बिहीबार, माघ ६ २०७८ | Thu, January 20, 2022
नेपालको समय: २३:०२ | UK Time: 17:17

मह जोडीलाई वसुन्धराश्री र मानश्री प्रदान गर्ने निर्णय

वीनेपाली
२०७६ वैशाख ७ गते १८:२६

लण्डन  । सुप्रसिद्ध कलाकार तथा हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई वि.सं.२०७६ सालको वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ । वसुन्धरा-मान प्रज्ञाप्रतिष्ठानका कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा वैशाख ६ गते बसेको विशेष बैंठकले उक्त निर्णय  गरेको हो। 

श्रेष्ठलाई नेपाली हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाली भाषा, कला र रङ्गमञ्चको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गरेकोमा वसुन्धराश्री पुरस्कार प्रदान गर्ने निर्णय गरिएको प्रतिष्ठानले जनाएको छ । पुरस्कारको साथमा नगद ५० हजार रुपिंयासहित सम्मानपत्र अर्पण हुनेछ ।

त्यसै गरी. बैठकले नेपाली हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई अझ स्तरीय, शालीन र समृद्ध बनाई नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरी नेपाली कला र रङ्गमञ्चका क्षेत्रमा आफ्नो अलग्ग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गर्नुहुने सुविख्यात कलाकार तथा हास्यव्यङ्ग्यकार हरिवंश आचार्यलाई वि.सं. २०७६ सालको मानश्री पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको साथमा नगद ५० हजार रुपियासहित सम्मानपत्र अर्पण हुने छ ।

वि.सं.२००७ साल वैशाख ७ गते काठमाण्डौको जीतपुरफेदीमा जन्मनु भएका विशिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ एवं वि.सं. २०१४ साल कार्तिक २७ गते काठमाण्डौको टंगालमा जन्मनु भएका विशिष्ट कलाकार हरिवंश आचार्यले संयुक्तरुपमा यमलोक, प्यारालाइसिस, अंशवण्डा, कक-फाइट, रद्धीको टोकरी, रङ नम्वर, प्रश्नोत्तर, शपथग्रहण, ऐना, विज्ञापन, लण्डन एयरपोर्ट, वडा नं. ३४, श्राद्ध, पिकनिक, अभिभावक, सङ्गीत, रिमोट कन्ट्रोल, नेपालबन्द, काउकुती, नाता, २०५, बोसे आन्द्रे भुँडीको, होस्टेहैंसे, सालिक, महदोहोरी र राष्ट्रिय गाउँखाने प्रतियोगिताजस्ता कालजयी हास्यव्यङ्ग्य सिर्जना गरी जीवन्त रङ्गमञ्चीय प्रस्तुति दिनुभएको छ।

सुप्रसिद्ध कलाकार श्रेष्ठ र आचार्यले वासुदेव, के घर के डेरा, लोभीपापी, ट्रक ड्राइभर, शत्रु गते र दालभात तरकारीजस्ता सफल नेपाली चलचित्रहरुमा अविस्मरणीय अभिनय एवं फिप्टीफिप्टी, सन्तति,  216777, भकुण्डे भूत, दशैं, पन्ध्र गते, चिरन्जीवी, रात, वनपाले, सुर-बेसुर, कान्तिपुर, राजमार्ग, पानी,  कालाजार, असली लोग्ने, लक्ष्मी, लालपूर्जा, सृष्टि, जलपरी, भाइरस, टिकेको तीन मन्त्र र महचौतारीजस्ता लोकप्रिय नेपाली टेलिचलचित्रहरुको लेखन, अभिनय र निर्माण गर्नुभएको छ। 

स्रष्टाद्वय श्रेष्ठ र आचार्यले संयुक्त रुपमा ‘महसञ्चार’ नामक कला र रङ्गमञ्चसम्वद्ध संस्थाको स्थापना र सञ्चालनका साथै हास्यव्यङ्ग्यकृति ‘महसन’ को लेखन समेत गर्नुभएको छ ।    

यसअघि वसुन्धराश्री पुरस्कार कविवर माधवप्रसाद घिमिरे (वि.सं.२०५७), वरिष्ठ उपन्यासकार दौलतविक्रम विष्ट (वि.सं. २०५८), वरिष्ठ कथाकार तथा नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ (वि.सं. २०५९) वरिष्ठ समालोचक यदुनाथ खनाल (वि.सं. २०६०), वरिष्ठ आख्यानकार मदनमणि दीक्षित (वि.सं. २०६१), वरिष्ठ उपन्यासकार डायमनशमशेर राणा (वि.सं. २०६२),वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई (वि.सं. २०६३), वरिष्ठ कवि मोहन कोइराला (वि.सं. २०६४), वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी (वि.सं. २०६५), वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान (वि.सं.२०६६), वरिष्ठ कवि श्री वैरागी काइँला (वि.सं. २०६७), वरिष्ठ कवि धर्मराज थापा (वि.सं. २०६८), वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठी (वि.सं. २०६९), वरिष्ठ चित्रकार शशी शाह (वि.सं. २०७०), वरिष्ठ कलाकार हरिप्रसाद रिमाल (वि.सं. २०७१), वरिष्ठ संगीतकार अम्वर गुरुङ्ग (वि.सं. २०७२), वरिष्ठ आख्यानकार श्री लीलबहादुर क्षेत्री (वि.सं. २०७३), वरिष्ठ समालोचक प्रा. डा. तारानाथ शर्मा (वि.सं. २०७४) र वरिष्ठ गायक प्रेमध्वज प्रधान (वि.सं. २०७५) लाई प्रदान भइसकेको छ ।

त्यसैगरी प्रतिष्ठानले यसअघि मानश्री पुरस्कार कवि तथा गीतकार दिनेश अधिकारी (वि.सं. २०५७), साहित्यकार विनय रावल (वि.सं २०५८), नाटककार अशेष मल्ल (वि.सं २०५९), गजलकार ज्ञानुवाकर पौडेल (वि.सं. २०६०), साहित्यकार श्री मञ्जुल (वि.सं. २०६१), कथाकार मधुवन पौडेल (वि.सं. २०६२), कवि विष्णुविभु घिमिरे (वि.सं. २०६३), कवि कृष्णभूषण बल (वि.सं. २०६४), कथाकार भुवन ढुंगाना (वि.सं. २०६५), कथाकार सनत रेग्मी (वि.सं. २०६६), कवि विजय बजिमय (वि.सं. २०६७), समालोचक डा. रामदयाल राकेश (वि.सं. २०६८), कथाकार डा. वेञ्जु शर्मा (वि.सं. २०६९), चित्रकार किरण मानन्धर (वि.सं. २०७०), कलाकार नीर शाह (वि.सं. २०७१), गायक दीप श्रेष्ठ (वि.सं. २०७२), साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ (वि.सं. २०७३), साहित्यकार तथा सञ्चारकर्मी खगेन्द्र नेपाली (वि.सं. २०७४) र गायक भक्तराज आचार्य (वि.सं. २०७५) लाई प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक