रान र नेपालका पिछडिएका बालबालिकाको सहयोगमा काम गर्ने ब्रिटिश मिलिट्री तथा नेपाली च्यारिटीको सहयोगार्थ हो । यसबाहेक जलवायू परिवर्तन र विश्व तापमान वृद्धिबारे जनचेतना जगाउने उद्देश्य पनि यसको छ ।

‘प्रोजेक्ट पोसिबल १४:७’ नाम दिइएको उनको महत्वकांक्षी योजना गत मार्च अन्तिम साताबाट शुरु भएको थियो । अभियानकै लागि १९ मार्चबाट लागू हुने गरि उनले ब्रिटिश आर्मीबाट राजिनामा दिएका थिए ।

३५ वर्षीय निर्मलको ब्रिटिश आर्मीमा अझै दश वर्ष र पूर्ण पेन्सन आउन ६ वर्षमात्र बांकी थियो । ‘मैले ५ लाख पाउण्ड पेन्सन गुमाएर आरोहणमा लाग्ने निधो गरेको हुं’, पूर्जाले चढ्नुअघि भनेका थिए, ‘आर्मीमा मेरो राम्रो तलव सुविधा (मासिक ६ लाख रुपैयां) थियो । तर, नेपाल, नेपाली र सम्पूर्ण मानवजातीको प्रतिष्ठा उंचो बनाउन मैले प्रोजक्ट पोसिबलको महत्वकांक्षी योजना बनाएको छु ।’

जागिर र पेन्सन गुमाउनु त छंदैछ, उनले घर रिमोर्गेज गरेर करिब ७५ लाख रुपैयां (५५ हजार पाउण्ड) आफ्नै खाताबाट जोहो गरेका थिए । यसअघि पनि घर रिमोर्गेज र आफ्नो कमाइबाट पटक पटक गरि करिब एक लाख पाउण्ड खर्च गरिसकेको उनले स्मरण गरे ।

सन् २००३ मा ब्रिगेड अफ गोर्खाज् प्रवेश गरेका थिए निर्मल । सन् २००९ देखि ‘यूके स्पेशल फोर्सेस’ (स्पेशल बोट सर्भिस) को अंग बने उनी । दुई सय वर्षको गोर्खा इतिहासमा स्पेशल बोट सर्भिस्मा छानिने उनी पहिलो गोर्खा हुन् ।

सन् २०१२ देखिमात्र आरोहण यात्रा प्रारम्भ गरेका उनले यसअघि सगरमाथा तीन पटक, ८ हजार मिटर माथिका ४ वटा हिमाल र ७ महादेशमध्ये ४ महादेशका अग्ला हिमाल चढिसकेका थिए ।

उनी सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो सर्भिङ ब्रिटिश गोर्खा पनि हुन् । निर्मलको नाममा आरोहणका कयौं विश्व कीर्तिमान् छन् । उनले सगरमाथा देखि लोत्से आरोहण जम्मा दश घण्टा १५ मिनेटमै सम्पन्न गरे जुन यसअघि २० घण्टाको रेकर्ड थियो । ५ दिनमै सगरमाथा, लोत्से र मकालु (जो ८ हजार मिटर भन्दा अग्ला छन्) चढे । १७ दिनमा सगरमाथा दुई पटक, लोत्से र मकालु एक एकपटक चढ्ने उनी विश्वकै पहिलो व्यक्ति हुन् ।

उनले सगरमाथा चढ्ने क्रममा कठ्यांग्रिएर मृत्युको काखमा पुगेका एकजना भारतीय आरोहीलाई बचाएका थिए । ‘जि २०० इ गोर्खा एक्सपिडिसन’ मा १३ गोर्खाहरुलाई सगरमाथा लैजान उनको प्रमुख भूमिका थियो । यी विभिन्न उपलब्धि र साहसले ब्रिटिश आर्मी जागिरमा उनी कलिलै उमेरमा यसै वर्ष एमबीइ जस्तो साहसिक ब्रिटिश नेशनल अवार्ड पाउन सफल भएका थिए ।

उनले चढेका हिमाल- 

१. २३ अप्रिल, २०१९ मा अन्नपूर्ण (८,०९१ मिटर), नेपाल
२. १२ मेमा धौलागिरी (८,१६७ मिटर), नेपाल
३. १५ मेमा कन्चनजंगा (८,५८६ मिटर), नेपाल
४. २२ मेमा सगरमाथा (८,८४८ मिटर), नेपाल
५. २२ मेमा ल्होत्से (८,५१६ मिटर), नेपाल
६. २४ मेमा मकालु (८,४८१ मिटर), नेपाल
७. ३ जुलाईमा नांगा पर्वत (८,१२६ मिटर), पाकिस्तान
८. १५ जुलाईमा गासेरब्रुम पहिलो (८,०८० मिटर), 
पाकिस्तान
९. १८ जुलाईमा गासेरब्रुम दोस्रो (८,०३५ मिटर), पाकिस्तान
१०. २४ जुलाईमा के टु (८,६११ मिटर), पाकिस्तान
११. २६ जुलाईमा ब्रोड पिक (८,०५१ मिटर), पाकिस्तान
१२. २३ सेप्टेम्बरमा चो यू (८,१८८ मिटर), नेपाल
१३. २७ सेप्टेम्बरमा मनास्लु (८,१६३ मिटर), नेपाल
१४. २९ अक्टोबरमा सिसापाङ्मा (८,०२७ मिटर), चीन

प्रतिक्रिया

सम्बन्धित सामाग्री