बेलायती फंस्दैछन् सामाजिक सञ्जालको लतमा

लन्डन । विश्वमा सोसियल मिडिया (फेसबुक ट्वीटर, इन्सटाग्राम, वाट्सएप आदि) को प्रयोग बढ्दो छ । एक तथ्यांक अनुसार सन् २०१९ भित्र यसका प्रयोगकर्ता विश्वभर करिब २ दशमलव ७७ बिलियन पुग्ने अनुमान छ । सन् २०१७ मा यो 
संख्या २.४६ बिलियन थियो ।

बढ्दो लोकप्रियतासंगै यसका नकारात्मक पक्षले चिन्ता समेत थपेको छ । विश्व जनसंख्याको झण्डै ४५ प्रतिशत 
जनसंख्या सोसियल मिडियाको लतमा फंसिरहंदा बेलायत पनि यसबाट अछुतो रहेन ।

बेलायतमा सोसियल मिडिया प्रयोगकर्ता करिब ४५ मिलियन छन् जुन कुल जनसंख्याको ६७ प्रतिशत हुन आउंछ । बेलायतीहरु दिनमा सरदर २८ पटक तिनका मोबाइल फोन हेर्छन् जसले मानसिक स्वास्थ्यमा असर परिरहेको औंल्याइएको छ । सोसियल मिडिया प्लेटफर्मका सकारात्मक पक्षसंगै यसको बढ्दो प्रयोगले कालान्तरमा मानिसलाई बेखुशी र अलग गराउने विज्ञहरुको राय छ ।

सोसियल मिडियाले थाहै नपाइ मानिसको मानसिक स्वास्थ्यमा असर गरिरहेको विज्ञहरुको धारणा छ । मानसिक स्वास्थ्य अलवा आत्मसम्मान, सुताइ, स्मरण शक्ति, एकाग्र हुन यसले नकारात्मक प्रभाव पारिरहेको हो ।

बेलायती मल्टी नेशनल इन्सुरेन्स कम्पनी ‘अभिभा’ ले दुई हजार जनामा गरेको एक सर्वेक्षणमा बेलायतका आधा भन्दा बढि वयस्कले प्रत्येक रात करिब ६ घण्टामात्र सुत्न सक्ने बताएका छन् । यसमध्ये १८ प्रतिशतले सिरानी छेउ स्मार्टफोन राख्दा त्यसले निन्द्रा ब्युंझाइरहने जनाएका छन् । पुरुष भन्दा २२ प्रतिशत बढि महिलाले सिरानी छेउ स्मार्टफोन राखेर सुत्ने गरेको अध्ययनमा पाइएको छ ।

५ मा एकजना बेलायतीले अपुग निन्द्रामा स्मार्टफोनलाई दोष दिएका छन् किनभने सोसियल मिडिया चलाउने लतले फोन 
‘अफ’ गरेर सुत्न कठिन बनाइदिएको छ । विज्ञहरुले ८ घण्टाभन्दा कम सुत्ने मानिसलाई क्यान्सर, मधुमेह वा डिप्रेसनको जोखिम हुने औंल्याएका छन् ।

बेलायतको युनिभर्सिटी अफ सरेका प्राध्यापक साइमन आर्चर 
‘इलेक्ट्रोनिक डिभाइस’ बाट निस्कने निलो प्रकाशले निन्द्रा जगाउने हार्मोनलाई बिथोल्छ जसले गर्दा मानिसहरु निदाउन 
संघर्ष गर्छन् ।

दि रोयल कलेज अफ साइक्याट्रिष्टले बालबालिकालाई खाना खाने समय सोसियल मिडिया र सुत्न जानु भन्दा एक घण्टा अगाडिबाट प्रविधि प्रयोग रोक्न सुझाएको छ ।
उक्त निकायका भनाइमा मानिसको मुड, बानी व्यहोरा, खानपान र सुताइमा सामाजिक सञ्जालको नकारात्मक प्रभाव बढि छ ।

बेलायत सरकारले सोसियल मिडिया कम्पनीहरु जस्तै इन्सटाग्राम, ट्वीटर र फेसबुकलाई छिट्टै नियमन गर्ने योजना घोषणा 
गर्ने अपेक्षा गरिएको छ । गत महिनामात्र ब्रिटिश संसदको विज्ञान तथा प्रविधि समितिले एक प्रतिवेदन प्रस्तुत गर्दै सामाजिक सन्जाल सन्चालन गर्ने कम्पनीहरुले प्रयोगकर्ताको स्वास्थ्य तथा सुरक्षामाथि ध्यान पुराउन कानुन बनाउन आवश्यक रहेको औंल्याएका थिए ।

सांसदहरुले सामाजिक सन्जाल सञ्चालन गर्ने कम्पनीहरुमाथि अनुगमन गर्न एउटा नयां नियामक निकाय बनाउन तथा आचारसंहिता पालना नगर्ने कम्पनीहरुविरुद्ध जरिवाना 
गर्ने अधिकार दिन पनि सिफारिस गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री