साउथ इष्ट लण्डनमा खुल्यो कंडेल ग्रुपको तेस्रो फार्मेसी

लण्डन । साउथ इष्ट लण्डनमा नेपालीहरुको लगानीमा एक नयाँ फार्मेसी सुरु भएको छ । प्लमस्टिडमा कंडेल ग्रुपको तेस्रो फार्मेसी प्लमस्टिड फार्मेसी शनिबार एक समारोहकाबीच उद्घाटन गरिएको हो । स्थानीय ग्रीनवीच काउन्सिलकी मेयर क्रिस्टिन मेले रिबन काटेर प्लमस्टिड फार्मेसीको उद्घाटन गरेकी थिइन् । 

त्यसअवसरमा मेयर मेले स्थानीय समुदायको हितका दृष्टिले फार्मेसीको ठूलो महत्व रहने बताइन् । ग्रीनवीच बरोमा उल्लेख्य संख्यामा रहेका नेपालीहरु प्लमस्टिड फार्मेसीबाट थप लाभान्वित बन्ने विश्वास उनले व्यक्त गरिन् । 

फार्मेसी सञ्चालक कंडेल ग्रुपका सिईओ राजन कंडेलले व्यवसाय साथसाथै स्थानीय समुदायको सेवालाई समेत ध्यानमा राखेर आफ्नो समूहले साथ इष्ट लण्डनमा तेस्रो फार्मेसी सञ्चालनमा ल्याएको बताए । 

सो ग्रुपले यसअघि सन् २००९ देखि एबीउडमा ‘निम ट्रि फार्मेसी’ र सन् २०१३ देखि वुल्वीचमा ‘वुल्वीच लेट नाइट फार्मेसी’ सञ्चालन गर्दै आएको छ । 

बेलायत, नेपाल तथा मिडल इष्टमा समेत शिक्षा, प्रोपर्टी, मिडिया लगायत क्षेत्रमा लगानी गरेको ग्रुपले आफ्ना फार्मेसीहरुमार्फत स्थानीय नेपाली तथा भूपू गोर्खा समुदायहरुलाई प्राथमिकतामा राखेर सेवा दिने सिईओ कंडेलले बताए । समूहका तीनवटै फार्मेसीमा अंग्रेजी बाहेक नेपाली, हिन्दी र रोमानियन लगायतका भाषा बोल्ने स्टाफहरु उपलब्ध रहेको उनले जनाए । 

प्लमस्टिड फार्मेसीकी सञ्चालक तथा सुपरिटेण्डेन्ट फर्मासिस्ट दिलाशा श्रेष्ठले स्थानीय समुदायको आवश्यकता र मागलाई सम्बोधन गर्ने गरी फार्मेसीले सेवा उपलब्ध गराउने बताइन् । फार्मेसीको नियमित सेवाबाहेक स्थानीय समुदायको लागि निशुल्क स्वास्थ्य चेकजाँच, स्वास्थ्य सचेतना कार्यक्रम लगायत पनि सञ्चालन गर्ने योजना पनि उनले सुनाइन् । 

त्यसअवसरमा चार्ल्टन नेपाली समाजका अध्यक्ष कृष्ण खरेल, रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटी अध्यक्ष हरिगोविन्द गुरुङ, साउथ इष्ट रिजनल तमु धिं लण्डनकी उपाध्यक्ष पार्वती गुरुङ, पशुपतिनाथ मन्दिर प्लमस्टिडका अध्यक्ष सहदेव गिरी, व्यवसायीहरु फत्त थापा, यादव भण्डारी लगायतका स्थानीय समुदायका अगुवाले शुभकामना मन्तव्य राख्दै प्लमस्टिड फार्मेसीको सफलताको लागि शुभकामना व्यक्त गरेका थिए । 

उनीहरुले नेपाली समुदायको सुविधालाई प्राथमिकतामा राखेर फार्मेसी सञ्चालन हुनु प्रशंसनीय रहेको भन्दै सहकार्यको लागि समुदायको तर्फबाट प्रतिबद्धता पनि गरे । 

प्लमस्टिड फार्मेसी हरेक साता सोमबारदेखि शुक्रबार बिहान ९ देखि सांझ ७ बजेसम्म खुला रहन्छ । आउंदो मार्च १२ देखि भने शनिबार पनि खोल्ने योजना छ । फार्मेसीमा आवश्यकताअनुसार प्राइभेट डाक्टर बुकिङ तथा होम डेलिभरी लगायत विशेष सेवा पनि उपलब्ध छन् । 

तस्विरहरु – शिव भण्डारी 

प्रतिक्रिया

सम्बन्धित सामाग्री