सडक दुर्घटना बढेकामा सांसदहरु चिन्तित

दार्चुला तिंकर सडकअन्तर्गत दुहुँ– ३ राताकाठामा शुक्रबार भएको जीप दुर्घटनापछि ११ जनाको ज्यान गएको छ । एकै परिवारका तीन जनाको ज्यान जाने गरी दुर्घटना भएपछि आफन्तहरु जिल्ला अस्पताल दार्चुलामा शोकाकुल बनेका छन् । तस्वीर- नरेन्द्रसिह कार्की, दार्चुला, रासस

काठमाडौँ, १८ फागुन – सरकारी निकाय र निर्माण व्यवसायीले सडक निर्माणमा ध्यान दिन नसक्दा दैनिकजसो नै दुर्घटना बढिरहेको भन्दै प्रतिनिधिसभाका सदस्यले सरकार र सदनको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सुदूरपश्चिमको पहाडी जिल्लामा सडक निर्माणको काम प्रभावकारी हुन नसक्दा दैनिकजसो नेपाली नागरिकले अकालमा ज्यान गुमाउनु परेको भन्दै उहाँहरुले तत्काल सुधारको काम गर्न र कानूनीरुपमा कडा व्यवस्था गरी व्यावहारिक कार्यान्वयन गर्न माग गर्नुभयो ।

बैठकको विशेष समयमा सांसदहरुले शुक्रबार दार्चुलामा भएको जीप दुर्घटनामा परी ११ जनाको ज्यान गएको र एक गम्भीर घाइतेको उपचार भइरहेको सदनलाई जानकारी गराउँदै सडक निर्माणमा लापर्बाही गर्ने निर्माण व्यवसायीलाई कारवाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो ।

सांसद गणेशसिंह ठगुन्नाले निर्माण व्यवसायीको लापर्बाहीका कारण स्थानीय नागरिकले कष्टकर रुपमा यात्रा गर्न बाध्य भएको भन्दै समस्या समाधान गर्न माग गर्नुभयो । उहाँले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन, घाइतेको उपचारको प्रबन्ध गर्न र सडक निर्माणमा लापर्बाही गर्ने निर्माण व्यवसायीलाई कारवाहीको दायरामा ल्याउन माग गर्नुभयो ।

महाकाली राजमार्गअन्तर्गतको दार्चुला टिंकर सडकखण्ड विसं २०६४ देखि निर्माण शुरु भए पनि हालसम्म पूरा हुन सकेको छैन । निर्माण व्यवसायीले समयमा काम नगरेको भन्दै स्थानीयवासी समस्यामा परेको र सदरमुकामबाट पाँच किलोमिटरको दूरीमा नै जीप दुर्घटनामा परेको सांसद ठगुन्नाको भनाइ छ ।

यस्तै सांसद दिलेन्द्रप्रसाद बडूले पनि दार्चुलामा जीप दुर्घटनामा परी ११ जनाको असामयिक निधन भएको भन्दै सडक निर्माणमा निर्माण व्यवसायीले लापर्बाही गरेको बताउनुभयो ।

उहाँले आफूले पटकपटक सो सडक निर्माणमा लापर्बाही भएको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराएको भए पनि कहीँकतैबाट सुनुवाइ नभएको भन्दै गुनासो गर्नुभयो ।

आर्थिक वर्ष २०७४-७५ को बजेटबाट सो सडकखण्डको निर्माण भइरहेको र चालू आवको बजेट कहिले प्राप्त हुने हो भन्दै सांसद बडूले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले सडक निर्माणमा देखिएको समस्या समाधान गरी दुर्घटनारहित बनाउनुपर्ने र दोषी देखिएका जो कोहीलाई पनि कानूनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने बताउनुभयो ।

बैठकमा सचिव गोपालनाथ योगीले प्रतिनिधिनिधिसभामा नै उत्पत्ति भएका र राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित तीन वटा विधेयक टेबुल गर्नुभयो । ती विधेयकमा ‘केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०७५’ ‘ नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ र ‘निवृत्तभरण कोष विधेयक, २०७५’ रहेका छन् ।

दार्चुला घट्नाले दाहाल मर्माहत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दार्चुलाको दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति जिप दुर्घटनामा परी ११ जनाको मृत्युको खबरले आफू अत्यन्त मर्माहत भएको बताउनुभएको छ ।

आज एक वक्तव्य जारी गर्दै उहाँले दुर्घटनामा परी निधन हुनुभएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । दुर्घटनामा परी निधन भएका व्यक्तिका परिवारजनलाई उचित क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराउँदै अध्यक्ष दाहालले नेपालका पहाडी भू–भागमा भइरहेका यसप्रकारका सडक दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित सबैमा आग्रह गर्नुभएको छ ।

सवारी क्षमताभन्दा बढी यात्रु बोक्ने र सडकको अवस्था विचार नै नगरी यातायात सञ्चालनको अनुमति दिँदा यसप्रकारको दुर्घटना भई जनधनको क्षति भइरहेकाप्रति सचेत गराउँदै उहाँले देशैभरीका सडकको स्तरोन्नति गरी सुरक्षित सडकका रुपमा विकास गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री