केन्टबासी तमुहरुले मनाए फो-ल्होसार

लन्डन । तमु समाज केन्ट युकेले फोल्कस्टोन केन्टस्थित हकिङ्ज कम्युनिटी सेन्टरमा तमु (गुरुङ) हरुको महान पर्व ल्होसार मनाएको छ ।
खि ल्हो (कुकुर वर्ग) को विदाई र फो ल्हो (मृग वर्ग) को आगमनको पावन अवसरमा भएको उक्त कार्यक्रममा केन्टबासी गुरुङहरुको बाक्लो उपस्थित रहेको थियो । हकिङका मेयर ग्ल्यान हिबर्टको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा काउन्सिलर नवीन सिवा साथै केन्टस्थित विभिन्न संघ संस्था र समाजका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति थियो ।
कार्यक्रममा उपस्थित पाहुनाहरुलाई छैटौं कार्यसमिति र सल्लाहकारहरुद्वारा स्वागत गरिएको थियो । तमु समाज केन्ट युकेका अध्यक्ष बलराम गुरुङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको समुद्घाटन समाजका अध्यक्ष र प्रमुख अतिथिले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी गरेका थिए ।
‘हेल्थ एन्ड सेफ्टी’ को जानकारीबाट सुरु भएको औपचारिक कार्यक्रम सञ्चालन समाजका महासचिव गोलमान गुरुङले गरेका थिए भने समाजका प्रथम उपाध्यक्ष एवं फो ल्होसार कार्यक्रम संयोजक सूर्य गुरुङले स्वागत मन्तब्य राखेका थिए । त्यसैगरी औपचारिक कार्यक्रमको अन्तमा उपस्थित सबैलाई समाजका अध्यक्ष बलराम गुरुङले धन्यवादसहित फो ल्होसारको शुभकामना दिए ।
कार्यक्रममा शैक्षिक क्षेत्रमा सफलता हांसिल गर्ने तमु विद्यार्थीहरुलाई सम्मान गरियो । श्रीमती रोशनी घलेले ब्राइटन र ससेक्स् मेडिकल स्कुलबाट पोष्टग्राजुयट डिप्लोमा र सुश्री आरती गुरुङले युनिभर्सिटी अफ बेडफोर्डसायरबाट आडल्ट नर्सिङमा ब्याचलर डिग्री साथै यस वर्ष जिसिएसइ दिएका छोरा छोरीहरु क्रमशः सोलव गुरुङ, स्मारिका गुरुङ र जेसिका गुरुङलाई कार्यक्रमका प्रमुख अतिथि र समाजका अध्यक्षले खादा लगाई औपचारिक रुपमा वधाई तथा शुभकामना दिएका थिए । साथै प्रत्येक वर्ष झैं यस वर्ष पनि जिसिएसइमा सबैभन्दा राम्रो अंक ल्याइ उत्तीर्ण तमु विद्यार्थी जेसिका गुरुङलाई ’ब्राइट फ्यूचर अवार्ड’ ले सम्मान गरिएको थियो । समाजका अध्यक्ष बलराम गुरुङ र अवार्ड प्रायोजकले उक्त अवार्डसहित १०१ पाउन्ड प्रदान गरी संस्थाको तर्फबाट बधाई तथा शुभकामना दिए । तमु समाज केन्ट युकेले सन् २०११ सालमा शुरूवात गरेको उक्त अवार्ड विजेताहरु हालसम्म सबैले राम्रो नमुना देखाएका छन् ।
दोस्रो चरणको सांस्कृतिक कार्यक्रम सांस्कृतिक संयोजक सुमित्रा गुरुङ र पवित्र गुरुङको नेतृत्वमा सन्चालन भएको थियो । गुरुङ राष्ट्रिय गीतबाट आरम्भ भएको सांस्कृतिक कार्यक्रममा समाजका दाजुभाइ तथा दिदीबहिनी साथै छोराछोरीहरुले नेपाली तथा गुरुङ उत्कृष्ट नृत्यहरु प्रस्तुत गरेका थिए ।
युवा युवतीहरुको बाक्लो उपस्थिति भएको सो कार्यक्रममा युवा युवतीहरुबाटै सुन्दर गुरुङ नृत्यहरुका साथै कार्यक्रमको अन्त्यतिर लेडिज कोअर्डिनेटर प्रेमकुमारी गुरुङ र उनको टिमले राफल ड्र सन्चालन गरेको थियो ।
उक्त ल्होसार कार्यक्रमलाई सुनमा सुगन्ध थपी सुन्दर नृत्यहरु प्रस्तुत गरी उपस्थित सबैलाई भरपूर मनोरञ्जन दिएकोमा संस्थाको तर्फबाट अध्यक्षले सबै कलाकार भाइबहिनीहरुलाई धन्यवाद दिंदै सम्झनास्वरुप मायाको चिनो प्रदान गरेका थिए ।
कार्यक्रमको अन्तमा सबैले नाचेर भरपूर मनोरन्जन लिएका थिए भने डिजेमा बिसी राई र नयन्द्र राईले भिडियोग्राफरको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री