इन्जिनियर तेजेन्द्र रोकामगरको एनआरएनए युके कोषाध्यक्षमा दाबी

लन्डन । सामान्यतः कोषाध्यक्षको काम हरहिसाब राख्ने हो र हरहिसाब राख्ने पेशा हो अकाउण्टेण्ट । तर एनआरएनए यूकेको चुनावमा भने एक इन्जिनियरले कोषाध्यक्ष पदमा दाबी पेश गरेका छन् ।

बीइ र एमएससीमा ब्याच टप गरेका म्याग्दीका ३४ वर्षीय तेजेन्द्र रोका मगर अहिले एनआरएनए यूकेको निर्वाचनमा कोषाध्यक्षका उम्मेदवार बनेका छन् ।

सानैदेखि सामाजिक कार्यमा लागेका रोकामगरले लिटल एन्जल्स स्कुल हात्तीवनबाट एसएलसी गरेका छन् भने भीएस निकेतनबाट प्लस टू गरेपछि एक्मी इन्जिनियरि‌ङ कलेजबाट बीई (सिभिल इन्जिनियरिङ)र इन्जिनियरिङ म्यानेजमेन्टमा एमएस्सी गरेका छन् । हाल उनी पीएचडीको तयारीमा छन् । उनले एसएलसी दिएर रिजल्ट आउनु बीचको समयमा ‘जीवनको गोरेटो’ नामक उपन्यास पनि लेखेका थिए ।

विद्यार्थीकालदेखि नै परिवर्तन आधारभूत तहबाटै हुनुपर्छ भन्ने मान्यता बोक्ने रोकामगरले इन्जिनियरिङ्गको विद्यार्थी छंदै आफ्नो गाउंमा विद्युतीकरणसंगै खानेपानी र सि‌ंचाइको योजना पूरा गरेका थिए । त्यसपछि ८ वर्ष नेपालका विभिन्न १८ जिल्लाका दुर्गम बस्तीमा नवीकरणीय उर्जा स्थापनामा लगाए । यसैगरी, ठूला जलविद्युत आयोजनाको प्रारम्भिक अध्ययनदेखि सर्भे, डिजाइन र निर्माणमा उनले विज्ञता हासिल गरेका छन् ।

नेपालमा गणतन्त्र स्थापनापश्चात नेपालको संसद सचिवालयमा प्राविधिक विज्ञको रुपमा दुई वर्ष बिताउंदा उनले सांसदहरुसित धेरै सडक, भवन, सिंचाइ आयोजनाहरुको अनुगमन गर्ने अवसर पाएका थिए । २०६४ सालमा टीडी इनर्जी एण्ड मल्टी कन्सट्रक्सन नेपाल प्रालि (टीम नेपाल) को स्थापना गरी उनले व्यवसायलाई अगाडि बढाइरहेका छन् । यस्तै, तीनकुने काठमाडौंस्थित सेन्टर फर इन्फरमेसन टेक्नोलोजी एण्ड इन्जिनियरिङ कलेज (साइट) मा पनि उनको लगानी छ ।

सन् २०१५ मा यूके आएपछि उनको अगुवाइमा युकेमा नेपाल 
इन्जिनियर्स एसोसिएसनको यूके शाखा स्थापना भएको थियो । हाल पनि उनी सो शाखाको अध्यक्ष छन् । उनी अहिले प्रोपर्टी डेभलपमेन्ट कम्पनी रेडरोमा इन्जिनियरका रुपमा कार्यरत छन् ।

इन्जिनियर मान्छे किन कोषाध्यक्ष पदमा त ? जवाफमा उनले भने, ‘एनआरएन यूकेका नियमित कार्य र दीर्घकालिन परियोजनाहरुलाई व्यवस्थित बनाउन इन्जिनियरिङ पेशाको लागत अनुमान, कम खर्चमा समयभित्र गुणस्तरीय सेवा दिने लगायतका अनुभवमार्फत नयां उचाइमा पुरयाउन मैले कोषाध्यक्ष पदमै उम्मेदवारी दिएको हुं ।’

विश्वकै सबैभन्दा ठूलो एनआरएनको शाखा बन्न पुगेको युके राष्ट्रिय समन्वय समितिको सामर्थलाई उपयोग गरी एनआरएनए यूकेका हरेक सदस्यलाई लाभ पुग्ने गरी विभिन्न परियोजनाको परिकल्पना ल्याउन पनि आफू चुनावी 
मैदानमा आएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री