लन्डन दूतावासमा नेपाल विकास सम्मेलनको छैठौं श्रृंखला

लन्डन । लन्डनस्थित नेपाली दूतावासले शुक्रबार सांझ आफ्नै भवनमा नेपाल विकास सम्मेलनको छैठौं श्रृंखला सम्पन्न गरेको छ । बेलायती तथा नेपाली व्यवसायीलाई नेपालमा सामूहिक लगानी, व्यापार व्यवसाय र पर्यटन प्रवर्धनका लागि दूतावाले सम्मेलनलाई निरन्तरता दिएको हो ।

समारोहका प्रमुख अतिथि तथा लन्डनका लर्ड मेयर पिटर एस्लिनले विश्वकै अग्ला हिम चुचुराहरुका साथै अत्यन्त मिलनसार मानिसहरु बसोबास गर्ने नेपाल ब्रिटेनको एउटा निकट मित्रराष्ट्र भएको बताए । उनले यसअघि आफूले २ पटक नेपालको भ्रमण गरिसकेको र आउंदो सेप्टेम्बर महिनामा फेरी नेपाल भ्रमणमा जान लागेको बताए । नेपालमा जल विद्युत, पूर्वाधार तथा फोहर व्यबस्थापन लगायतका क्षेत्रमा लगानी गर्न ब्रिटिश लगानीकर्ताहरु इच्छुक रहेको उनले बताए । 
ब्रिटेनले नेपालको आर्थिक समृद्धिमा सघाउन जारी राख्नेमा पनि उनले जोड दिए ।

सहभागीहरुलाई स्वागत गर्दै बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुबेदीले ब्रिटेन र नेपालबीच कायम ऐतिहासिक सम्वन्ध जनस्तरमा पनि बलियो बन्दै गएको बताए । उनले राजनीतिक स्थिरताका कारण पनि वैदेशिक लगानीका लागि नेपाल एउटा आकर्षक गन्तव्य बनेको र गत मार्च महिनामा काठमाडौंमा सम्पन्न लगानी सम्मेलनले लगानीकर्ताहरुका लागि उत्साहको वातावरण सिर्जना गरेको बताए । उनले आउंदो वर्ष नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सपरिवार नेपाल भ्रमण गर्न ब्रिटिश मित्रहरुलाई आग्रह पनि गरे ।

नेपाली अत्यधिक बसोवास गर्ने अल्डरसटबाट प्रतिनिधित्व गर्ने सांसद लियो डोचर्टीले आफ्नो निर्वाचन क्षेत्रमा झन्डै १५ हजार भूतपूर्व गोर्खा तथा तिनका परिवार बसोबास गरिरहेको जनाए । उनले यो ब्रिटेनमा आप्रवासी समुदायको अत्यन्त सफल एकीकरणको एउटा उदाहरण भएको पनि बताए । उनले भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन वृद्धि गर्ने विषय आफूले संसदमा उठाउंदै आएको र हालै ब्रिटिश सरकारले ब्रिटिश गोर्खाहरुको पेन्सनमा उल्लेख्य वृद्धि गरेको बताए । उनले सरकारले नेपालमा बसोबास गरिरहेका भूतपूर्व गोर्खा तथा तिनका परिवारको औषधि उपचारमा सघाउन ब्रिटिश सरकारले अढाई करोड पौण्ड खर्च गर्न लागेको पनि जनाए ।

यूके नेपाल फ्रेन्डशिप सोसाइटीका अध्यक्ष एलन मार्सेल स्यांकाले सन् २०२१ मा ब्रिटेनमा गर्न लागिएको जनगणनामा नेपालीहरुलाई छुट्टै समुदायको रुपमा गणना गर्न लागिएको जनाए । विभिन्न स्थानमा बसोबास गर्ने नेपालीहरुको संख्या कति छ भन्ने थाहा भए पछि मात्रै उनीहरुलाई आवश्यक सेवा, सुविधाबारे योजना बनाउन सकिने भएकाले जनगणनामा कोहि पनि न छुट्न उनले आग्रह गरे ।

नेपालको परराष्ट्र मन्त्रीका सल्लाहकार सुदन ज्ञवालीले राजनीतिक परिवर्तनपछि वर्तमान सरकारले आर्थिक समृद्धिलाई मुख्य प्राथमिकता दिएको जनाउंदै विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न सहज खालको कानून बनाइएकाले नेपाल आउन अपिल गरे ।

कार्यक्रममा व्यापार तथा लगानी सम्वन्धि विभिन्न ६ वटा प्रस्तुति पनि गरिएको थियो । आफ्नो प्रस्तुतिमा फार्नबरोस्थित कम्पनी जिनर्जीका प्रमुख कार्यकारी अधिकृत सेवानिवृत्त मेजर टिकेन्द्र दल देवानले बेलायतको अत्यन्त प्रतिष्पर्धी उर्जा बजारमा पनि आफूहरुले ग्राहकहरुको मन जित्न सफल भएको बताए । उनले झन्डै पांच वर्ष अघि भूतपूर्व गोर्खाहरुले स्थापना गरेको कम्पनीले ग्राहकहरुको घरघर मै ग्यांस तथा विद्युतको सुपथ र भरपर्दो सेवा प्रदान गरिरहेको बताए । उनले ब्रिटिश गोर्खा वेलफेयर सोसाइटीका सदस्यहरुले नेपालमा सार्दी १ र सार्दी २ जलविद्युत योजनामा लगानी गरेको र ती योजनाको निर्माणमा कुनै वाधा खेप्नु नपरेको पनि बताए ।

कार्यक्रममा यूके नेपाल फ्रेन्डसीप सोसाइटीका रणनीतिक सल्लाहकार डा रेमण्ड डेभिस, द्विदियनोल लिमिटेडका सीइओ वेन क्रम्पटन, नेमिन इनर्जी लिमिटेडकी सीइओ सुजन बाउर्न, थिंग्स टु डु इन लिमिटेडका सीइओ पल नाश तथा सिटी अफ लन्डनका वित्तिय समन्वयकर्ता डा मेइरियन मोर्गन लगायतका वक्ताले आफ्नो कम्पनीका गतिविधि र नेपालमा लगानीका अवसरहरुबारे बोलेका थिए ।

बेलायती भूमिमा नेपाली फुटबल टिम खेल्ने ऐतिहासिक घोषणा
उक्त कार्यक्रममा इंग्ल्याण्ड फुटबल एसोसियसनको न्याशनल लिग सिस्टमका प्रमुख लरेन्स सी जोन्सले मानिस र समुदायहरुलाई जोड्ने फुटबल एक सुन्दर खेल भएको बताउंदै आउंदो वर्ष ३० मे २०२० मा इंगल्याण्ड सी टिम र नेपालको राष्ट्रिय फूटबल टिम बीच बेलायतमा ऐतिहासिक खेल हुने घोषणा गरेका छन् । नेपाली फूटबल टोलीले वेम्ली स्टेडियमको भ्रमण गर्ने, नेपाली दूतावासले सो टोलीको सम्मानमा विशेष स्वागत समारोह आयोजना गर्ने तथा सो 
भ्रमणलाई फुटबल तथा नेपाली संस्कृतिको महोत्सव को रुपमा मनाइने पनि उनले बताए । त्यस्तै सन् २०२१ मा इंगलिश फुटबल टोलीले नेपाल भ्रमण गर्ने पनि उनले जनाए ।

जोन्सले इंगल्याण्ड फुटबल एसोसिएसनले नेपालमा फुटबलको विकासमा सघाउन एन्फालाई प्राविधिक सहयोग तथा परामर्श दिने पनि बताए । उनले इंगल्याण्ड फुटबल एसोसिएसनले ब्रिटेनमा बसोबास गर्ने सबै एसियाली समुदायहरुसंग सहकार्य गर्न चाहेको बताउंदै यसबारे यसै महिना दोश्रो एसियाली समावेशी योजना सार्वजनिक गरिने पनि उनले जनाए ।

दूतावासमा उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको उक्त कार्यक्रममा विदेशी तथा नेपाली गरि सयौं सहभागी थिए । कार्यक्रममा राजदूत डा. सुवेदीले अतिथी र कलाकारहरुलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरेका थिए । सो अवसरमा स्थानीय कलाकारले विभिन्न नेपाली मौलिक नाच र नेपालबाट आएका राष्ट्रिय कलाकारहरु प्रिती आले र कृष्ण काफ्लेले गायन प्रस्तुत गरे । दिपासाले पनि आकर्षक नृत्य गरिन् ।

तस्विरहरु- मिलन तमु

प्रतिक्रिया

सम्बन्धित सामाग्री