लण्डन । काठमाडौंस्थित ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणले बुद्ध पूर्णिमालाई अन्तर्राष्ट्रिय ध्यान दिवसका रुपमा मनाउन आह्वान गर्नुभएको छ।
गत साता वाशिङटन डिसीमा संयुक्त राज्य अमेरिकाकालागि नेपाली राजदूत डा. अर्जुन कार्कीद्वारा आयोजित एक समारोहमा बोल्दै स्वामी अरुणले योग र ध्यानको सन्देश लिएर आफुले संसारभरि भ्रमण गरिरहेको बताउनुभयो।
उहाँले भगवानको जन्मस्थल नेपालले बैशाख पूर्णिमालाई बुद्ध जयन्तीको रुपमा मनाउन संयुक्त राष्ट्र संघमा एक प्रस्तावको रुपमा लैजान ढीला गर्न नहुने बताउनुभयो। कार्यक्रममा उपस्थित अमेरिकाकालागि श्रीलङ्का तथा म्यानमारका राजदूतहरुले नेपाल सरकारले राष्ट्रसंघमा त्यस्तो प्रस्ताव ल्याएमा आफ्नो मुलुकको तर्फबाट पूर्ण समर्थन हुने बताएका थिए।
“बुद्धका शिक्षाको सान्दर्भिकता” विषयमा बोल्दै स्वामी अरुणले २५०० वर्षभन्दा अघि गौतम बुद्धले सिकाएको ध्यानको विधि तनाव र व्यस्तताबीच बाँचीरहेका आजको मनुष्यकालागि अरु सान्दर्भिक रहेको बताउनुभयो। उहाँले बुद्धको शिक्षा वैज्ञानिक र मानव स्वभावको विश्लेषणमा आधारित रहेकाले सैयौं वर्षपछि पनि त्यो लोकप्रिय भैरहेको बताउनुभयो। स्वस्थ शरीरकालागि योग र स्वस्थ मनकालागि ध्यान आवश्यक छ भन्दै स्वामी अरुणले सबैलाई दैनिक २० मिनट योग, २० मिनट प्राणायाम तथा २० मिनट ध्यान गर्न आग्रह गर्नुभयो। उहाँले नेपालमा आध्यात्मिक पर्यटनको प्रचुर संभावना रहेको बताउँदै ध्यान र योग सिक्न ओशो तपोवनमा वर्षेनी ८० भन्दा बढी मुलुकका मानिसहरु आइरहेको जानकारी पनि दिनुभयो।
कार्यक्रममा राजदूत कार्कीले विश्वभरि घुमेर ध्यानको सन्देश फैलाउने स्वामी अरुणको प्रयासको सह्राहना गर्नुभएको थियो।
यसअघि स्वामी अरुणले न्यूयोर्कस्थित नेपाली नियोग पुगेर अन्तर्राष्ट्रिय ध्यान दिवस मनाउन प्रस्ताव कसरी लैजान सकिन्छ भन्नेबारे छलफल गर्नुभएको थियो। नियोग प्रमुख निर्मलराज काफ्ले लगायत अन्य अधिकारीहरुले त्यसबारे जानकारी गराउनुभएको थियो।
सो अवसरमा बोल्दै स्वामी अरुणले बौद्ध पूर्णिमालाई विश्व ध्यान दिवसको रुपमा मनाउने प्रस्ताव राष्ट्र संघबाट पारित भएमा त्यसले बुद्धको सन्देश संसारभरि फैलाउन मदत पुग्ने र बुद्धको जन्मथलोका रुपमा नेपाललाई विश्वभरि चिनाउने बताउनुभयो।
यसैबीच अमेरिकाको भर्जिनिया राज्यस्थित स्प्रिंगफिल्ड शहरमा बुद्ध पूर्णिमालाई अन्तर्राष्ट्रिय ध्यान दिवसको रुपमा मनाउने घोषणा गरिएको छ । स्वामी आनन्द अरुण उपस्थित समारोहमा भर्जिनियाको लाउडन काउन्टीका प्रतिनिधि, सिनेटर, हाउसका प्रतिनिधि लगायतले बुद्ध पूर्णिमालाई अन्तर्राष्ट्रिय ध्यान दिवसको रुपमा मनाउने घोषणा गरेका थिए । बैशाख पूर्णिमा भगवान बुद्धको जन्म, निर्वाण तथा उहाँले शरीर छाडेको दिन हो ।
कार्यक्रममा काउन्टीको तर्फवाट बोर्ड अफ सुपरभाइजर फिलिस जे. र्यान्डल, भर्जिनिया हाउस अफ डेलिगेटका जन जे बेल, राज्य सिनेटर जेनिफर वोयस्को, स्वामी आनन्द अरुण, नेपाली समुदायतर्फवाट भर्जिनिया निवासी हरि शर्मा र ओशो सन्यासी सुर्वण पन्तले घोषणापत्रमा हस्ताक्षर गरेका थिए ।
सो कार्यक्रममा सिनेटर वोयस्कोले भर्जिनिया राज्यका विद्यालयहरुमा ध्यानका विधिहरु समावेश गर्ने योजना सुनाएकी थिइन् । साथै उनले नेपाली समुदायसंग सहकार्य गर्न इच्छुक भएको पनि बताइन् ।
स्वामी अरुणले अमेरिकामा विगत ११ वर्षदेखि ध्यान तथा योग शिविर सन्चालन गर्दै आउनुभएको छ। ओशो निर्वाणा रजनीशपुरम बन्द भएपछि अमेरिकामा बनेको पहिलो ओशो कम्युन हो । यसैगरी टेक्ससको ड्यालसमा समेत दोस्रो कम्युन निर्माणाधीन अवस्थामा छ ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने