मिस इंग्ल्याण्ड यात्रामा प्रतिष्ठा

लन्डन । बेलायतको एउटा प्रतिष्ठित सौन्दर्य प्रतिष्पर्धा ‘मिस इंग्ल्याण्ड’ मा नेपाली सहभागिता यसअघि खासै सुनिएको थिएन् । ०१९ को संस्करणमा भने सेमिफाइनल पुगेर प्रतिष्ठा ‘तृष’ राउत ‘पब्लिक फिगर’ बनेकी छन् । ‘मैले सोचेभन्दा राम्रो रेस्पोन्स र नेपाली समुदायको माया, सपोर्टले खुशी छु’, उनले सुनाइन् । अहिले नेपाली डायस्पोरा 
प्रतिष्ठालाई बधाइसंगै पब्लिक भोट दिन व्यस्त 
छ ।

बेलायत अल्डरसट निवासी २६ वर्षीया प्रतिष्ठा फोटो हिट चरण पार गरेर सेमिफाइनल पुगेकी हुन् । यही मे २६ तारिख लेस्टर टाइगर्स स्टेडियममा करिब अढाइ दर्जन 
सुन्दरीबीच हुने प्रतिष्पर्धाले उनी फाइनल पुग्ने नपुग्ने निर्धारण गर्दैछ । यसअघि १६ जुनमा दि ग्राण्ड होटल ब्रिस्टोलमा तय भएको इभेन्ट अगाडि सरेपछि प्रतिष्ठा झन् तनावमा छिन् । ‘दिन नजिकिएकाले अलिक नर्भसनेस् भएको छ’, उनले भनिन् ।

सेमिफाइनलमा च्यारिटी क्वीन, इको ड्रेस राउण्ड, ब्ल्याक ड्रेस राउण्ड, इन्टरभ्यू राउण्ड र पब्लिक भोटिङ गरि ५ राउण्ड हुनेछ । तिनै राउण्डको आधारमा ५ देखि १० जना फाइनलमा भिड्नेछन् । गत वर्ष मिस इंग्ल्याण्डमा भाग लिन करिब २२ हजारले आवेदन दिएका थिए ।

च्यारिटी क्वीन टाइटिलका लागि उनले मानसिक स्वास्थ्यमा काम गर्ने ‘पापीरस’ च्यारिटीलाई १२ सय पाउण्ड संकलन गरिसकेकी छन् । बेलायतको नेपाली समुदायमा मेन्टल हेल्थबारे जनचेतना जगाउने उद्देश्यले पनि उक्त च्यारिटी चुनेको प्रतिष्ठाले जनाइन् ।

हङकङमा जन्मिएकी प्रतिष्ठा ५ वर्षको उमेरदेखि बेलायत बस्न थालेकी हुन् । भूपू ब्रिटिस गोर्खा प्रकाश राउत र मिना राउतकी एक्ली छोरी उनले १६ वर्षमै मोडलिङ थालेकी थिइन् ।

युनिभर्सिटी अफ ब्राइटनबाट इन्टेरियर आर्किटेक्चरमा ब्याचलर उत्तिर्ण प्रतिष्ठा पेशाले प्लोर प्लान आर्किटेक्ट हुन् । उनले गत वर्ष बेलायतको चर्चित फार्नबोरो एयर शोको फलोर प्लान गरेकी थिइन् ।

छिट्टै रेजिडेन्सियल हाउजिङ आर्किटेक्ट फर्म खोल्ने र मोडलिङ पनि एक साथ अगाडि बढाउने सोच उनको छ । करिअर र अध्ययनमा फोकस गर्नुपरेकाले नेपाल जाने आउने क्रम कम भएको उनले बताइन् । दुई वर्षअघि तीन महिना स्वयंसेवकका रुपमा नेपाल गएपनि डस्ट एलर्जीले दुई सातामै फर्कनु परेको उनले स्मरण गरिन् । बेलायतमै हुर्किएपनि नेपाली संस्कृति, संस्कार र भेषभूषा उनलाई प्रिय लाग्छ । बाबा आमासंग नेपाली इभेन्ट्समा गइरहन्छिन् उनी ।

उनलाई फिल्म र म्यूजिक भिडियोबाट अफर आइसकेका छन् । ‘तर फिल्मको स्कृप्ट मन परेन’, उनले खुलाइन्, ‘म्यूजिक भिडियोमा पनि अफर आएको थियो तर किस सिन गर्न मलाई कम्फर्टेबल भएन ।’ बाबु आमा अलिक रिलेजिएस भएकाले पनि उनलाई उत्ताउलो दृश्यमा रुची छैन् ।

फूर्सदमा साथीहरुसंग आउटिङ मनपर्छ उनलाई । गत वर्ष ११ वटा युरोपेली देश घुमेकी प्रतिष्ठा यो वर्ष समरमा भने मिस इंग्ल्याण्ड प्रतियोगिताको चटारोले कतै जान पाइनन् ।

अचेल उनलाई थरिथरीका प्रस्ताव आउन थालेका छन् । तन्नेरीका प्रेम प्रस्तावदेखि विवाहित पुरुषका कफी पिलाउने अफरसम्म । ‘मैले अपरिचित एकजनालाई फेसबुकमा एसेप्ट नगरेपछि धनीलाई मात्र एसेप्ट गर्ने हामी गरिबसंग त बोल्न पनि नहुने है भन्ने म्यासेजसम्म आयो’, प्रतिष्ठाले भनिन्, ‘म रिलेसनसीपमा छैन्, करिअरमा फोकस हुने बेला यस्तो कुरामा अल्झनु पनि हुन्न ।’ कान्तिपुर साप्ताहिक

प्रतिक्रिया

सम्बन्धित सामाग्री