लन्डन । तमु समाज युकेले जेष्ठ नागरिकहरुका निम्ति अंग्रेजी भाषा प्रशिक्षण दिएको छ । लन्डन वेम्बलीको बरहाम पार्कस्थित आफ्नै कम्युनिटी हलमा नेपाली मुलका जेष्ठ नागरिकहरुका निम्ति दिइएको २१ हप्ते प्रारम्भिक अंग्रेजी भाषा प्रशिक्षण गत जुलाई १९ तारिक समापन गरिएको हो ।
हरेक शुक्रबार सञ्चालन गरिएको उक्त अंग्रेजी भाषा प्रशिक्षण गत १ मार्च २०१९ मा शुभारम्भ गरिएको थियो । समापन समारोहमा प्रशिक्षण पुरा गरेका ४२ जना सहभागी जेष्ठ नागरिक एवं दिदीबहिनीलाई प्रमुख अतिथि काउन्सिलर सकिब बटले प्रमाणपत्र प्रदान गरे ।
तमु समाज युकेको आयोजना र नेशनल लट्री फन्डको आर्थिक प्रायोजनमा सञ्चालित प्रशिक्षणमा सहभागीले अंग्रेजी भाषा सिकेर बेलायत बसाईमा बेलायती जीवन पद्धति बुझ्न सहज भएको बताएका छन् ।
तमु समाज युकेका उपाध्यक्ष शिवकुमार गुरुङको सभापतित्व र लन्डन बरो अफ ब्रेन्टका काउन्सिलर सकिब बटको प्रमुख आतिथ्यमा सम्पन्न समापन समारोहको संयोजन तथा सञ्चालन भाषा प्रशिक्षणका संयोजक तथा तमु समाज युके नेप्लिज कम्युनिटी सेन्टरका प्रवन्धक बाबुराम गुरुङले गरेका थिए ।
समापन समारोहमा तमु समाज युकेका पूर्व अध्यक्ष शिवशरण गुरुङ, उपाध्यक्ष कन्यप्रसाद गरुङ, सल्लाहकार तथा नेपलिज कम्युनिटी सेन्टका सह-प्रवन्धकद्वय यामबहादुर गुरुङ र इमान घले, सल्लाहकार सुवसिङ गुरुङ बीइएम, भाषा प्रशिक्षक बिसु गिरी लगायत प्रशिक्षार्थी आमा, दिदीबहिनीको उपस्थिति थियो ।
कार्यक्रममा संयोजक तथा सञ्चालक बाबुराम गुरुङले स्वागत मन्तव्य राख्दै प्रशिक्षणको उद्देश्य, औचित्य र उपयोगिताबारे प्रकाश पारेका थिए । यसका साथै प्रशिक्षण संचालनमा सुरु देखि अन्तसम्म भोगेका अनुभव पनि बांडे । उनले २१ हप्ते भाषा प्रशिक्षणबाट सहभागीहरुले ठूलो लाभ हांसिल गरेको बताउंदै प्रशिक्षण संचालनमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।
सो अवसरमा प्रमुख अतिथि काउन्सिलर बटलाई तमु समाज युकेका पूर्व अध्यक्ष शिवशरण गुरुङ र कार्यक्रमका सभापति तथा उपाध्यक्ष शिवकुमार गुरुङले खादा लगाई सम्मान गरेका थिए ।
प्रमुख अतिथिले सबै सहभागी प्रशिक्षार्थीलाई प्रशिक्षण पुरा गरेको प्रमाणपत्र प्रदान गरे भने बिसु गिरीलाई प्रशिक्षकको रुपमा गरेको महत्वपूर्ण योगदानको कदर स्वरुप समाजका तर्फबाट खादा लगाई प्रशंसा पत्र दिए ।
प्रशिक्षणमा सबैभन्दा जेष्ठ प्रशिक्षार्थीहरु श्रीमति झुमा मगर, श्रीमती मनकली गुरुङ, श्रीमति मन कुमारी गुरुङ र श्रीमति निर्मला गुरुङले सबैको प्रतिनिधित्व गर्दै प्रशिक्षक गिरीलाई मायाको चिनो र खादा लगाएर धन्यवाद दिएका थिए ।
कार्यक्रममा प्रशिक्षक गिरीले स्वयंसेवकका रुपमा प्रशिक्षण दिने अवसर प्राप्त गरेकामा खुशी व्यक्त गर्दै धेरै राम्रा अनुभव बटुलेको बताए । उनले आगामी दिनमा पनि समय अनुकुलता अनुसार सेवा गर्न सदा तयार रहेको प्रतिवद्धता व्यक्त गरे ।
प्रमुख अतिथि बटले समाजले गरेको उदाहरणीय कार्यको प्रशंसा गर्दै सबैलाई बधाई तथा धन्यवाद दिए । बेलायतमा सामाजिक अन्तरघुलनसंगै दैनिक जीवन पद्धति सहज बनाउन अत्यन्तै महत्वपूर्ण रहेको अंग्रेजी भाषा प्रशिक्षणबाट जेष्ठ नगारिकहरुले ठूलो लाभ लिएको बताउंदै बटले आगामी दिनमा पनि समाजले गर्ने महत्वपूर्ण कार्यक्रममा आफ्नो सहभागिता र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमको अन्तमा सभापति तथा उपाध्यक्ष शिवकुमार गुरुङले धन्यबाद दिए । उपाध्यक्ष गुरुङले प्रशिक्षणको शुभारम्भ र समापन दुबै कार्यक्रममा आफू सहभागी बन्ने अवसर प्राप्त गरेकोमा खुशी ब्यक्त गर्दै २१ हप्ता भाषा कक्षामा सहभागी भई अंग्रेजी भाषा सिकेकामा सबैलाई बधाइ दिए । यसैगरी उनले भाषा प्रशिक्षणबाहेक अतिरिक्त रोड सेफ्टी, स्वास्थ्य खाना र स्वास्थ्य जीवनशैली कसरी जिउन सकिन्छ भन्ने विषयमा पनि सहभागीले ज्ञान हासिल गरेको बताउंदै रोड सेफ्टी कक्षा सञ्चालन गर्ने सल्लाहकार लेप्टेनेन्ट रि. थमप्रसाद गरुङ र स्वास्थ्य खानपिन/जीवन शैली कसरी जिउने भन्ने विषयमा जानकारी दिने सुश्री मोनिका गरुङलाई पनि धन्यवाद दिएका थिए ।
धन्यवाद ज्ञापनकै क्रममा उपाध्यक्ष गुरुङले प्रशिक्षक गिरी, प्रशिक्षणका संयोजक तथा कम्युनिटी सेन्टरका प्रवन्धक बाबुराम गुरुङ र सह प्रवन्धकद्वय यामबहादुर गुरुङ र इमान घलेलाई पनि धेरै धन्यवाद दिए । यसैगरी प्रशिक्षण सञ्चालनमा सम्पूर्ण आर्थिक ब्यवस्थापनको महत्वपूर्ण पाटो संयोजन गर्न विशेष भूमिका निर्वाह गर्ने तमु समाज युकेका संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्रबहादुर गरुङ र समाजका आर्थिक सल्लाहकार लेखनाथ घिमिरेप्रति पनि आभार ब्यक्त गरेका थिए ।
कार्यक्रमका सभापति तथा उपाध्यक्ष शिवकुमार गुरुङले प्रशिक्षणका लागि सम्पूर्ण आर्थिक सहयोग उपलब्ध तथा प्रायोजन गरिदिने नेशनल लट्री फन्ड तथा बिग लट्री फन्डलाई विशेष आभार व्यक्त गरे । यसै गरि प्रशिक्षण अवधिभर प्रत्येक हप्ता शुक्रबार र समापन कार्यक्रममा सस्तोमा खाना उपलब्ध गराइदिने रारा केटर्सलाई पनि धन्यवाद दिए ।
रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे