लन्डन । लन्डन बस्दै आएकी गायिका अन्जु श्रेष्ठको आफ्नै रचनामा बिल्कुलै नयां गीत ‘जांदैछु’ को भिडिओ बजारमा आएको छ । उक्त म्यूजिक भिडियो सोमबार सार्वजनिक गरिएको हो ।
उक्त गीतमा सुनिल राईको संगीत छ भने चर्चित कलाकारद्वय केकी अधिकारी र बसुन्धरा भुसालको मार्मिक अभिनय छ । राष्ट्रिय कलाकारहरुको सशक्त अभिनय र गीतका कारण उक्त भिडियो दर्शकले रुचाउने विश्वास गायिका श्रेष्ठलाई छ ।
ओखलढुंगामा जन्मिएर गाईघाट र राजबिराजमा हुर्केकी श्रेष्ठ वाल्यकाल देखि नै गीत संगीतमा एकदम रुची राख्थिन् । सानैदेखि गीत, कविता, कथा लेखन, चित्रकला र नाच उनका प्राथमिकता थिए ।
सन् १९९३ मा पहिलो पटक हङकङमा उनको आफ्नै रचनामा गीत रेकर्ड भएको थियो । सन् २००६ मा बेलायत आउनु अघि उनले एउटा गीति एल्बम पनि सार्वजनिक गरेकी थिइन् भने उनको रचनाका गीत अरु कयौं कलाकारले गाइसकेका छन् । हालै बेलायतमा निर्मित चलचित्र ‘एटीन’ मा पनि उनको रचनाको एउटा गीत सामेल छ जसलाई धेरैले रुचाएका छन् । आफ्नो श्रीमान र सन्तानबाट सधैं ‘सपोर्ट’ पाएकाले यस क्षेत्रमा अघि बढ्न सजिलो भएको बताउंछिन् अन्जु ।
उनले ‘मिसेस नेपाल यूके २०१७’ प्रतियोगितामा आफ्नो एकल अभिनयमा नाटक प्रस्तुत गरेर १६ जनालाई पछि पार्दै ‘मिसेस ट्यालेन्ट’ को उपाधि जितेकी थिइन् । जसमा उनको आफ्नै कथा र निर्देशन थियो । त्यसपछि उनको कथा र निर्देशनमा दुईवटा नाटक बेलायतमा सफलतापूर्वक मञ्चन भए । पहिलो नाटक उनीसहित मिसेस नेपाल यूके २०१७ को टिमले भक्तपुरस्थित मस्तिष्क पक्षघात भएका बालबालिकाको सहयोगार्थ र दोश्रो नाटक एनआरएनए यूकेले शारीरिक अपांगता भएका व्यक्तिहरुको सहयोगार्थ गरेको थियो जसलाई दर्शकले औधि रुचाएका थिए ।
सन् २०१५ मा नेपालमा गएको महाभूकम्पको दुःख अनि पीडामा केन्द्रित भएर बनाइएको नाटक ‘समयदृश्य’ मा पनि उनले एक पीडितको जीवन्त अभिनय गरेर सबैको मन जितेकी थिइन् । उनी काल्पनिक भन्दा पनि यथार्थलाई प्राथमिकता राखेर गीत लेख्ने गर्छिन् ।
हाल बेलायतमा विभिन्न संघ संस्थामा आवद्ध भएर थुप्रै सामाजिक र च्यारिटी कार्यक्रममा संलग्न उनी समाजका लागि केहि गर्नुपर्छ भन्ने मान्यता राख्छिन् ।
भिडियो-
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा