एनआरएनए आइसिसी उपाध्यक्ष उम्मेदवार अधिकारी बेलायतमा

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का ओसेनिया क्षेत्रीय संयोजक धर्मराज अधिकारी बेलायत उत्रिएका छन् । आगामी निर्वाचनमा एनआरएनए आइसिसीको उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका अधिकारी चुनाव प्रचारका लागि बेलायत उत्रिएका हुन् ।

अस्ट्रेलियालाई कर्मस्थल बनाएर सामाजिक कार्यमा सक्रिय अधिकारीले एनआरएनए ओसेनिया क्षेत्रीय संयोजक भएर काम गरिसकेका छन् । एनआरएनए यूकेको निर्वाचन हुन एक दिन अघि यहाँ आइपुगेका उनले बेलायत बसाईका क्रममा एनआरएनए अभियन्ता तथा बेलायतबाट एनआरएनए निर्वाचनका लागि नेपाल जाने प्रतिनिधिसँग भेट गर्ने योजना बताएका छन् ।

उक्त भेटमा आइसीसी उपाध्यक्ष पदमा उम्मेदवार हुनु तथा उपाध्यक्ष जितेपछि गर्ने कामका बारेमा विस्तृत जानकारी गराउने उनले वीनेपालीलाई बताए । आइसीसी उपाध्यक्ष उम्मेदवार अधिकारीले भने, ‘हामीलाई थाहा छ मातृभूमिको सेवाबाट मात्र हाम्रो मनलाई पूर्ण सन्तुष्टि प्राप्त हुन्छ । यसैकारण हामीले विदेशमा आर्जन गरेको ज्ञान, सीप र दक्षता नेपालको नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहन्छौं । हामी विदेशमा कमाएको पूँजीको केही अंश नेपालमा लगानी गर्न चाहन्छौं ।’

गैरआवासीय नेपाली संघको नवौं अधिवेशन तथा विश्व सम्मेलन आगामी अक्टोबर १५ देखि १७ तारिखसम्म काठमाडौँमा हुँदैछ । यो सम्मेलनले ८० देशभन्दा बढिका प्रतिनिधिहरूको सहभागितामा नयाँ नेतृत्व चयन गर्नेछ । यसपटक अध्यक्षमा कुल आचार्य र कुमार पन्तबीच प्रतिष्पर्धा हुने ठानिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री