‘एनआरएनए’ निर्वाचन र तीन वटा ‘प’ अर्थात ‘प्यानल’, ‘पद’ र ‘पैसा’

आजकल बेलायतमा नेपाली समुदायलाई ‘एनआरएनए’ को निर्वाचन लागेको छ । निर्वाचन नजिक नजिक आउँदा तडकभडक र हल्लाखल्ला पनि लागेको छ । सामाजिक संजालका भित्ताहरु घोषणा सभाका तस्बिरहरु र अनेक प्रचार प्रसार सामाग्रीहरुले रंगिएका छन् । हरेक दुई दुई बर्षमा हुने ‘एनआरएनए’ को निर्वाचन प्रत्येक पटक झन् भड्किलो र तडकभडकयुक्त हुँदैछ ।

म स्वयम् पनि बेलायतमा नेपाली समुदाय र ‘एनआरएनए’ को एक सदस्य भएको हुनाले यी सबै क्रियाकलापहरुले नछुने कुरै भएन । अझ बिगत र हाल गरी दुई कार्यसमितिहरुको ‘मनोनित’ सल्लाहकार भएको नाताले मलाई पनि कता कता चुनावले छोएको अनुभव हुँदैछ । त्यस माथि झन् सम्भावित उमेद्वार वा आकांक्षी पदाधिकारीहरुले आफ्नै प्रचार प्रसारका लागि आयोजना गरेका अनेक कार्यक्रमहरुले निर्वाचनको गतिलाई तिब्र पारेको छ ।

‘एनआरएनए’ को चुनाव बेलायतमा बस्ने नेपाली समुदायको बीच हुने भए पनि नेपालमा हुने संसदीय चुनावको झझल्को आउंदैछ । आजकल ‘एनआरएनए’ को निर्वाचनमा अस्वाभाविक रुपमा तिन वटा ‘प’ अर्थात ‘प्यानल’, ‘पद’ र ‘पैसा’ को चर्चा सुनिने गरेको छ ।  यी तिनै वटा कुराहरु निर्वाचन संगै आउने कुरा हुन् । तर, यसको प्रयोग स्वाभाविक रुपमा अर्थात एउटा सीमामा हुनु जरुरी छ ।

प्यानलको चर्चा-

कुनै पनि निर्वाचनमा प्यानल हुनु अस्वाभाविक हैन । तर, ‘एनआरएनए’ गैह्र राजनीतिक र सम्पूर्ण नेपाली समुदायको हक र हितको लागि स्थापना भएको संस्था भएकोले यसलाई नेपालको राजनीतिक दल र कुनै समुदायसंग जोडिएर हेर्नु र प्यानल बनाउनु दु:खदायी हो । बिस्तारै ‘एनआरएनए’ लाई नेपाली राजनीतिक दलको प्रतिष्ठा वा कुनै समुदाय संग जोडेर हेर्ने वा राजनीतक दलको आवद्ध संस्था जस्तै बनाउने हुन हो कि भन्ने प्रत्याभूति हुँदैछ ।

यदि कुनै पनि प्यानल सबै पदका उमेद्वारहरुको संयुक्त्त भावी कार्य योजना, योग्यता, दक्षता र अनुभवको आधारमा बन्ने हो भने त्यो प्यानल उपयुक्त पनि हुन सक्छ । तर, यहाँ त प्यानल व्यक्तिगत स्वार्थ, चुनाव हार्ने वा जित्ने सम्भावना, राजनीतिक दल, जातिय वा क्षेत्रीयता आदिका आधारमा बनाइने हुनाले यो बेलायतमा बस्ने आम नेपाली समुदायको लागि राम्रो कुरा हुन सक्दैन । त्यसैले ‘एनआरएनए’ का अगुवाहरुले यो पक्षलाई बिचार गरेर चुनावलाई ब्यबस्थित र शुद्ध ‘एनआरएनए’ को निर्वाचन बनाउनु जरुरी छ । ‘एनआरएनए’ सबै सदस्यहरुले पनि यी कुराहरुलाई विचार गरेर मतदान गर्नु राम्रो हो ।

पैसाको चर्चा-

यो स्वाभाविक कुरा हो, हरेक चुनाव लड्न पैसाको जरुरत पर्छ । तर, यहाँ त स्वाभाविक रुपमा हुने सामान्य खर्च भन्दा मोटो रकम  लिएर चुनावी प्रतिस्पर्धामा आउनेको संख्या धेरै छ । आज रोचक त के छ भने उमेद्वारको घोषणा सभाको नाउँमा ठूला ठूला हल बुक गर्ने, खाना खाजामा पैसा खर्च गर्ने, सदस्य बनाउन आफैं पैसा तिरिदिने, निर्वाचनको दिनमा भोज भतेर, सवारी साधनको ब्यबस्थापनमा खर्च गर्ने आदि गरी चुवाव लाई खर्चिलो र भड्किलो बनाउने प्रतिस्पर्धा नै छ ।

‘एनआरएनए’ को चुवानको दिन मतदान केन्द्र वरिपरि जाने हो भने नेपालको संसदीय चुनावको जस्तो भड्किलो प्रचार प्रसार गरेको देख्दा नै थाहा हुन्छ यहाँको ‘एनआरएनए’ को चुनावमा पैसाको महत्व । अनि आजकल हरेक दिन जसो अनलाईन र कतिपय छापाका पत्रपत्रिकामा आउने समाचारले नै देखाउंछ ‘एनआरएनए’ को चुनावको प्रत्यासीहरुले गरेको तडक भडकको तस्बिर ।

‘एनआरएनए’ लाई पैसावालाको पद देखाउने संस्थाको रुपमा पनि कतिपयले चित्रित गर्छन । ‘एनआरएनए’ लाई पैसावालाको संस्था हैन बेलायतमा बस्ने हरेक नेपालीको आफ्नै साझा संस्था बनाउनु जरुरी छ । अब यहाँ पैसा खर्च गर्नेलाई हैन योग्य मान्छेलाई चुनाव जिताउनु पर्छ । यसको जिम्मा हामी ‘एनआरएनए’ का हरेक सदस्यहरुको हो । सबै बुद्धिजिवी र अग्रज व्यक्तित्वहरुको कर्तब्य पनि हो ।

पदको चर्चा-

निर्वाचन हुने नै कुनै खास पदका लागि हो । पद भन्ने बित्तिकै मुलत काम, कर्तब्य, अधिकार, उत्तरदायित्त्व र पारदर्शिता पनि संगै जोडिएर आउने कुरा हुन् । सबै निर्वाचित पदाधिकारीले यी सबै कुरालाई मनन गरे भने संस्थाको लक्ष्य सजिलै पुरा हुन्छ । तर नेपाली समुदायमा पदलाई आफ्नो कर्तब्य र उत्तरदायित्व भन्दा धेरै सम्मान र प्रतिष्ठासंग जोडिने गरेको पाएको छु मैले ।

‘एनआरएनए’ को पधाधिकारी भन्ने बित्तिकै बेलायतमा नेपाली समुदायको हरेक कार्यक्रममा खादा, आसन ग्रहण र सम्मान पाइने हुनाले धेरै सम्भावित उम्मेद्वारहरु केवल यो कुराले पद पाउन बढी लालायित भएका हुन कि भन्ने पनि कतिपयलाई परेको छ । त्यसैले सबै ‘एनआरएनए’ का सदस्यहरुले कुनै नाम नहेरी उमेदवारले गर्न सक्ने काम र उसको दक्षता हेरेर भोट हाल्नु जरुरी छ ।

बेलायतको निर्वाचनमा एक पटक स्थानिय र दोश्रो पटक संसदीय निर्वाचनमा उम्मेदवार भई सकेको हुनाले यहाँको निर्वाचन पद्धति, प्रक्रिया र प्रचार प्रसार गर्ने शैलीको बारेमा मसंग केही न केही अनुभव छ । मेरो अनुभवको आधारमा मलाई के लाग्छ भने बेलायतमा बस्ने नेपाली समुदायले यहाँको निर्वाचन पद्धति, प्रक्रिया र प्रचार प्रसार शैली पनि सिक्नु जरुरी छ ।

निर्वाचन पद्धति मात्रै हैन लोकतान्त्रिक पद्धतिको जननी बेलायतमा विधिको शासन, नागरिक हकहित र स्वतन्त्रताको लागि जे जति काम यहाँ हुन्छन ती सबै अनुकरनिय छन् र त बेलायत आज सम्वृद्ध र सम्पन्न छ । तसर्थ हामी बेलायतमा बस्ने सबै नेपाली समुदायले ‘एनआरएनए’ को हरेक निर्वाचनमा नेपाली निर्वाचनको झझल्को दिने गरी ‘प्यानल’, ‘पद’ र ‘पैसा’ को नकारात्मक प्रभावलाई निस्तेज पार्नु जरुरी छ । चुनाव शुद्ध लोकतान्त्रिक र स्वच्छ बनाउन हामी सबैको सकारात्मक भूमिका अपरिहार्य छ ।

धेरैको चाहना भने योग्य र राम्राले आगामी निर्वाचन जितुन र ‘एनआरएनए’ सबैको हित र उपकारका लागि साझा संस्था बनोस भन्ने छ । चाहना भएर मात्रै हुँदैन, हरेक सदस्य आफू इमान्दार र निस्पक्ष हुनु पर्ने हुन्छ । जति कुरा गरे पनि ‘एनआरएनए’ का धेरै मतदाता भने ‘बिचरा मतदाता’ हुन । यहाँ आफू सक्रिय नहुने र अरुको रमिता हेर्नेको जमात धेरै छ । अरुलाई  अर्ति उपदेश दिने, तर भोट हाल्दा राम्रा हैन हाम्रा हेर्नेको संख्या धेरै छ । तर, अब आशा गरौ यो सोच बदलिने छ र ‘एनआरएनए’ को आगामी निर्वाचनमा सक्षम, सबल, योग्य, दक्ष र अनुभवीले जित्ने छन् । अनि ‘एनआरएनए’ सबैको साझा संस्था बन्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री