बेलायतमा आप्रबासी सङ्ख्या १५ बर्षपछि अत्यधिक उच्च

लण्डन, बेलायत, १६ फागुन – यूरोपेली संघबाहिरबाट बेलायत पुग्ने आप्रबासीको सङ्ख्यामा १५ बर्षपछि यस बर्ष अत्यधिक वृद्धि देखिएको बिहीबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले पछिल्लो समय जारी गरेको लामो समय बेलायत बसोबास गर्न जाने आप्रबासी सङ्ख्यामा एक बर्षको अन्तरालमा सन् २०१८ को सेप्टेम्बर अन्त्यसम्ममा छ लाख २७ हजार आप्रबासी बेलायत पुगेका र तीन लाख ४५ हजार आप्रबासी बाहिरिएको तथ्याङ्कमा उल्लेख छ ।

यसरी हेर्दा बेलायतमा रहने आप्रबासी सङ्ख्यामा दुई लाख ८३ हजार थप भएको देखिएको छ । तथ्याङ्क अनुसार धेरै व्यक्ति बेलायतमा एक बर्षभन्दा बढी रहने गरी गएका छन् ।

तथ्याङ्कको बिश्लेषण गर्दा खुद आप्रबासीको आप्रवासन र बिदेश गमनको तथ्याङ्कमा सन् २०१६ को अन्त्यपछि स्थिरता देखिएको छ ।

तर कार्यालयले भनेको छ, आप्रबासी सङ्ख्यामा यूरोपेली संघ आवद्ध राष्ट्रबाट बेलायत जाने र अन्य मुलुकबाट बेलायत जाने तथ्याङ्कमा परिवर्तन देखिएको छ । बेलायतका लागि यूरोपबाट जाने आप्रबासीको तुलनामा अन्य मुलुकबाट बेलायत जाने नागरिकको सङ्ख्या सन् २००४ पछि पहिलोपटक बढी देखिएको छ । काम र पढाइका शिलशिलामा बेलायत आउने आप्रबासी सङ्ख्यामा विगत पाँच बर्ष यता बढ्दो क्रममा रहेको अध्ययनले देखाएको छ ।

सन् २००९ पछि पहिलो पटक सन् २०१८ मा बेलायत पुग्ने यूरोपेली नागरिकको सङ्ख्यामा क्रमश कमी आएको पाइएको छ ।

मध्य तथा पूर्वी यूरोपेली मुलुक, जसलाई इयूका आठ मुलुकबाट पनि चिन्ने गरिन्छ, का नागरिकको बेलायत आउनेभन्दा छोड्ने क्रम बढेको देखिएको छ । फर्किनेमा सन् २००४ पछि बेलायत आएर बसोबास गर्दै आएका यूरोपेली आप्रबासीहरू रहेका छन् ।

सन् २०१४ पछि बेलायतमा कामका लागि आउने व्यक्तिको सङख्याभन्दा विद्यार्थी भिषामा आउने यूरोपेली आप्रबासीको सङ्ख्यामा वृद्धि रहेको पनि तथ्याङ्कमा छ । समग्रमा बेलायत पुग्ने आप्रबासीमा पछिल्लो समय धेरै विद्यार्थीहरू रहने गरेको पनि जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री