बेलायतमा दयानिधिको ‘डिमाण्ड’

Dayanidhi sapkota
लन्डन । एनआरएनए यूके निर्वाचन १४ सेप्टेम्बरमा तय भएपछि बेलायतको नेपाली डायस्पोरा अहिले त्यतैतिर व्यस्त छ । उम्मेदवारहरु आफ्नो पक्षमा मत जुटाउन गृहकार्यमा छन् । यही क्रममा लेस्टरनिवासी सामाजिक अभियन्ता एवं व्यवसायी दयानिधि सापकोटाको दौडधुप पनि बढेको छ । एनआरएनए यूके आइसीसी पदका उम्मेदवार सापकोटा तीन बुंदे घोषणापत्रसहित चुनावी 
मैदानमा होमिएका छन् । मिडल्याण्ड क्षेत्रमा करिब दुई हजार मतदाता रहेकाले उक्त समुदायको नेतृत्व गर्ने दयानिधि ‘शक्तिकेन्द्र’ का रुपमा पनि अहिले उदाएका छन् ।

समाजसेवी दयानिधि सापकोटाले आइसीसीमा 
उम्मेदवारी दिंदै आइसीसी सदस्यहरुको केन्द्रसंग समन्वय अभाव देखिएकाले त्यसलाई व्यवस्थित गर्ने, नेपाली नागरिकता निरन्तरता विषयमा जोड दिने, केन्द्रमा भएका गतिविधि डिजिटलाइज्ड प्रणालीबाट विश्वका ८० देशमा एकैपटक अवगत गराउन पहल गर्ने, आर्थिक पारदर्शीता अपनाउने, सामाजिक अग्रसरता थप तीव्र बनाउने आदि प्रतिवद्धता व्यक्त गरेका छन् ।

बेलायत नेपाल दुबैतिर च्यारिटीकर्म, आपतविपत र प्राकृतिक विपत्तिमा साथ, नेपालको शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा निरन्तर सहयोग गर्ने उनी नाम जस्तै दयालु मानिन्छ बेलायतमा ।

बेलायतको नेपाली समुदायमा परिचित नाम हो दयानिधि । ‘बोल्ड पर्सनालिटी’ र स्पष्ट वक्ताको परिचय बनाएका दयानिधिले आफ्नो विगत-वर्तमान, व्यवसाय र एनआरएन अभियानबारे यसरी बेलिविस्तार लगाएका छन्-

सन् १९७२ जुलाई २९ मा बाग्लुंग जिल्लाको बिहुकोट गाविस ५ देउरालीमा बुबा पद्मनाथ सापकोटा र ममतामयी आमा भावी सापकोटाको कोखबाट जन्मने 
सौभाग्य पाएं । स्थानीय अमर माध्यमिक विद्यालयबाट एसएलसी र काठमाडौंको शंकरदेव क्याम्पसबाट बी. कम. अध्ययन गर्दै गर्दा म सन् १९९३ मा जर्मनी पुगें । जर्मनी जानु मेरो वाध्यता थियो र रहर पनि । 
निरन्तर रुपमा मेरो करिब १५ वर्ष जर्मनीमा बित्यो । त्यहां बसाइको क्रममा पनि मैले केहि महत्वपूर्ण कामहरु गरेको थिएं फलस्वरूप आफूले पढेको विद्यालयलाई १० 
प्लस टु हुंदै क्याम्पससम्म बनाउन भवन निर्माण, 
संरचना र अन्य ‘लजिस्टिक’ सहयोगका लागि पहल गरें । जर्मनी रहंदा यूरोपका विभिन्न देश जाने र आफ्नो अनुभव संगाल्ने अवसर मिल्यो । जब म सन् २००६ अक्टोबर १ मा बेलायत आएं, युरोप महादेशमा भए पनि बेलायतलाई झन् फरक शैलीमा पाएं । मतलब अरु युरोपियन देशहरु भन्दा बहुआयामिक, प्रजातान्त्रिक, बहुधार्मिक लाग्यो यूके र यहीं बस्ने रहर जाग्यो अनि यतै बसेर रोजगारीतर्फ लागें ।

म नेपाली समाजमा केही गर्नु पर्छ भन्ने सदैव चाहना 
राख्थें । मेरो पारिवारिक विरासतले पनि त्यही सिकाएको थियो । पेशागत दक्षता बांडेर होस् वा आर्थिक सामाजिक सहयोग दिएर, म मातृभूमिसंग सधैं सामिप्यमा रहें । 
म संग करिब २५ वर्ष ‘इटालियन ग्यास्ट्रोनोमी’ को अनुभव भएकाले जर्मनी बस्दा पनि इटालियन रेस्टुरांको प्रोपाइटर थिएं । त्यसैको अनुभव लिएर सन् २०१३ मा मैले यूकेको लेस्टर शहरमा ‘ओजी’ इटालियन रेष्टुरेन्ट खोल्न सफल भएं । अहिलेसम्म यही पेशामा आवद्ध छु । नेपाली भएर अरु देशको खाना ख्वाउने एउटा चुनौतिपूर्ण पेशामा म सफल भइरहंदा आफूलाई भाग्यमानी पनि ठानेको छु ।

मलाई विद्यार्थी जीवनमा पनि सामाजिक, आर्थिक र राजनीतिक विकासमा अति चासो लाग्थ्यो र दिन्थें पनि । त्यसै कारणले होला त्यो चाहना पुरा गर्ने सपना मेरो दिलमा खड्केको थियो । तदनुरुप यूकेको मेरो असाध्यै प्यारो शहर लेस्टरमा नेपाली समाजलाई सशक्त बनाउने अभियानमा जुटें म । त्यसमा मेरा सहकर्मी साथीहरुले अहोरात्र सहयोग गर्नुभयो । परिणामतः मैले सृजनशील लेस्टर नेपाल यूकेको दुई कार्यकालको अध्यक्ष भएर ४ वर्ष काम गर्ने सौभाग्य पाएं । म अहिले पनि सबै साथीहरुमा हार्दिक आभार ब्यक्त गर्दै नमन गर्न चाहन्छु ।

तत पश्चात साझा नेपाली समाज गठन गर्नका लागि फेरी पनि साथीहरुबाट जिम्मेवारी पाएअनुसार 
संस्थापक सदस्य तथा विधान समिति संयोजक भएर काम गर्ने सौभाग्य मिल्यो । जसमा सृजनशील लेस्टर नेपाल युके, नटिंगघाम नेपाली समाज युके, पिटरबरो नेपाली समाज युके, हाम्रो नेपाली समाज वेस्टमिडल्याण्डको पहलमा साझा नेपाली समाज स्थापना भयो र हाल आपतकालीन राहतकोष संयोजक भएर काम गर्ने अवसर पाएको छु ।

त्यस्तै ‘आफ्नो गाउं आफैं बनाउं’ भन्ने अभियान लिई मेरो जन्मथलोमा विभिन्न सामाजिक, आर्थिक र सांस्कृतिक कार्यक्रमहरु अगाडि बढाउने उद्देश्यले बिहुंकोट हेल्प नेटवर्क युकेको संस्थापक अध्यक्ष भएर काम गर्ने अवसर प्राप्त गरें । यसका लागि अहोरात्र खट्ने सबै साथीहरुलाई नमन गर्न चाहन्छु ।

म नेपाली समुदायको माया देखेर आफूलाई भाग्यमानी पनि ठान्छु । नेपाल ब्रिटेन डट कमले हरेक वर्ष बेलायतका १० चर्चित व्यक्ति छान्ने क्रममा सन् २०१४ मा दश चर्चित व्यक्तिमध्ये म पनि पर्न सफल 
हुंदा र समाजमा गरेका कामहरुको मुल्यांकन हुंदा गौरवान्तित महशुस गरेको छु । यसै गरि सन् २०११ देखि २०१३ सम्म एनआरएनए यूकेको राष्ट्रिय समन्वय परिषदमा सदस्य भई काम गर्ने अवसर प्राप्त भयो । यसले गर्दा समाजमा अझ काम गर्ने उर्जा थपियो ।

अन्त्यमा, म एकपटक फेरि समस्त प्रिय मतदाताहरुसंग मतदानका लागि अपिल गर्दछु । मैले जिम्मेवारी पाएं भने तपाईंहरुको मान मर्दन कदापी गर्ने छैन्, बरु शीर उचो बनाएर हिंड्न सक्ने वातावरण सृजना गर्नेछु ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री