लण्डन । नेपाली समुदायको उल्लेख्य बसोबास र बाक्लै गतिविधि हुने गरे पनि स्थानीय नेपाली मिडियामा आफूहरुका गतिविधि कम समेटिएको गुनासो केन्टबासी नेपालीले गरेका छन् । नेपाल पत्रकार महासंघ युकेले आइतबार आसफोर्डको स्टानहोप पेरिस हलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनीहरुले सो गुनासो गरेका हुन् ।
मेडस्टोन बोरोका काउन्सिलर दिनेश खड्काले लण्डन ओलम्पिकका बेला नेपालबाट आएका छ जना खेलाडीलाई केन्ट काउण्टीले आवासको प्रबन्ध गर्दा अंग्रेजी मिडियामा समाचार आए पनि नेपाली मूलका स्थानीय मिडियामा भने समाचार नआएको सन्दर्भ कोट्याए । उनले बेलायतमा कार्यरत पत्रकारहरुलाई समाजलाई सकारात्मक सन्देश दिन्छ भने नकारात्मक घटनाका समाचारहरु प्रकाशनमा ल्याउन नडराउन पनि आग्रह गरे । समाचारमा नयाँपन ल्याउन र सस्तो लोकप्रियता कमाउने मिडियालाई सार्वजनिक गर्न पनि उनले पत्रकारहरुलाई सुझाव दिए ।
फोल्कस्टोन नेपाली समाजका अध्यक्ष चन्द्रबहादुर गुरुङले आफूहरुले अलि ओझेलमा परेको महसुस गरेको बताए । हरेक पत्रपत्रिका, मिडिया लण्डन र अल्डरसटकै समाचारले भरिने गरेको पाउने गरेकोमा यस्ता अन्तरक्रियाले सबै पक्षलाई समेट्न सघाउने विश्वास व्यक्त गरे ।
आसफोर्डस्थित सगरमाथा गोरखा नेपाली कम्युनिटीका अध्यक्ष चक्रबहादुर राईले बेलायतमा पत्रकारको अवस्था कस्तो छ, उनीहरुले के कस्तो सुविधा पाउँछन् भन्ने जिज्ञासा राख्दै मिडिया र पत्रकारहरुसित अन्तरक्रिया गर्न र सघाउन आफ्नो कम्युनिटी सदैव तयार रहेको बताए ।
तमुधिँ युकेका पूर्व अध्यक्ष ज्ञाम गुरुङले नेपालमा पनि रोल्पा, डोल्पाका समाचार कम आउने प्रसंग उल्लेख गर्दै समाचारको मूल्य हुने कार्यक्रम बनाउन समुदायका अगुवाहरुलाई सुझाव दिए । यहाँ सञ्चालित मिडिया र कार्यरत पत्रकारहरुलाई ब्यावसायिक बनाउन कम्युनिटीले विज्ञापन दिएर सघाउनुपर्ने उनको मत थियो ।
मगर संघ केन्टका अध्यक्ष क्याप्टेन रिटायर्ड रामबहादुर पुनले विगतमा आफ्नै संयोजकत्वमा गरिएको उच्चस्तरको कार्यक्रममा नेपाली मिडियालाई निम्तो गर्दा जवाफ समेत नपाएको गुनासो गरे । उनले सबै ठाउँका गतिविधि मिडियामा समेटिएका छन् कि छैनन् भन्ने बुझ्न बेलाबेलामा प्रतिनिधि पठाएर ‘अडिट’ गर्नपर्ने सुझाव दिए । धेरै समुदायलाई अझै पनि मिडियामा कसरी जाने भन्ने जानकारी नभएको बताउँदै उनले पत्रकारहरुलाई समाजमैत्री हुन पनि सुझाव दिए ।
नेपाल जनजाति महासंघ युकेका पूर्व अध्यक्ष सिरीप्रसाद लिम्बुले पत्रकारहरुलाई पक्षपातरहित भएर आवाजविहीनहरुका पक्षमा काम गर्न सुझाव दिए । सबै ठाउँका समुदायका गतिविधि समेट्न मिडियाले ठाउँ ठाउँमा स्थानीय प्रतिनिधि राख्नुपर्ने पनि लिम्बुको भनाइ थियो ।
किरात याख्या छुम्मा युकेका पूर्व अध्यक्ष धन रोगुले पत्रकारहरु पनि आफू निकटका संस्थाप्रति बढी लचक हुने गरेको देखिएको उल्लेख गर्दै साना–ठूला, नजिक–टाढा सबै संस्थाहरुलाई समान व्यवहार गर्न सल्लाह दिए ।
संखुवासभा समाज युकेका सल्लाहकार नरबहादुर बलम्पाकीले पत्रकारहरुलाई समाजको आँखा भएर कर्तव्य निर्वाह गर्न सुझाव दिए । पत्रकारले राजनीति, जाति, ठाउँ विशेषबाट माथि उठी निस्पक्ष भई काम गर्नुपर्ने पनि उनको भनाइ थियो ।
गुरुङ सोसाइटी केन्टकी अध्यक्ष राजदेवी गुरुङले अन्तरक्रियाबाट धेरै कुरा सिक्न पाएको बताउँदै पत्रकारहरुसित हातेमालो गर्न र एकअर्कामा सरसहयोग गर्न आफू तयार रहेको बताइन् ।
मगर संघ केन्टका पूर्व अध्यक्ष उत्तरबहादुर मगरले सामाजिक सञ्जालका कारण मिडियाहरु ओझेलमा परेको आफूलाई लागेको बताए ।
पत्रकार छत्र वनेमले नेपाल पत्रकार महासंघले बेलाबेलामा आफ्ना कार्यक्रमहरु लण्डनबाहिर ल्याउन पर्ने सुझाव दिए । नेपालमा अहिले भइरहेका घटनाहरु र परिवर्तित नियम कानुनका बारेमा पनि पत्रकारहरुले युकेका नेपाली समुदायलाई सूचित गर्नुपर्ने उनले बताए ।
गुरुङ सोसाइटी केन्टका महासचिव गोलमान गुरुङले समाजलाई अगाडि बढाउन मिडियाको भूमिका महत्वपूर्ण हुने बताए । केन्टमा गोरखाहरुको बाक्लो बसोबास हुँदाहुँदै पनि केन्टका नेपालीहरु धेरै क्षेत्रका अघि हुँदाहुँदै पनि मिडियामा कभरेज कम भएको गुनासो उनले थपे ।
कलाकार थीर थापाले बिना अनुसन्धान समाचार लेख्दा कतिपयको अस्तित्व नै संकटमा परेको र कति समाचारले कतिपयको जीवनमा उत्साह नै उत्साह ल्याएको बताए । राष्ट्रिय-अन्तर्राष्ट्रिय चासोका विषयमा पत्रकारहरुले सत्य बाहिर ल्याउनुपर्ने सुझाव दिँदै उनले गलतरुपमा आएका समाचारका कारण मानिसहरुले गलत निर्णय लिइरहेको दृष्टान्त पेश गरे ।
तेह्रथुम समाज युकेका अध्यक्ष डम्बर सिंगकले सामाजिक अभियन्ताभन्दा राजनीतिक अभियन्तालाई मिडियाले धेरै प्रवर्धन गर्ने गरेको बताए । पत्रकारहरुलाई तथ्यपरक हुन सल्लाह दिँदै उनले आफूहरुले पत्रकारहरुलाई के सहयोग गर्नपर्ने हो गर्न तयार रहेको वचनवद्धता प्रकट गरे ।
मगर संघ युकेकी वरिष्ठ उपाध्यक्ष सीता पुनले पत्रकारहरुलाई चुनाव, राजनीति मात्र होइन स्वास्थ्यका बारेमा पनि कलम चलाउन अनुरोध गरिन् । आफ्नै उदाहरण दिँदै उनले एक व्यक्तिको अनुभवबाट धेरैको जीवन बचाउन पत्रकारहरुले मद्दत गर्न सक्ने बताइन् ।
लिम्बुवानका अभियन्ता लाहाङ चेम्जोङले सबै मिडियाको समाचार हेर्दा एउटै देखिने प्रसंग जोड्दै मिडियाहरुलाई समुदायसित आवश्यक जानकारी लिएर आफ्नै शैलीमा समाचार पस्कन सुझाव दिए । सगरमाथा गोरखा नेपाली समाजका वरिष्ठ उपाध्यक्ष कप्रसाद छन्त्यालले समाजको स्वप्न योजना नेपाली घर बनाउनमा यस्ता कार्यक्रमले सहयोग पुरयाउन सक्ने आशा प्रकट गरे ।
फोल्कस्टोन नेपाली समाजका महासचिव डा. महा राईले आफूहरु स्थानीय नेपालीहरुको सानो समुदाय भएकाले स्थानीय सञ्चारमाध्यमसित मात्र सम्पर्कमा रहेको बताए । बीएफबीएस गोरखा रेडियोकी रुपा रानाले समुदायलाई रेडियोमार्फत आफ्ना गतिविधि शेयर गर्न चाहना भए सहजरुपमा सम्पर्क गर्न अनुरोध गरिन् ।
कान्तिपुर दैनिकका युके समाचारदाता तथा नेपाल पत्रकार महासंघ युकेका संस्थापक अध्यक्ष नविन पोखरेलले युकेका इस्युलाई कान्तिपुरमा कभरेज गर्न सक्दो प्रयास गरिरहेको बताउँदै सूचनाहरु बाँड्न समुदायका अगुवाहरुलाई आव्हान गरे ।
शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन महासचिव सञ्जयभक्त कँडेलले गरेका थिए । अन्तरक्रियाको सहजीकरण शाखाका सदस्य रमेश सराङकोटीले गरेका थिए भने वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेलले कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक