
लन्डन । बेलायती प्रधानमन्त्री टेरेजा मेले १०५९ दिनपछि आफ्नो जिम्मेवारीबाट विश्राम लिएकी छन् । सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताबाट राजीनामा दिएसंगै उनको प्रधानमन्त्री पद पनि ‘कामचलाउ’ भएको छ । ‘ब्रेक्जिट’ पार लगाउन नसक्नु नै उनको राजीनामाको कारक बन्यो ।
मेले ब्याकबेन्च १९२२ कमिटीसमक्ष ७ जुन शुक्रबार राजीनामा दिएसंगै अब पार्टीले उनको उत्तराधिकारी चयन प्रक्रिया अगाडि बढाउने छ ।
संसदमा बहुमत रहेको कन्जरभेटिभ दलको नेता नै प्रधानमन्त्री हुने भएकाले अर्को नेता नचुनिएसम्म मे नै काम चलाउ प्रधानमन्त्री हुनेछिन् । जुलाई २२ सम्म नयां नेता चुनिइसक्ने योजना अनुसार मे अरु ६ साता प्रधानमन्त्रीकै रुपमा रहने बेलायती अखबारहरुले जनाएका छन् ।
युरोपेली संघबाट बेलायतको बहिगर्मन (ब्रेक्जिट) सम्बन्धि सम्झौता संसदबाट पारित गराउने आफ्नो प्रयत्न तीनपटकसम्म विफल भएपछि अन्ततः करिब तीनवर्षपछि मेले पद त्याग्नु परेको हो । जनमत संग्रहमा बहिगर्मन पक्षको जित भएपछि तत्कालिन प्रधानमन्त्री डेभिड क्यामरुनले २४ जुन, २०१६ मा राजीनामा दिएका थिए । क्यामरुनको राजीनामापछि त्यतिबेला गृहमन्त्री रहेकी मेले १३ जुलाई, २०१६ मा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् ।
१० जुनबाट दलको नयां नेता चयन गर्न उम्मेदवारी आव्हानका लागि ब्याकबेन्च १९२२ कमिटीको तयारी छ । नेता बन्ने दौडमा प्रवेश गर्न कम्तीमा ८ जना सांसदहरुले समर्थन गर्नुपर्नेछ जुन यसअघि दुईजनामात्र चाहिन्थ्यो ।
विभिन्न चरणका गोप्य ब्यालेटबाट जितेर आउने टोरी सांसदमध्ये दुईजनाको प्रतिष्पर्धा पार्टी सदस्यहरुको मतबीच हुनेछ । कन्जरभेटिभका ३१३ सांसद र करिब एक लाख ६० हजार सदस्य छन् ।
अहिलेसम्म बोरिस जोन्सन, माइकल गोभ, जेरेमी हन्ट, म्याट हयानकक, एन्ड्री लिड्सम, डोमिनिक राब, सजिद जाविद, इस्थर म्याकभे, रोरी स्टेवार्ट, मार्क हार्पर लगायत ११ जनाले दलको नेता लड्ने घोषणा गरेका छन् ।
युरोपियन युनियनसंग आफूले गरेको ब्रेक्जिट सम्झौता संसदबाट पारित गराउन कयौं प्रयास गरेपनि असफल भएपछि मेलाई राजीनामा दिन आफ्नै टोरी र विपक्षी लेबर पार्टीबाट व्यापक दवाव परेको थियो । टोरीको ब्याकबेन्च १९२२ कमिटी अध्यक्ष सर ग्राहम ब्राडीले प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा भेटेर पद त्याग्ने समय मागेपछि मेको नाटकीय पद त्याग घोषणा भएको थियो ।
प्रधानमन्त्री मेले गत २४ मेमा राजीनामा दिने घोषणा गर्दा भावुक हुंदै ब्रेक्जिट सम्झौता पारित गर्न नसकेकामा पश्चाताप लागेको बताएकी थिइन् । आफ्नो उत्तराधिकारीले जनमत संग्रहको भावना अनुरुप ब्रेक्जिट प्रक्रिया टुंग्याउन सकुन् भन्ने चाहना मेको छ ।
ब्रेक्जिटका कारण तीन वर्ष समयावधि मेका लागि निकै तनावपूर्ण रह्यो । गत डिसेम्बरमा आफ्नै दलका ४८ सांसदले मेविरुद्ध संसदमा अविश्वास प्रस्ताव समेत दर्ता गरे यद्यपि उनले विश्वासको मत जितिन् । सन् १९९७ मा मेडनहेड सांसद निर्वाचित भएपछि ६२ वर्षीया मेको राजनीतिक करिअर प्रधानमन्त्रीसम्म पुगेर विश्राम लिने मोडमा पुगेको छ । मार्गरेट थ्याचरपछि मे ब्रिटेनको दोश्रो महिला प्रधानमन्त्री भएकी थिइन् ।
महारानी एलिजावेथ द्वितीयले शासन गरेयता ग्रेट ब्रिटेनमा १५ जना नयां प्रधानमन्त्री भइसकेका छन् । तर यहां कस्तो राजनीतिक संस्कार छ भने एक पटक प्रधानमन्त्री पद बाट बहिर्गमन भएको नेता पुनः उही पदमा कहिल्यै फर्कंदैन ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
एनबीसी यूकेले अपांग बालबालिकाको सहयोगार्थ १२ अप्रिलमा ‘शुभकामना साँझ’ गर्ने
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत