चार सांसदको नेकपा यूकेद्वारा स्वागत

लण्डन । नेपाल कम्यूनिस्ट पार्टी बेलायतले नेपालका चार सांसदलाई संयुक्त रुपमा स्वागत गरेको छ । प्रवासी नेपाली मंच, जनप्रगतिशील मंच तथा एनआरएनए यूकेले संयुक्त रुपमा सांसदहरुलाई स्वागत गरेको हो ।

तिनै संस्थाले बेलायतस्थित अल्डरसटमा एक कार्यक्रम गरि सोमबार साँझ स्वागत तथा अन्तरक्रिया गरेको थियो ।
उक्त कार्यक्रममा प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति अध्यक्ष पूर्णकुमारी सुवेदीले औद्योगिक मूलकले प्राकृतिक स्रोत साधनको बढी प्रयोग गर्दा जलवायूमा परिवर्तन हुन थालेको बताइन् । उनले जलवायू परिवर्तनको असरका कारण नेपालका तराईका जिल्लामा दुखदायी घटना भएको जनाइन् । सांसद सुवेदीले प्रवासी नेपालीसँग भएका ज्ञान र क्षमता मातृभूमीमा खर्च गर्न पनि अनुरोध गरिन् ।

अर्का सांसद राधा ज्ञवालीले आफूले प्रवासवाटै नेपाली राजनीति सुरु गरेको जनाउदै गैरआवासीय नेपालीसँग काम गर्न पार्टी तयार रहेको बताइन् । उनले गैरआवासीय नेपालीले पाउने नागरिकतामा राजनैतिक बाहेकका सवै अधिकार रहने उल्लेख गरिन् ।

सांसद घनश्याम खतिवडाले नेपाली राजनीति र राजनीतिकर्मीलाई खबरदारीको खाँचो औल्याए । उनले राजनीति शुद्धिकरण गर्न प्रवासवाट खवरदारी आवश्यक रहेको जनाए ।

सांसद राजवहादुर बुढाले राजनीतिक परिवर्तन भएपनि जनजीविकाका सवालमा नेकपा सरकारले थुप्रै काम गर्न वाँकी रहेको बताए । उनले नेकपा सरकारले चुनावी म्यान्डेटअनुसार जनताका लागि काम गर्न नसके इतिहास बनेर जाने ठोकुवा गरे ।

पोखरा उपनगरपालिकाका मेयर मानवहादुर जिसीले मुलुक संघीयतामा गएपनि संविधान अनुसार स्थानीय तहमा अधिकार आउन नसकेको गुनासो गरे ।

प्रवासी नेपाली मंचका अध्यक्ष राजेन्द्र पुडासैनीले सांसदहरुलाई स्वागत गरेका थिए । मंचका सल्लाहकार सुष्मा राईले संचालन गरेको स्वागत कार्यक्रमको जनप्रगतीशिल मंचका अध्यक्ष सुरेश गौतमले अध्यक्षता गरेका थिए ।

सोही, कार्यक्रममा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले नेपाल सरकारसँग एनआरएनए मिलेर काम गर्न चाहेको बताए । एनआरएनए यूके उपाध्यक्ष शेर सुनवारले चार सांसद र मेयर जिसीलाई मायाको चिनोसहित स्वागत गरेका थिए ।

समिति सभापति पूर्णकुमारी सुवेदी नेतृत्वमा सांसदहरु खतिवडा, बुढा, ज्ञवाली वेलायत आएका छन् । जलवायु परिवर्तन, वातावरण संरक्षणलगायतका विषयमा बेलायतको विल्टन पार्कमा आयोजित ग्रिन संसदमा भाग लिन उनीहरुको टोली लन्डन आएको थियो ।

कार्यक्रममा नेपाली दूतावास लन्डनका प्रतिनिधि लव सुवेदी, एनआरएनए यूके उपाध्यक्ष पुनम गुरुङ, उपाध्यक्ष सुशीला राई, पूर्व अध्यक्ष सूर्य गुरुङ, संरक्षक योगेन क्षेत्री, एनआरएनए हेल्थ एण्ड सेफ्टी विभागका थर्क सेनलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री