चारभञ्ज्याङ समाजद्वारा टेलिमेडिसिन स्थापनार्थ च्यारिटी

लन्डन । चारभञ्ज्याङ्ग तमु समाज युकेले पर्वत चारभञ्ज्याङ्गको खाल्टेस्थित टेलिमेडिसिन सेन्टर सहयोगार्थ च्यारिटी डिनर आयोजना गरेको छ ।
विशेषगरी शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यका साथ गत ३० मार्च सांझ अल्डरसटस्थित एम्पायर हलमा विविध सांस्कृतिक कार्यक्रमका साथ सो च्यारिटी डिनर आयोजना गरिएको हो ।
कार्यक्रममा नेपालको संसदको कृषि सहकारी तथा प्राकृतिक श्रोत समितिकी सभापति सांसद पूर्णकुमारी सुवेदीले प्रमुख अतिथिको आसनबाट चार भञ्ज्याङ्ग तमु समाज युकेले आफ्नो गाउंका लागि गरेको महत्वपूर्ण कामको प्रशंसा गरिन् ।
कार्यक्रममा अध्यक्ष मेजर (रि) कृष्ण बहादुर गुरुङले सन् २०१३ सालमा स्थापना भएको टेलिमेडिसिनबाट त्यस क्षेत्रका स्थानीय जनताहरु लाभान्वित भैरहेको बताउंदै सबैको उपस्थिति र सहयोगका लागि धन्यवाद दिए । त्यस्तै, चारभञ्ज्याङ्ग समाज नेपालका सल्लाहकार समेत रहेका डा. योगेन्द्रराज रिजाल, एनआरएनए युकेका अध्यक्ष योगकुमार फगामी, तमुधिं युकेका अध्यक्ष नन्दजंग गुरुङ र समाजका संरक्षक नारायण कोन्मे तमुले शुभकामना मन्तब्य राखेका थिए ।
नेपाली दूतावास लण्डनका द्वितीय सचिव लव सुवेदीको समेत विशेष उपस्थिति रहेको कार्यक्रममा विभिन्न तह र विषयमा ग्रयाजुएसन गरेका ५ जना समाजका विद्यार्थीलाई हौसलास्वरुप खादा लगाई प्रशंसापत्र प्रदान गरिएको थियो । त्यस्तै, जिसिएसई परीक्षामा उत्कृष्ट अंक ल्याएका समाजका दुईजना भाइबहिनीलाई एकेडेमिक अवार्डबाट सम्मान गरिएको थियो । उनीहरु दुवै जनालाई जनही १५० पाउण्ड नगद पुरस्कार समेत प्रदान गरिएको हो ।
विविध सांस्कृतिक प्रस्तुति समेत गरिएको कार्यक्रममा अतिथि कलाकारको रुपमा क्यूओजिएलआरले खुकुरी डान्स, स्थानीय ब्रिटिश नागरिक लुसी तथा डोन र लीना गुरुङको समूहले आर्कषक नृत्य प्रस्तुत गरे । त्यस्तै, इभोलुजन ग्रुप बेजिङ्गस्टोक र समाजका भाइबहिनीहरुले समेत नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा राफल ड्र समेत खेलाइएको थियो । सो राफल ड्रका पहिलो विजेतालाई सुनको औठी, दोस्रोलाई सुनको चन्द्रमा र तेश्रोलाई नाडी घडी उपहार प्रदान गरिएको थियो ।
कार्यक्रममा समाजमा सल्लाहकार क्याप्टेन कृष्ण गुरुङ, निवर्तमान अध्यक्ष ह.ले.चन्द्रबहादुर गुरुङ र तमु धिं युकेका निवर्तमान अध्यक्ष तथा समाजका सल्लाहकार ज्ञामबहादुर गुरुङलाई चारभञ्ज्याङ्ग सम्मान अवार्डबाट सम्मान गरिएको थियो । त्यस्तै, कार्यक्रममा तमुधिं युकेका नवनिर्वाचित अध्यक्ष नन्दजङ्ग गुरुङ तथा आमा समूहकी अध्यक्ष जगतमाया गुरुङलाई खादा लगाई सम्मान गरिएको थियो ।
पर्वतको लामे, भंगरा, दाद्र र थानामौला गाउं चारभञ्जाङ्ग भित्र पर्दछ । सोही चारभञ्जाङ्ग क्षेत्रबाट बेलायत आइ बसेका गुरुङहरुले चार भञ्ज्याङ्ग तमु समाज युके गठन गरेका हुन् । बेलायतको च्यारिटी कमिसनमा दर्ता रहेको सो समाजले विभिन्न च्यारिटीमुलक कार्य गर्दै आएको छ । साथै, सो समाजले स्थापना गरेको टेलिमेडिसिन सेन्टरमा देशविदेशका विज्ञ चिकित्सकहरुले टेलिसम्पर्क मार्फत स्वास्थ्य परीक्षण गर्दै आएका छन् ।
शिक्षा र स्वास्थ्यमा सहयोग गर्ने उद्देश्यका साथ आयोजित च्यारिटी डिनर कार्यक्रमका लागि अपेक्षा गरिए अनुसार आर्थिक सहयोग संकलन भैरहेको अध्यक्ष मेजर (रि) गुरुङले जानकारी दिए । उनका अनुसार सो परियोजनाका लागि उपस्थिति नभए पनि धेरै व्यक्ति र संघसंस्थाले अनलाइनमार्फत आर्थिक सहयोग गरिरहेका छन् ।
चारभञ्ज्याङ्ग तमु समाजका अध्यक्ष मेजर (रि) कृष्ण बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजका उपाध्यक्ष मदन गुरुङले स्वागत मन्तब्य दिएका थिए भने महासचिव दुर्गा गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री