सोमबार, माघ १० २०७८ | Mon, January 24, 2022
नेपालको समय: ०६:०६ | UK Time: 00:21

बेलायतमा श्रीमद्भागवत महापुराण तयारी

वीनेपाली
२०७६ जेठ ४ गते २१:५७

प्राध्यापक सुवेदी

लन्डन । प्राध्यापक सूर्यप्रसाद सुवेदी (ओबिइ क्यूसी) ले अर्को महिना बेलायतमा एउटा वैदिक यज्ञ गर्ने भएका छन् । आफ्ना पिताजीको सतवार्षिकीको अवसरमा पूज्य पिता स्वर्गीय पण्डित होमनाथ सुवेदी तथा माताजी स्वर्गीय टुकादेवी सुवेदीको वैकुण्ठवासको कामना गर्दै उहांहरुको सम्मान र सम्झनामा आठ दिनसम्म यज्ञ गर्न लागिएको हो ।

यज्ञमा प्रा. सुवेदीले पण्डित जगदीश पौडेलबाट ७ दिनसम्म श्रीमद्भागवत महापुराण श्रवण गर्ने, आफ्ना दाजु प्राध्यापक देवीप्रसाद सुवेदीबाट दीक्षामन्त्र लिई ६ पयाबाट ९ पयाको यज्ञोपवित (जनै) धारण गर्ने र द्यौ शान्ति अन्तरिक्षगुं शान्ति, पृथ्वी शान्ति आदिको वैदिक मन्त्रले कामना गरेझैं संसारमा शान्तिको कामना गर्दै हवन गर्ने कार्यक्रम छ ।

उच्च रुपमा शिक्षित र दीक्षित भएपछि र गृहस्थाश्रम पुरा गर्न लागेको समयमा ९ पयाको जनै धारण गर्ने सुवेदी कुलको परम्परा अनुसार प्रा. सुवेदीले दीक्षा मन्त्र लिई ९ पयाको जनै धारण गर्ने भएका हुन् ।

वैदिक परम्परा अनुसार तीन पयाले देवताहरु ब्रम्हा, विष्णु महेश्वरको प्रतिनिधित्व गर्छन् भने अर्को तीन पयाले देवीहरु गायत्री, सरस्वती र सावित्रीको प्रतिनिधित्व गर्दछन् । त्यसपछिको तीन पयाले ऋगवेद, यर्जुवेद र सामवेदको प्रतिनिधित्व गर्दछन् भने जनैमा भएको गन्थी (जसलाई ब्रम्ह गाथा भनिन्छ) त्यसले अथर्व वेदको प्रतिनिधित्व गर्दछ ।

गायत्रीले वौद्धिकता, सरस्वतीले विद्धता र सावित्रीले व्यवहारिक कार्यको सफलता प्रदान गर्ने मान्यता छ । यज्ञोपवित धारण गर्ने प्रत्येक ब्राम्हणले गुरु ऋण, पितृ ऋण र ऋषी ऋण तिर्ने प्रतिवद्धताका साथ सोही अनुसारको आचरणमा बस्ने परम्परा छ ।

‘प्रथमे नार्जिता विद्या, द्धितिये नार्जितम धनं, तृतीय 
नतप स्तप्तम चर्तुथे किंकरिस्यती’ अर्थात जिन्दगीको २५/२५ वर्षका भागमध्ये पहिलो अवधिमा विद्या आर्जन नगरेमा, जीन्दगीको मध्यकालमा धन आर्जन नगरेमा र तेश्रो अवधिमा यज्ञ, यज्ञादी पूण्य कार्य नगरेमा जीन्दगीको अन्तिम वा चौथो कालमा के नै पो गर्न सकिन्छ र भन्ने धार्मिक मान्यता अनुसार हालै ६० वर्ष नाघेका प्राध्यापक सुवेदीले यो वैदिक यज्ञ गर्न लागेका हुन् ।

यसका साथै लमजुंग जिल्लामा शिक्षाको ज्योति बाल्नमा अग्रणी भूमिका निर्वाह गर्ने धर्मशास्त्रवीद स्वर्गीय पण्डित होमनाथ सुवेदीको सम्मान र सम्झनामा नेपालमा शतवार्षिकी स्मृतिसभा र स्मृतिग्रन्थ प्रकाशन गर्ने कार्यक्रम पनि छ ।

प्राध्यापक सुवेदी बेलायतको लिड्स विश्वविद्यालयमा 
अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक र बेलायतका ब्यारिष्टर पनि हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक