प्रजातन्त्र दिवसको अवसरमा उत्तरी आयरल्याण्डमा विशेष कार्यक्रम

लण्डन । नेपाली राजदूतावासले नेपालको प्रजातन्त्र दिवसका उपलक्ष्यमा मंगलबार उत्तरी आयरल्याण्डको राजधानी बेलफास्टमा एक विशेष समारोहको आयोजना गरेको छ ।

संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा उत्तरी आयरल्याण्डका लागि पूर्व प्रथम मन्त्री तथा डेमोक्रेटिक युनियनिष्ट पार्टीका अध्यक्ष सम्माननीय श्रीमती अर्लेन फोस्टर प्रमुख अतिथि तथा उत्तरी आयरल्याण्डका संसदका सभामुख सम्माननीय रोविन न्युटन र सिन फेन पार्टीका संसद सदस्य डा. कोइम्हे आर्चिबाल्ड विशेष अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । विशेष समारोहमा उत्तरी आयरल्याण्डका सांसदहरु, स्थानीय मेयर, उप-मेयर र काउन्सिलरहरु समेत उपस्थित हुनुहुन्थ्यो।

विशेष समारोहमा स्वागत मन्तव्य व्यक्त गर्नुहुदै राजदूत सुवेदीले नेपालमा लोकतन्त्र र गणतन्त्रको अभ्युदय र नागरिक हकअधिकार प्राप्तिका निम्ति जीवन उत्सर्ग गर्नुहुने प्रात:स्मरणीय शहीदहरुमा संयुक्त अधिराज्य, माल्टा र आयरल्याण्डबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुका तर्फबाट हार्दिक श्रद्धान्जली अर्पण गर्नुभयो। सुवेदीले यस पावन दिवसले लोकतान्त्रिक गणतन्त्रको आलोकमा नेपाल आर्थिक समृद्धि, सामाजिक रुपान्तरण र राजनीतिक स्थायित्वसहित समृद्ध नेपाल र सुखी नेपालीको महान लक्ष्य हासिल गर्न उत्प्रेरित गर्नेछ भन्ने आशा एवं विश्वास व्यक्त गर्नुभयो।

संघ, प्रदेश र स्थानीय तीनै तहका निर्वाचन शान्तिपूर्वक र सफलतापूर्वक सम्पन्न गरी नेपालले संविधानको कार्यान्वयन गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन पद्धतिलाई संस्थागत गरेको छ भन्नुहुँदै सुवेदीले वर्तमान सरकारले आर्थिक विकास र समृद्धिको लक्ष्यलाई प्राथमिकतामा राखेको छ भन्नुभयो। वर्तमान सरकारले राष्ट्रिय स्वार्थलाई सर्वोपरी राख्दै लोकतन्त्र, मौलिक हक, सामाजिक न्याय, सुशासन, स्थिरता र विकासमा प्रतिवद्ध रहेको छ भन्नुहुँदै सुवेदीले नेपाल सरकारले नेपाललाई एक उपयुक्त र विश्सनीय लगानी केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले २९ र ३० मार्चमा नेपालमा लगानी शिखर सम्मेलन आयोजना गरिरहेको छ र त्यसमा संयुक्त अधिराज्यवाट उत्साहजनक सहभागिता रहने विश्वास व्यक्त गर्नु भयो।

प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै उत्तरी आयरल्याण्डका लागि पूर्व प्रथम मन्त्री तथा डेमोक्रेटिक युनियनिष्ट पार्टीका अध्यक्ष श्रीमती फोस्टरले नेपाली राजदूतावासले राष्ट्रिय प्रजातन्त्र दिवसजस्तो महत्वपूर्ण कार्यक्रम उत्तरी आयरल्याण्डको राजधानी बेलफास्टमा आयोजना गर्नु स्वागतयोग्य कार्य भएको भन्नुहुँदै यो कार्यक्रम उत्तरी आयरल्याण्डका जनता र नेपाली समुदायबीच मित्रता, भातृत्व र समझदारी अभिवृद्धिमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो।

आर्थिक विकासका लागि राजनैतिक स्थिरता अपरिहार्य हुन्छ भन्नुहुँदै उहाँले नेपालले शान्ति, सुशासन  राजनैतिक स्थिरतासहित समृद्धिको यात्रा आरभ्म गरेकाले नेपाली जनता आर्थिक विकासको लक्ष्य हासिल गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो।  नेपाल प्राकृतिक सुन्दरता र सांस्कृतिक विविधताले सुसम्पन्न राष्ट्र हो भन्नुहुँदै उहाँले  नेपाल भ्रमण वर्ष 2020 मा उत्तरी आयरल्याण्डबाट दशौं हजार पर्यटकहरु नेपाल भ्रमणमा जाने विश्वास व्यक्त गर्नुभयो।

समारोहलाई विशेष अतिथिका रुपमा सम्बोधन गर्नुहुँदै उत्तरी आयरल्याण्डका संसदका सभामुख न्यूटनले उत्तरी आयरल्याण्डमा नेपाली समुदायको उपस्थिति सानो भए पनि सुन्दर र क्रियाशील छ भन्नुभयो। सभामुख न्यूटनले नेपाली राजदूतावासले  राष्ट्रिय प्रजातन्त्र दिवसजस्तो राष्ट्रिय महत्वको कार्यक्रम बेलफास्टमा आयोजना गर्नु उत्तरी आयरल्याण्डका जनताका लागि हर्ष र गौरवको कुरा हो भन्ने विचार व्यक्त गर्नुभयो।

त्यसैगरी उक्त समारोहका विशेष अतिथि सिन फेन पार्टीका संसद सदस्य आर्चफिल्डले शान्तिको पुनर्वहाली र संघीय लोकतान्त्रिक संविधानको घोषणा र सफल कार्यान्वयन गरेर नेपाली जनताले विश्वलाई एउटा अनुकरणीय उदाहरण प्रस्तुत गरेका छन् भन्नुहुँदै उत्तरी आयरल्याण्डका लागि पनि नेपालको राजनैतिक स्थायित्व आदर्श नमूना बन्नसक्ने विश्वास व्यक्त गर्नुभयो।

उक्त समारोहमा प्रमुख अतिथी, विशेष अतिथिद्धय र सांसदले संयुक्त रुपमा नेपाल भ्रमण वर्ष 2020 को लोगो अनावरण गरी उत्तरी आयरल्याण्डमा नेपाल भ्रमण वर्ष 2020 को प्रचार अभियान प्रारम्भ गर्नुभयो।

समारोहमा नेपाल भ्रमण वर्ष 2020 लाई केन्द्रित गरी नेपाल पर्यटन बोर्डले तयार पारेको सौन्दर्य र सांस्कृतिक विविधता झल्कने वृत्तचित्र सहितको प्रस्तुति गरिएको थियो। समारोहमा नेपालको हिमाल, पहाड  तराईको संस्कृति झल्किने नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।सो सांस्कृतिक कार्यक्रम उत्तरी आयरल्याण्डमा स्थायी बसोबास गर्ने नेपाली बालबालिकाहरुद्धारा प्रस्तुत भएको हो।

उक्त समारोहमा संयुक्त अधिराज्यमा नेपालको भाषा, संस्कृति र सभ्यताको संरक्षण र सम्वर्द्धनका साथै नेपालीको पहिचान र प्रतिष्ठा अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउनु भएका बीबीसी नेपाली सेवाका अग्रज सञ्चारकर्मी तथा समाजसेवी पुरण अग्रवाललाई विशेष सम्मान गरिएको थियो।

राजदूत डा. सुवेदीले प्रमुख अतिथि, विशेष अतिथिद्धय र साँसदलाई नेपाली कलात्मक उपहार प्रदान गर्नु भएको थियो। बेलायती, आइरिस र नेपाली गरी तीन सयभन्दा बढी अतिथिहरुको सहभागिता रहेको उक्त विशेष समारोहको अन्त्यमा नेपाली रात्रिभोजको आयोजना गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री