माघे (मकर) सङ्क्रान्ति देशभर मनाइँदै

कपिलवस्तुको गौरीघाटमा आयोजित माघी मेलामा विभिन्न परिकार बेच्दै एक बालिका । तस्वीर – सनिउल्ला धोबी, कृष्णनगर, रासस

काठमाडौँ, १ माघ – पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे (मकर) सङ्क्रान्ति पर्व आज देशभर मनाइँदैछ ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ ।

यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी स्थानमा आजका दिन भव्य मेलासमेत लाग्ने गर्छ ।

सूर्य दक्षिणबाट उत्तर लाग्दाको दिनलाई वैदिक दर्शनका विभिन्न शास्त्रमा पवित्र दिन मानिएको छ । उत्तरायण शुरु भएपछि शुभ काम, यज्ञ यागादि गर्न शुभ मानिएको छ । उत्तरायण शुरु हुने दिन गुरु पुरोहितबाट तिलक लगाउने शास्त्रीय मान्यतासमेत छ । माघे सङ्क्रान्तिदेखि साउने सङ्क्रान्तिसम्म सूर्य उत्तरको बाटो हिँड्ने भएकाले यो छ महीनाको समयलाई उत्तरायण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

“सूर्य उत्तरायण भएका बेला गरिएको स्नान, दान, जप, तप, तीर्थ, व्रतलाई उत्तम मानिएको छ, यो समयमा भएको जन्म र मरण पनि उत्तम हुन्छ,” उहाँले भन्नुभयो ।

उत्तरायणका पनि माघ र वैशाख महीना उत्तम मानिएको धर्मशास्त्रविद् गौतमले बताउनुभयो । कर्म गर्नका लागि माघको शुक्ल पक्ष अझ बढी महत्वपूर्ण समय मानिएको समितिले जनाएको छ । तराईवासीले पनि माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खानु गरी छ प्रकारले तिलको प्रयोग माघ महीनामा गर्नाले यो लोकमा सुख शान्ति पाई परलोकमा मोक्ष पाइने धार्मिक विश्वाससमेत छ । माघ शुक्ल पक्षमा तिललाई छ प्रकारले प्रयोग गर्ने षट्तिला एकादशी पर्वसमेत पर्दछ ।

आजका दिन बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख छ । स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । यी खानाले त्रिदोष नाश हुने धार्मिक विश्वास छ ।

तरुललाई पुस मसान्तका दिन उसिनेर माघ १ गते खाने परम्परा छ । यसलाई लोकोक्तिअनुसार ‘पुसमा पाके माघमा जाके’ भनिन्छ । सेल रोटीलगायत परिकार पनि पुस मसान्तमा बनाएर माघमा खाने प्रचलनमा देशका केही भागमा छ । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थबाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिन्छ ।

सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ । महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएअनुसार सूर्य उत्तरायणपछि नै शरीर त्यागेको पौराणिक मान्यता छ । आजका दिन भक्तपुरको तिलमाधव नारायणस्थान लगायतका तीर्थस्थलमा पनि मेला लाग्ने गर्दछ ।

माघे संक्रान्ती (माघि) पर्वका अवसरमा प्रदेश ५ सरकारका तर्फबाट बुटवलमा सोमबार आयोजित शुभकामना कार्यक्रममा थारु समूदायका महिला परम्परागत पोसाकमा सजिएर कार्यक्रममा सहभागी थारु महिलाहरु । यो पर्व थारु र मगर समूदायमा प्रमुखरुपमा मनाइन्छ । तस्वीर – भरत केसी, बुटवल, रासस

राष्ट्रपतिद्वारा माघी माघे सङ्क्रान्तिको शुभकामना

राष्ट्रिपति विद्यादेवी भण्डारीले माघ १ गते आ–आफ्नै परम्परा र शैलीमा मनाउने माघे सङ्क्रान्ति पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले माघे सङ्क्रान्ति पर्व स्नान, दान, पूजाअर्चना, मनोरञ्जनका साथै मिष्ठान्न भोजन गर्दै मनाउने प्रचलन रहिआएको उल्लेख गर्नुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले थारु समुदायमा माघी पर्व नयाँ वर्षका रूपमा समेत धुमधामसँग मनाइने उल्लेख गर्नुभएको छ ।

“यस पर्वले हाम्रो समाजका विभिन्न जातजातिबीच आपसी मेलमिलाप अभिवृद्धि गरी सामाजिक एकता सुदृढ बनाउन मद्दत गर्ने विश्वास मैले लिएको छु । विशिष्ट सांस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता पर्वले हाम्रो मुलुकलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्,” राष्ट्रपतिद्वारा जारी सन्देशमा उल्लेख छ ।

यस्ता पर्वले भौगोलिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान कायम गर्न उल्लेख्य योगदान दिने विश्वास व्यक्त गर्दै राष्ट्रपति भण्डारीले विभिन्न समुदायले एउटै पर्वलाई फरकफरक नाम र मान्यताले मनाउने यस विशेष चाडले सबै नेपालीमा हर्षोल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता सुदृढ पार्न मद्दत पुरयाउने बताउनुभएको छ ।

नेपाल विविधताले भरिपूर्ण  – उपराष्ट्रपति

उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक एवम् भौगोलिक विविधताले भरिपूर्ण रहेको बताउनुभएको छ ।

माघेसङ्क्रान्तिका अवसरमा उहाँले आज एक शुभकामना सन्देश दिनुहुँदै स्वदेश तथा विदेशमा रहेका मगर, थारू र छन्त्याल समुदाय तथा नेपाली दिदी–बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ ।

नेपालका सबै समुदायका आ–आफ्नै मौलिक पहिचान झल्कने भाषा, धर्म, संस्कार, संस्कृति र धार्मिक एवम् सांस्कृतिक चाडपर्व रहेको उल्लेख गर्दै उपराष्ट्रपतिले अनेकौँ संस्कृति, सम्पदा, सभ्यता र समुदायको सुन्दर सप्तरङ्गी सम्मिश्रण एवम् साझा सङ्गमका रुपमा रहिआएको नेपाल राष्ट्र सामाजिक सद्भाव र सौहाद्र्रताका लागि विश्वकै नमूना राष्ट्र भएको स्पष्ट पार्नुभएको छ । उपराष्ट्रपतिले यस पर्वलाई सकारात्मक कामको थालनी अर्थात् सकारात्मक ऊर्जाको शुरुआतका रुपमा मनाउन र आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको मार्गमा अगाडि बढ्न आग्रह गर्नुभएको छ ।

माघीलगायत नेपालका मौलिक सांस्कृतिक एवम् धार्मिक चाडबाडहरु राष्ट्रकै सम्पत्ति भएकाले ती अमूल्य सम्पत्तिको संरक्षण एवम् प्रवद्र्धनका लागि राज्यका तर्फबाट नै उचित पहल हुनुपर्नेमा जोड दिनुभएको छ । यस्ता पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, भाइचारा र एकताको अभिवृद्धि हुँदै जाने र हाम्रो मौलिक संस्कृतिको संरक्षण एवम् प्रवद्र्धनमा योगदानसमेत दिने अपेक्षा उपराष्ट्रपतिले गर्नुभएको छ ।

प्रधानमन्त्रीको सन्देश

प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधताले हाम्रो एकतालाई अझ मजबुत बनाएको बताउनुभएको छ ।

माघे सङ्क्रान्तिको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुस्वास्थ्य, दीर्घायू, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि विज्ञप्तिमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता नेपालको मौलिक पहिचान भएको र विविधताबीचको यस्तो एकताको प्रवद्र्धन हामी सबैको साझा ध्येय भएको बताउनुभएको छ ।

सबै जात र समुदायको सहभागितामा निर्माण गरी जारी गरिएको संविधान कार्यान्वयन गर्दै हामी ‘समृद्ध नेपाल, सुखी नेपालीको ध्येय हासिल गर्न अग्रसर छौँ’ विज्ञप्तिमा भनिएको छ । अभियानलाई सफल पार्न सरकार र सबै सङ्घसंस्था तथा समुदायले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको विज्ञप्तिमा विभिन्न जाति, जनजातिको पहिचान दर्शाउने आ–आफ्नै संस्कृति र चाडपर्व रहेको ती पर्वले सबैको घरमा सुख र शान्तिको अनुभूति गराउन सकोस् भन्ने शुभेच्छा प्रकट गरिएको छ ।

सम्पूर्ण नेपालीको बीचमा यस पर्वले बन्धुत्व, हार्दिकता, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकता र राष्ट्रिय संस्कृतिको निर्माणमा ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ । सरकार सबै जातजाति र समुदायका चाडपर्वको संरक्षणमा उत्तिकै संवदेनशील रहेको उल्लेख गरिएको विज्ञप्तिमा हाम्रा यस प्रकारका चाडपर्व पर्यटकीय आकर्षणका लागि पनि प्रभावकारी हुने जनाइएको छ ।

सभापति देउवा वरिष्ठ नेता पौडेलद्वारा शुभकामना व्यक्त

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले माघे सङ्क्रान्ति र माघी पर्वका अवसरमा सबै नेपाली दाजुभाइ दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।

आज शुभकामना सन्देश दिँदै उहाँले माघ १ गते ‘मकर सङ्क्रान्ति र माघे सङ्क्रान्ति’लाई नेपालका विभिन्न जातजातिले विशेष पर्वका रुपमा मनाउँदै आएको उल्लेख गर्नुभएको छ । नेपाल प्राचीन कालदेखि विभिन्न जात, जातिको बसोबासको सङ्गम स्थल रहेको बताउँदै उहाँले विभिन्न भाषा, विभिन्न धर्म, विभिन्न संस्कृति र चाडपर्वको आफ्नो बेग्लै विशेषता छ र एकले अर्काको यी हरेक विषयलाई आदर र सम्मान गर्ने उल्लेख गर्नुभएको छ ।

भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने यो पर्व आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भावना बढाउने काममा कोशेढुंगा सावित हुने सभापति देउवाले विश्वास व्यक्त गर्नुभएको छ ।

यसैबीच नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति र माघी पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै जसले जसरी मनाए पनि सबै चाडपर्व र रितिरिवाजले सबै नेपाली समुदायलाई एकसुत्रमा बाँधेको उल्लेख गर्नुभएको छ । सन्देशमा उहाँले एउटै पर्वलाई फरकफरक नाम र मान्यताले मनाउने यो विशेष चाडले सबै नेपालीमा हर्षोल्लास र शान्तिको सन्देश फैलाई राष्ट्रिय एकता सुदृढ पार्न मद्दत पुरयाउने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री