लन्डन । बेलायतमा यसै साता स्थानीय निकायको निर्वाचन सकिएको छ । इंगल्याण्ड र नर्दन आयरल्याण्डका स्थानीय निकायबाट ८ हजार ७९८ काउन्सिलर निर्वाचित भएकामा ६ जना नेपाली मूलका बेलायतीहरु काउन्सिलर बन्न सफल भएका छन् भने त्यति नै संख्यामा पराजित पनि भएका छन् ।
१० वर्ष अघिसम्म एकदुई जनामात्र नेपाली मूलका काउन्सिलर हुने गरेकामा अहिले करिब एक दर्जनको संख्यामा नेपाली मूलका काउन्सिलर पाइनुले नेपाली मूलका बेलायतीहरुको राजनीतिमा राम्रै रुचि र सहभागिता रहेको प्रष्ट्याउंछ । किनभने युकेमा नेपालीहरुको संख्या हवात्तै बढेको एक दशक मात्र भएको छ । यस अवधिमा एक जना नेपाली मूलका बेलायतीले संसदीय निर्वाचनमा समेत भाग लिने मौका पाइसकेका छन् ।
निर्वाचित ६ काउन्सिलर
मे २ मा भएको स्थानीय निकायको निर्वाचनमा विजय हासिल गर्न पाउने नेपाली मूलका काउन्सिलरहरुमा प्रवेश केसी रसमुर बोरो काउन्सिल, दिनेश खड्का मेडिस्टोन काउन्सिल, राम खजुम लिम्बु ब्राकनेल फोरेस्ट काउन्सिल, गोवर्धन सिलवाल डाकोराम काउन्सिल, टासी भुटिया मेडवे काउन्सिल र जगन्नाथ शर्मा कोलवर्न टाउन काउन्सिल रहेका छन् । यसमध्ये केसी, खड्का र खजुम पहिलोपटक निर्वाचित भएका हुन् भने सिलवाल, भुटिया र शर्मा पुन निर्वाचित भएका हुन् ।
पार्टी फेर्दा कसैलाई फाइदा, कसैलाई घाटा
रसमुर काउन्सिलका काउन्सिलर प्रवेश केसी यसअघि पनि सोही काउन्सिलमा काउन्सिलरका उम्मेदवार बनी पराजित भएका थिए । त्यतिबेला उनी लेबर पार्टीबाट उम्मेदवार रहेका थिए । यसपटक उनले पार्टी परिवर्तन गरी कन्जरभेटिभ पार्टीबाट टिकट पाए र निर्वाचित बने । तर केसीको फर्मुला पहिलो नेपाली मूलका काउन्सिलर धन गुरुङको हकमा भने लागू भएन । लिवरल डेमोक्रयाटिक पार्टीबाट काउन्सिलरमा निर्वाचित गुरुङ यसपटक पार्टी परिवर्तन गरी कन्जरभेटिभका तर्फबाट फोक्सटोन काउन्सिलमा उम्मेदवार थिए तर उनले जित भने हासिल गर्न सकेनन् ।
लेबोरबाट कसैले जितेनन्
बेलायतका दुई प्रमुख राजनीतिक दलमध्ये कन्जरभेटिभ पार्टीबाट केही नेपाली मूलका बेलायती उम्मेदवार बनी काउन्सिलर पनि भए तर अर्को ठूलो दल लेबोरबाट उम्मेदवार बनेकाहरुले भने चुनाव जित्न सकेनन् । जसमा आसफोर्डका धन रोगु र कप्रसाद छन्त्याल, गिलफोर्डकी आकांक्षा गुरुङ र हार्टकी लीला सेलिङ माबो छिन् । अहिले नेपाली मूलका काउन्सिलरहरुमा हाउन्स्लोका विष्णु गुरुङ एक मात्र छन् । यसअघि लेबोरबाट निर्वाचित अर्का काउन्सिलर बच्चुकैलाश कैनी भने यसपटक चुनाव लडेनन् । गत संसदीय निर्वाचनमा उम्मेदवार रहेका कैनी सायद फेरि अर्को संसदीय निर्वाचनका लागि शक्ति संचयमा छन् कि ? यसअघि कन्जरभेटिभबाट निर्वाचित नवीन सिवा पनि यसपटक उम्मेदवार बनेनन् ।
एक घन्टाका लागि काउन्सिलर !
आसफोर्ड काउन्सिलको गोर्डिङटन वडाबाट लेबोर पार्टीका तर्फबाट काउन्सिलर उम्मेदवार रहेका कप्रसाद छन्त्यालले चुनावमा जित होला भन्ने सोचेका थिएनन् । मे २ मा निर्वाचन सकिएपछि उनी मतगणनामा पनि बसेनन् । मे ३ मा उनी नेपाल जांदै थिए त्यसकै प्याकिङमा लागे उनी तर दिउंसो उनलाई फोन, सोसल मिडियाबाट बधाई आउन थाल्यो । उनी छक्क परे के भइरहेको छ भनेर । बधाई दिनेहरुले केन्टबाट प्रकाशन हुने केन्ट अनलाइनमा समाचार हेरेका रहेछन् जहां भुलवश तेस्रो स्थानमा रहेका छन्त्यालको मत विजेता उम्मेदवारसित साटिएको रहेछ । पछि एक घन्टापछि अनलाइनले समाचार सच्यायो जसमा कन्जरभेटिभका पीटर फेसी विजयी भएको बताइएको छ । छन्त्याल ११७ मतका साथ तेस्रो स्थानमा छन् ।
अन्त्यमा
बेलायतमा काउन्सिलर बनेका केही नेपाली मूलका काउन्सिलरहरु कोही नेपाली समुदायमा धेरै नै सक्रिय छन् भने कोही गुमनाम झैं । टासी भुटिया पटकपटक काउन्सिलर भए (सायद धन गुरुङ पछि काउन्सिल बन्ने नेपाली मूलका उनै होलान्) तर नेपाली समुदायमा उनी देखिँदैनन् । त्यसको विपरीत केही काउन्सिलरहरु चाहिँ अधिकार सीमित भए पनि के के न पाइयो भने जस्तो गरी प्रचारप्रसारको बिगुल फुक्ने गर्छन् । केहीलाई सांसद नै बनेजस्तो भ्रम छ र उनीहरु बेलायती राजनीति सिकाउंदैछन् । जे होस् बेलायतमा नेपालकै सिको गरि कुटिल नेपाली राजनीति ‘फलो’ गर्नुभन्दा त स्थानीय नै भएपनि नेपाली विस्तारै बेलायतको राजनीतितिर अगाडि बढेका छन् ।
‘भोजपुर प्रतिभा सम्मान’ राईलाई र पुरस्कार गन्धर्वलाई प्रदान गर्ने भोजपुर प्रतिभा प्रतिष्ठान बेलायतको निर्णय
नेपालमा प्रतिनिधिसभा निर्वाचन आउन ६४ दिन बाँकी : ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै