अन्तर्राष्ट्रिय नारी दिवसमा विविध कार्यक्रम

राष्ट्रिय शभागृह भृकुटीमण्डपमा शुक्रवार महिला बालबालीका तथा जेष्ठ नागरिक मन्त्रालयद्धारा १०९औं अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा उपस्थित राष्ट्रपति विद्यादेवी भण्डारी लगायत । तस्बिर-प्रदीपराज वन्त, रासस

काठमाडौँ, २४ फागुन – सञ्चारमाध्यम भित्र र सञ्चारमाध्यमार्फत सबैतिर महिला सहभागिताको महत्वलाई प्राथमिकता दिई सहभागिता बढाउन दबाब दिने उद्देश्यले आज यहाँ पदयात्रा गरिएको छ ।

‘समावेशी सञ्चार- महिलामत्रै व्यवहार’ मूल नाराका साथ फ्रिडम फोरम, नेपाल वातावरण पत्रकार समूह, नेपाल पत्रकार महासङ्घ, सञ्चारिका समूहलगायत विभिन्न १७ सङ्घसंस्थाको संयुक्त आयोजनामा भृकुटीमण्डपबाट शुरु भएको पदयात्रा भद्रकाली, शहीदगेट, न्यूरोड हुँदै वसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो । पदयात्रामा सहभागी सञ्चारकर्मी तथा अधिकारकर्मीले ‘महिलाका लागि पुरुषको योगदान के ?’ भन्ने प्लेकार्ड बोकेका थिए । सञ्चारमाध्यममा महिला सहभागिताका लागि सबैले अफ्नो तर्फबाट गर्दै आएको पहललाई अझ बलियो र सामूहिक बनाउन पदयात्रा गरिएको फ्रिडम फोरमले जनाएको छ ।

पदयात्रापछि आयोजित कोणसभामा नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्ट, फ्रिडम फोरमका अध्यक्ष हरिविनोद अधिकारी, सञ्चारिका समूहका अध्यक्ष नितु पण्डित, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुली, नेपाल खेलकूद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्य, फोनिजका अध्यक्ष दण्ड गुरुङलगायतले समाचार कक्ष, व्यवस्थापन, नेतृत्व र नीतिगत तहमा महिला सहभागिता बढाउन यस्ताखाले अभियानले सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा महिलासम्बन्धी कविता तथा नृत्य प्रस्तुत गरिएको थियो ।

नारी दिवसमा सांस्कृतिक कार्यक्रम

चिनिया राजदूतावासद्वारा १०९ औँ अन्तराष्ट्रिय नारी दिवसका अवसरमा शुक्रबार आयोजित शुभकामना आदानप्रसाद तथा विशेष सांस्कृतिक कार्यक्रममा नेपालका चिनिया राजदूत हउ यान्छीसँग सेल्फी लिंदै सहभागीहरु । तस्वीर – रासस

एक सय नवौँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपालका लागि चिनियाँ राजदूतावासले शुभकामना आदानप्रसाद तथा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

दूतावासले आज आयोजना गरेको सो कार्यक्रमको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उद्घाटन गर्नुभयो । मन्त्री थापाले नेपालको संविधानले राज्यको प्रत्येक निकायमा महिलालाई ३३ प्रतिशत हक सुनिश्चित गरेको बताउनुभयो । उहाँले नेपालको संविधानले महिलालाई कानूनीरुपमा हकअधिकार दिएको र कार्यान्वयन गर्नका लागि सरकारले प्रयास गरिरहेको उल्लेख गर्नुभयो ।

नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले नेपाल–चीनबीच सम्बन्ध र सहकार्य विगतदेखि नै रहँदै आएको र दुई मुलुकको विकास र मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा पनि कायम राख्ने बताउनुभयो । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिलाको अर्थतन्त्र, राजनीति तथा समानता आदिका लागि दिएको योगदान महत्वपूर्ण रहेको स्मरण गर्दै दुई मुलुकले महिलाको विकासका लागि सहकार्य गर्दै आएको र सन् २०१८ मा २६० महिलालाई चीन सरकारले तालीम प्रदान गरेको जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकारको क्षेत्रमा निकै काम गरेको आफूले पाएको राजदूत यान्छीले बताउनुभयो । उहाँले नेपाली महिलाको कामप्रतिको दृढताको प्रशंसा गर्नुभयो । सो अवसरमा राजदूत यान्छीले नेपाली गीतमा नृत्यसमेत गर्नुभएको थियो । विभिन्न सांस्कृतिक प्रस्तुतिसमेत प्रस्तुत गरिएको थियो । दिवसका अवसरमा विभिन्न राजनीतिक दलका नेत्री तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री