लण्डन । बेलायती सैन्यमा कार्यरत एक गोरखा सैनिक बेलायती सेनाको उच्च अधिकृतमा बढुवा भएका छन् । हाल ११ इन्फेन्ट्री बटालियनमा कार्यरत स्याङ्जाका मेजर देवेन्द्र आलेले बेलायती सेनाको सातौँ वरियतामा रहेको लेफ्टिनेण्ट कर्णेल पदमा बढुवा हुने दुर्लभ अवसर पाएका हुन् ।
बिहीबार बसेको छनौट बोर्डले आलेलाई सो पदमा बढुवा गरेको हो । ५१ वर्षीय आले विगत ३० वर्षदेखि बेलायती सेनामा कार्यरत छन् । गोरखा भर्तीको २०० वर्षभन्दा लामो इतिहासमा सो पदमा पुग्ने अवसर पाँचजना मात्र गोरखाले पाएका हुन् । यसअघि लालबहादुर पुन, विजय रावत, यमबहादुर राना र टोलबहादुर खाम्चा सो पदमा पुगेका थिए । जसमध्ये खाम्चा मात्र सेवारत छन् भने अरु सबै सेवानिवृत्त भइसकेका छन् ।
बढुवापछि शुक्रबार वीनेपालीसित आलेले भने, “सबै चीज जुर्नपर्ने रैछ । पहिले यस्तो अवसर भएको भए हामीभन्दा पूर्वजहरु पनि कति त्यो पदमा पुग्न पाउनुहुन्थ्यो होला । अहिले समयले अवसर दिँदा हामी भाग्यमानी भयौँ ।”
पुरख्यौली घर स्याङ्जा बहाकोट भञ्ज्याङ भएका आलेका पिता क्याप्टेन मोतिप्रसाद पनि ब्रिटिश सैन्यमा थिए । यसैक्रममा आलेको जन्म सिंगापुरमा भयो भने पढाइ बढाइ हङकङ र नेपालमा भयो । हङकङको गोरखा स्कुलबाट एसएलसी गरेका आलेले अमृत साइन्स कलेज काठमाडौँमा बायलोजीमा आइस्सी गरे । त्यसपछि देहरादुन गएर पुनः बायलोजीमा प्लस टु गरे । फर्केर त्रिचन्द्र कलेजमा बीएस्सी पढ्दापढ्दै उनी बेलायती सेनामा भर्ती भए । पहिलो प्रयासमै ब्रिटिश सेनाको क्लर्कमा भर्ती हुन सफल भएका आले भन्छन् – ‘म अलि उमेर ढल्केर भर्ती भएँ । अरु १६/१७ वर्षमा भर्ती हुन्थे भने म झण्डै २२ वर्षको उमेरमा भर्ती भएँ ।’ भर्तीपछि उनी पिताजीले सेवा गरेको गोरखा ट्रान्सपोर्ट रेजिमेण्टमा गए ।
मेजर पदमा सेवारत आलेका समकक्षीहरु करिब २०० जना छन् । त्यसमध्ये धेरैजना लेफ्टिनेण्ट कर्णेल पदका लागि प्रतिपस्र्धा गर्न योग्य रहेको उनी बताउँछन् । तर उनले पाएको पदकै लागि कतिजना दौडमा थिए त्यो भने उनलाई थाहा छैन । कम्तीमा ४०-५० जना हुनसक्ने उनको अनुमान छ तर गोरखा सैनिकहरु भने कोही पनि थिएनन् रे ।
आलेको नयाँ जिम्मेवारी अर्को वर्षबाट शुरु हुनेछ । कुन ठाउँमा के जिम्मेवारी दिइन्छ तय भइसकेको छैन । करिब तीन वर्ष सेवा लेफ्टिनेण्ट कर्णेल पदमा गरेपछि उनी रिटायर्ड हुनेछन् । ‘हामी लेट इन्ट्री भएका अफिसरहरु उमेरका कारण पनि यो भन्दा माथिल्लो पदमा जाने सम्भावना छैन’ उनले भने । तर भविष्यमा भने सोझै कमिसनमा अधिकृत भएका गोरखा अफिसरहरु लेफ्टिनेण्ट कर्णेलभन्दा माथिल्लो ओहोदामा पुग्ने उनको विश्लेषण छ । अहिले वर्षमा एक जना गोरखा लेफ्टिनेण्ट कर्णेल पदमा पुग्ने गरेकोमा आगामी वर्षहरुमा एकभन्दा बढीले यस्तो अवसर पाउने आशा पनि उनी व्यक्त गर्छन् ।
हाल श्रीमती दुर्गा आले र दुई छोराका साथ आले अल्डरसटमा बस्ने गरेका छन् । उनको भाइ पनि गोरखा सैनिकमै कार्यरत थिए । अवकासपछि उनी बेलायतमै बसोबास गर्ने गरेका छन् ।

खपाङ्गीमगर वीनेपाली डटकमका सम्पादक हुन् ।
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता