लन्डन । गायिका आनी छोइङ डोल्माको च्यारिटी नाइटबाट करिब ४५ हजार पाउण्ड संकलन भएको छ । बुद्धिष्ट गुम्बा रेडिङ यूकेले रेडिङमा बुद्धिष्ट गुम्बा निर्माण सहयोगार्थ गरेको च्यारिटीमा करिब ९ सय मानिस सहभागी भएका थिए । कार्यक्रम गत ७ जुलाई आइतबार रेडिङ रिभरमेड लिजर कम्प्लेक्समा भएको हो ।
आनीले बुद्ध सम्बन्धि प्रवचन र केही गीत गाएपछि गरिएको ‘ब्रेक’ मा करिब २५ हजार पाउण्ड प्रतिवद्धता आएको बुद्धिष्ट गुम्बा रेडिङ यूके महासचिव एवं कार्यक्रम संयोजक कमल कोने गुरुङले जानकारी दिए । च्यारिटी नाइटको टिकेट शुल्क ५० र १०० पाउण्ड थियो । महासचिव गुरुङका अनुसार, गुम्बा निर्माणका लागि यो च्यारिटी नाइटसहित यसअघिका विभिन्न चन्दामार्फत करिब दुई लाख पाउण्ड संकलन भइसकेको छ ।
बुद्धिष्ट गुम्बा रेडिङ यूके अध्यक्ष इन्सपेक्टर खेमबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त च्यारिटीमा आनी प्रमुख आकर्षण बनेकी थिइन् । उनले ‘फूलको आंखामा फूलै संसार’ सहित अन्य कयौं गीत गाइन् । अन्तिमतिर आमा… बोलको गीत गाउंदा हल स्तब्ध भएको दर्शकहरुले बताएका छन् । आफ्नो सम्पूर्ण जीवन बुद्ध धर्म र मानव कल्याणमा समर्पित गरेकी आनीको प्रवचनले पनि मानिसलाई मन्त्रमुग्ध पारेको थियो ।
आनीलाई लोकप्रिय संगीतकार न्यू बज्राचार्य, वाद्यवादकहरु रमन महर्जन, सुन्दरकुमार महर्जन र प्रिन्स नेपालीले साथ दिएका थिए । कार्यक्रममा संगीतकार बज्राचार्यले पनि आफ्ना चलेका आधा दर्जनजति गीत गाए ।
बुद्धिष्ट गुम्बा रेडिङ यूके महासचिव कमल गुरुङले रेडिङमा गुम्बाको आवश्यकता मध्यनजर गर्दै निर्माण परियोजना अगाडि बढाइएको बताए । यसमा स्थानीय मेयर र काउन्सिलले पनि सहयोगको वचन दिएका छन् । तस्विरहरु- शंकर गुरुङ
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु