प्रेमगाहाले गरे एनआरएनए युकेको अध्यक्षमा उम्मेदवारी घोषणा

लन्डन । गैरआवासीय नेपाली संघ (एआरएनए) युकेको अधिवेशन नजिकिंदै जाँदा उम्मेदवारहरुले विभिन्न पदमा आफ्नो दाबी गर्ने क्रम बढ्दो छ । यसक्रममा वर्तमान उपाध्यक्ष प्रेम गाहा मगरले आगामी कार्यसमितिको अध्यक्ष पदमा आफ्नो उम्मेदवारी रहने घोषणा गरेका छन् । गत आइतबार अल्डरसटस्थित टेम्पटेशन क्लवमा उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

एनआरएनए युकेको नयां कार्यसमितिका लागि आगामी १४ सेप्टेम्बरमा निर्वाचन हुंदैछ ।

उम्मेदवारी घोषणा सभामा विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, आफन्तजन लगायतको उपस्थितिमा गाहा मगरले एनआरएनए युकेलाई थप चुस्त र दुरुस्त राख्दै अझ प्रभावकारी बनाउनु पर्ने आवश्यकता औंल्याउदै २६ वुंदे प्रतिवद्धता प्रस्तुत गरे । उनले विगतमा आफूले आर्जन गरेको अनुभव, ज्ञान, सीपलाई सदुपयोग गर्दै एनआरएनए युकेलाई एक सवल, गतिशील र दूरदर्शी नेतृत्व प्रदान गर्ने दृढ संकल्प व्यक्त गरे ।

साथै, उनले आफ्नो कार्यकालमा नेपाली नागरिकताको निरन्तरतामा आवश्यक पहल गर्ने, भूतपूर्व ब्रिटिश गोर्खा तथा उनीहरुको परिवारको हितमा काम गर्ने, गैरआवासीय नेपालीहरुको नेपालमा रहेको सम्पत्तिको भोगचलन गर्न स्पष्ट कानून व्यवस्था गर्न अभियान चलाइने, नेपालमा लगानी तथा पर्यटन प्रवद्र्धनमा जोड दिइने, हेल्प फर हिरोज् लगायत च्यारिटी कार्यक्रम आयोजना गर्ने, एनआरएनए युकेमा २० हजार सदस्य संख्या पुरयाउने, कार्यालय स्थापना गर्ने, राहतकोषमा ५० हजार जम्मा गर्ने, नेपाल हाउस परियोजनालाई व्युताउंने, स्कील ट्रान्सफरका लागि विशेष पहल गर्ने, स्टुडेन्ट हेल्प डेक्स स्थापना गर्ने, वृद्धवृद्धाहरुका लागि दोभासे प्रवन्ध गर्ने, स्थानीय नेपाली उद्योग तथा व्यवसाय प्रवद्र्धनमा आवश्यक सहयोग गर्ने लगायतका प्रतिवद्धता व्यक्त गरे ।

बिनाका पुनले स्वागत मन्तव्य दिएको घोषणा सभा एनआरएनए यूके महासचिव राजकुमार त्रिपाठीले सञ्चालन गरेका थिए । कार्यक्रममा एनआरएनए युकेका पूर्व उपाध्यक्ष राष्ट्र राई, यति एशोसिएसन युकेका वरिष्ठ उपाध्यक्ष तथा पाल्पाली भन्ज्यांग युकेका अध्यक्ष वाचस्पति रेग्मी, गुल्मी जिल्ला समाज यूके पूर्व अध्यक्ष राम गलामी, संस्थापक अध्यक्ष ओमप्रसाद थापा, वर्तमान अध्यक्ष टोप पल्ली, म्याग्दी अर्गनाइजेशन (मोना) यूके अध्यक्ष दल जुग्जाली, मगर संघ यूके महासचिव रुद्र थापा, तमु धिं यूकेका वरिष्ठ उपाध्यक्ष हितकाजी गुरुङ, मगर संघ यूके पूर्व अध्यक्ष नेम थापा नेप्लिज यूथ यूके अध्यक्ष धिरज राई र महासचिव खगेन थापा, जमघट परिवार यूके अध्यक्ष तीर्थकुमार (ब्रुस) थापा, एनआरएन यूके सचिव तारानाथ भण्डारी, एलिसा लामा, शिव कञ्चर समूहका रोहित गुरुङ, मगर संघ युएचएसबी शाखाका पूर्व अध्यक्ष क्या ताम ढेगा, ग्रेटर रश्मोर नेपाली कम्युनिटीका अध्यक्ष जिव बेल्वासे, मगर संघ युके अध्यक्ष ले.रि. सुनिल राना, नर्दन आयरल्याण्डका एनआरएन अगुवा नारायण कंडेल, तमु धिं युके अध्यक्ष नन्दजङ्ग गुरुङ, स्थानीय रस्मोर बरो काउन्सिलका काउन्सिलर प्रवेश केसी, बाग्लुङ समाज युकेकी अध्यक्ष छविमाया पुन लगायतले शुभकामना दिएका थिए ।

प्रेम गाहा मगर भूतपूर्व गोर्खा सैनिक पनि हुन् । आफ्नो २१ महिने कार्यकालमा कार्यसमितिले दिएको जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने पदाधिकारी मध्येका एक हुन् उनी । कुनै पनि राजनैतिक दलमा आवद्ध नरहेको बताउने गाहा मगर युवाहरुमा लोकप्रिय छन् । बक्सिङ्ग खेलमा राष्ट्रिय स्वर्ण पदक समेत विजेता रहेका गाहा मगरले अहिले एनआरएनए युकेको वर्तमान च्यारिटी विभाग प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् । गाहा मगरले आफ्नो कार्यकालमा बक्सिङ, डिसेबल च्यारिटी, भ्वाइस अफ नेपाल युके टूर जस्ता नयां कार्यक्रम आयोजना गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री