
काठमाडौं । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरो डुबानमा परी शनिबार दिउँसोसम्म २८ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । बाढीपहिरोमा परी १६ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन् । बाढी पहिरोमा परेका काठमाडौंमा ४२ जना, उदयपुरमा १० जना, ललितपुरमा ३ जना, सिन्धुलीमा ४ जना, सिराहमा २ जना, भक्तपुर, सुनसरी र मकवानपुरमा १/१ जना गरी ६४ जनाको सकुशल उद्धार गरिएको छ । बाढी र पहिरोबाट २० जिल्ला प्रभावित भएका छन् । काठमाडौं र त्यसपूर्वको भूभागमा बढी प्रभाव परेको छ ।
राजधानी उपत्यकाका अधिकांश ठाउं, पूर्वी र मध्य तराईका धेरैजसो जिल्ला डुबानमा परेका छन् भने बाढी र पहिरोले दर्जनौं ठाउंमा यातायात अवरुद्ध भएको छ । राजधानी जोड्ने राजमार्गमा पहिरो जाँदा सवारी साधन रोकिएका छन् । काठमाडौंबाट बाहिरिएका र भित्रिने सवारी साधन जाममा फसेका छन् । हजारौं यात्रु बिचल्लीमा परेका छन् । डुबानका कारण तराईका जिल्लामा खानेपानीको समस्या हुन थालेको गृह मन्त्रालयले जनाएको छ ।
अविरल पानी परिरहंदा नदी र खोला किनारका बासिन्दामा त्रास फैलिएको छ । नदी र खोलाहरूमा बहाव बढ्दै गइरहेको छ । बाढीपहिरो र डुबानबाट मोरङका ४ सय परिवारका १ हजार जना र बाराका ३५ परिवारका १ सय ७५ जना विस्थापित भई घरबाट अन्यत्र शरण लिन बाध्य भएका छन् । मुलुकभरबाट बाढीपहिरोमा परेका १ सय ५३ जनाको उद्धार गरिएको गृहले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले आइतबारसम्म पानी परिरहने जनाएको छ । विभागले वर्षाबाट नदी र खोलाको बहाव निरन्तर बढ्ने र बाढीपहिरोको खतरा भएकाले सतर्क रहन सर्वसाधारणलाई अपिल गरेको छ । गृह मन्त्रालयले जल तथा मौसम विज्ञान विभागको हवाला दिंदै आइतबारसम्म वर्षा जारी रहने भएकाले नदी र खोला छेउका बस्ती भएका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ । २४ घण्टामा सबैभन्दा बढी सिमरामा ३११ मिलिमिटर वर्षा भएको छ ।
काठमाडौंमा ११५, ओखलढुंगामा १०१, धनकुटामा ७५.५ र भैरहवामा ४३ मिलिमिटर पानी परेको छ ।
खोटाङको खोटेहाङ गाउँपालिका–२ मा पहिरो खस्दा विष्णु राईको घर भत्केर श्रीमती रेखा राई तथा छोराहरू ४ वर्षीय रोमन र ७ महिने रोहन राईको मृत्यु भएको छ । झिसमिसेमै झरेको पहिरोले घरसहित चारैजनालाई बगाएको थियो । विष्णुलाई घाइते अवस्थामा आफन्त र गाउँलेले उद्धार गरेका थिए ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६, मूलपानीको बाबाचोकमा अस्थायी टहरामा बस्दै आएका ३५ वर्षीया शर्मिला यादव, ३० वर्षीया नितु यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु भएको छ । अस्थायी टहरामा बस्दै आएका उनीहरूलाई संगैको बलराम खतिवडाको पक्की घरको प्रोटेक्सन वाल भत्किएर पुरेको प्रहरीले जनाएको छ । शर्मिला र कुन्दन आमा छोरा हुन् । बारा, देवताल गाउंपालिकाकी शर्मिलाको परिवार डेढ वर्षदेखि मूलपानी बस्दै आएको थियो ।
शर्मिलाका पति र देवर मिलेर बाबाचोकमा जग्गा भाडामा लिई ६ महिनाअघि टहरो बनाएर बसेका थिए । घटना हुंदा टहरामा शर्मिला, देउरानी निलु र छोरा कुन्दन मात्र थिए ।
त्यसैगरी भोजपुरको रामप्रसाद राई गाउंपालिका–७ मा पानीको भल पसेर घरको पर्खाल भत्किँदा च्यापिएर ६६ वर्षीय जगतबहादुर राईको मृत्यु भएको छ । पिँढीमा सुतिरहेका बेला उनी च्यापिएको प्रहरीले जनाएको छ । भोजपुरकै टेम्केमैयु गाउँपालिका–९ मा पहिरोमा परी १४ वर्षीय जनक विकको मृत्यु भएको छ ।
काभ्रेको बनेपा ३, चुनातालमा भूकम्पले चर्किएको घर पहिरोले बगाउंदा २ जनाको ज्यान गएको छ । बारीको पाटो बगेर घर पुर्दा रामप्रसाद दंगालकी श्रीमती ५५ वर्षीया गोमा र ७ वर्षीया नातिनी सुहाबीको मृत्यु भएको काभ्रे प्रहरी प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिए । उनकी बुहारी ३० वर्षीया सुशीला र नातिनी ३ महिनाकी अनुष्का घाइते छन् । उनीहरूको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।
धादिङको गजुरी–४, बालुवाडांडामा स्थानीय कृष्णबहादुर तामाङको घर भत्कँदा ८ वर्षीया अस्मिता तामाङको मृत्यु भएको छ भने १२ वर्षीय जयराम तामाङ घाइते भएका छन् । जिल्ला प्रहरी प्रमुख राजकुमार बैदवारका अनुसार जयरामको स्थानीय मेडिकल हलमा उपचार भइरहेको छ । त्यसैगरी आग्रा खोलाको सहायक थाक्रे–३ स्थित निगाले खोलाले बगाएर स्थानीय गोकुल गिरीको मृत्यु भएको छ ।
४५ वर्षीय गिरी खेत रोपेर अपराह्न ४ बजेतिर घर फर्कंदै थिए । साथी बद्री भुजेलसंगै खोला तर्ने क्रममा गिरीलाई बगाएको हो । भुजेललाई समेत बगाए पनि उनी बाहिर निस्कन सकेको प्रहरीले जनाएको छ । झापाको कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाको सिमाना भएर बग्ने कमल खोलाको बाढीले बगाएर इलाम चुलाचुली गाउंपालिका १ का ५० वर्षीय अञ्चल लावतीको मृत्यु भएको छ । बिहान १० बजे घरबाट हिंडेका लावतीको शव बाढीले बगाएर ल्याएको अवस्थामा साँझ फेला परेको छ ।
ललितपुरको वाग्मती गाउंपालिका–२, बगुवामा पञ्चलाल जिम्बाको घर पहिरोमा पर्दा ११ वर्षीय शरद जिम्बाको मृत्यु भएको छ । प्रहरीका अनुसार करिब ११ बजे खसेको पहिरोले जिम्बालाई पुरेको हो । पर्साको सिग्याही खोलाले बगाउँदा पर्सागढी नगरपालिका–१ का मेघराज पटेलका छोरा १० वर्षीय निखिल पटेलको शुक्रबार मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी अनन्तराम शर्माका अनुसार सिग्याही खोलामा बगेर आएको दाउरा छान्ने क्रममा उनलाई खोलाले बगाएको थियो । स्थानीयले उद्धार गरी उपचारका लागि वीरगन्जस्थित गण्डक अस्पतालमा र्पुयाएकोमा उनलाई मृत घोषित गरिएको थियो ।
बाराको परवानीपुर–१ मा शुक्रबार साँझ नालामा डुबेर स्थानीय अरविन्द यादवका १८ महिने छोरा बिक्कीको मृत्यु भएको छ । बर्खाको पानी भरिएको नालामा डुबेका उनलाई गम्भीर अवस्थामा उपचारका लागि वीरगन्ज लैजांदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी रञ्जितसिंह राठौरले जानकारी दिए ।
रुकुम पश्चिमको आठबिसकोट–५ जलिगाडमा पहिरोसंगै खसेको ढुंगाले लागेर कौशिला बस्नेतको मृत्यु भएको छ । शुक्रबार बिहान घरबाट रिम्का जांदै गरेकी १६ वर्षीया बस्नेतको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष प्रजित कामीले जानकारी दिए । उनका अनुसार बस्नेत फारुला भीरमा पहिरोमा परेकी थिइन् । बस्नेत सोही वडाको मिग्रीस्थित सरस्वती माविमा कक्षा ८ मा अध्ययनरत थिइन् । रामेछापमा अविरल वर्षाले गोठ भत्कंदा रामपुरमा शुक्रबार बिहान ७० वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । ४५ वर्षीया असली सुनुवार घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक शेख अदालतले जनाएका छन् ।
त्यसैगरी सिन्धुलीको फिक्कल गाउँपालिका–१ झुल्केमा शुक्रबार पहिरोमा परी ३५ वर्षीया हेमकुमारी सुनुवारको मृत्यु भएको छ । गोठमा काम गरिरहंदा पहिरो खसेपछि गम्भीर घाइते भएकी उनको स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक चक्रबहादुर सिंले जानकारी दिए । पहिरोमा गोठसंगै तीनवटा गाई र केही बाख्रासमेत पुरिएका छन् ।
महोत्तरीको बलवा नगरपालिका–३, बदियाका ७० वर्षीय हमिद मियांको मृत्यु भएको प्रहरीले जनाएको छ । घांस काट्न गएका उनलाई भेलले बगाएको हो । प्रहरीका अनुसार मकवानपुरको थाहा नगरपालिका–४ की सन्तमाया बलामीको खोला तर्ने क्रममा मृत्यु भएको छ भने ओखलढुंगाको सुनकोसी गाउंपालिका–४ का ५५ वर्षीय कुमार राईको खोलाले बगाएर ज्यान गएको छ । रौतहटको गढीमाई नगरपालिका–२ स्थित धरमपुरकी ४५ वर्षीया आनन्दीदेवी दाउरा टिप्ने क्रममा वाग्मती नदीले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ । नदी छेउको ढिस्कोमा बसेर दाउरा टिप्ने क्रममा उनी खोलामा झरेकी थिइन् ।
काठमाडौंको कुलेश्वरमा मनमती खोलाले बगाएर ल्याएको सिलिन्डर निकाल्न जाने क्रममा बाढीले बगाउंदा ३० वर्षीय विनोद चौधरी बेपत्ता भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । पांचथरको मिक्लाजुङ गाउंपालिका–४ मा खोलाले बगाएर ९ वर्षीय दिवन राई बेपत्ता भएका छन् ।
दाजुसँग विद्यालय जाँदै गर्दा नुवाखोला तर्ने क्रममा बगेर उनी बेपत्ता भएका हुन् । मोरङको रंगेलीमा गेउरिया खोलाले बगाएर ३० वर्षीय एक युवक बेपत्ता भएका छन् । झापामा हडिया खोलाले बगाउँदा मेचीनगर नगरपालिका–१४ का ४५ वर्षीय सुफल हस्दा बेपत्ता छन् । भद्रपुर–९ प्रणामीनगरमा खोला तर्ने क्रममा उनलाई बाढीले बगाएका उनको खोजी भइरहेको डीएसपी महेन्द्र श्रेष्ठले बताए ।
यसैगरी सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा खोलाले बगाएर बिहीबार एकजना बेपत्ता भएका छन् । उदयपुर घर भई स्थानीय एक ग्रील उद्योगमा कार्यरत ३५ वर्षीय सागर थापालाई सुकुमारी खोलाले बगाएको हो । स्थानीयका अनुसार खोलामा बाढी बढेपछि उनी माछा मार्न गएका थिए ।
सेना, प्रहरी र सशस्त्र प्रहरीले देशैभरि उद्धार तथा व्यवस्थापनमा केन्द्रित भएका छन् । नेपाल प्रहरीका निमित्त प्रवक्ता एसपी रमेश थापाले संघीय प्रहरीअन्तर्गतका सबै इकाई र दंगा नियन्त्रण टोली उद्धार तथा व्यवस्थापनमा परिचालित भएको बताए । राजधानीमा मात्रै करिब १२ हजार सुरक्षाकर्मी परिचालित छन् ।
‘उद्धारका निम्ति केही जिल्लामा हेलिकप्टर स्ट्यान्डबाई राखिएको छ,’ उनले भने, ‘गृह मन्त्रालय, सेना र सशस्त्र प्रहरीसंग मिलेर प्रभावित क्षेत्रमा उद्धारको काम भइरहेको छ ।’ सशस्त्र प्रहरीले देशका प्रदेश एक, दई, तीन र चारमा अविरल वर्षाको प्रभाव परेको निष्कर्ष निकाल्दै सबै प्रदेशमा उद्धार र व्यवस्थापनमा सशस्त्र प्रहरी परिचालित गरेको छ । सशस्त्र प्रहरीका डीआईजी सुरजकुमार श्रेष्ठले उपत्यका बाहिरका अलावा काठमाडौंका सबै युनिटबाट सशस्त्र प्रहरी परिचालित भएको बताए । कान्तिपुर
नेकपा एमालेको अध्यक्षमा ओली र महासचिवमा पोखरेल निर्वाचित
नेकपा एमालेको ११ औं महाधिवेशन : धमाधम मतगणना, कसलाई कति मत ?
६ वर्षे एमबीबीएसको पूर्ण छात्रवृत्तिका लागि एनआरएनएद्वारा आवेदन आह्वान
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायत पठाउने भन्दै ५२ लाख ठगी गर्ने पोखराका बराइली पक्राउ
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
नेपाल सरकार र जेनजी प्रतिनिधिबीचको सम्झौता मन्त्रिपरिषद् बैठकबाट अनुमोदन
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी