
पूर्व काउन्सिलर तथा दि गोर्खा मेमोरियल फण्डका अध्यक्ष धन गुरुङले बेलायतका घरवारबिहीनलाई क्रिसमस पार्टी दिए
लन्डन । सुन्दा अचम्म लाग्छ तर संसारमै विकसित एक मुलुक बेलायतमा घरवारबिहीनहरुको संख्या बढिरहेको छ । बेलायतको राष्ट्रिय तथ्यांक कार्यालय ‘अफिस फर नेशनल स्टयाटिसटिक्स’ ले केही दिन अघि मात्र पहिलोपटक सार्वजनिक गरेको एक तथ्यांकमा यो क्रम बढिरहेको पाइएको हो ।
तथ्यांक अनुसार गत वर्ष सन् २०१७ मा कम्तीमा ५९७ घरवारबिहीन नागरिकको सडक वा अस्थायी वसोवास स्थलमा मृत्यु भयो । उक्त मृत्युदर संख्या पांच वर्ष अवधिमा २४ प्रतिशतले बढि हो । सन् २०१३ मा ४८२ जना घरवारबिहीनको मृत्यु भएकामा सन् २०१७ मा यो संख्या ५९७ पुगेको छ । ५ वर्ष अवधिमा करिब २ हजार ६२७ जनाले ज्यान गुमाएका छन् ।
बेलायतको लन्डन र उत्तर पश्चिम क्षेत्रमा घरवारबिहीनहरुको मृत्युदर बढि पाइएको छ । म्यानचेस्टर, लिभरपुल शहरमा पांच वर्ष यता मृत्यु हुने घरवारबिहीनको संख्या दोब्बर बढि छ । सन् २०१३ मा त्यहां ५५ जनाले ज्यान गुमाएकामा सन् २०१७ मा यो संख्या ११९ थियो । सन् २०१७ मा आधा भन्दा बढि मृत्यु लागूऔषध वा मदिरा सेवन, आत्महत्या र कलेजोमा खराबीका कारण भएको तथ्यांक छ । गत बुधबार बेलायतको संसद भवन अगाडि नै एक घरवारबिहीनको मृत्यु भयो । संसद भवन सामुन्ने मर्ने ति घरवारबिहीन यसै वर्ष दोश्रो थिए ।
गत मंगलबार सामुदायिक मामिला हेर्ने मन्त्री जेम्स ब्रोकनसायरले सडक छेउ सुत्ने मानिसहरुको संख्या बढ्नुमा सरकारी नीति जिम्मेवार नरहेको बीबीसीसंग बताएका छन् । मन्त्री ब्रोकनसायरले पारिवारिक विखण्डन र स्पाइस जस्ता लागू औषधको प्रयोगले यस्तो समस्या बढाएको र यसरी सुत्नेहरुमा ब्रिटेन बाहिरबाट आएका मानिसहरुको संख्या पनि बढी भएको बताए । सरकारी तथ्यांक अनुसार सन् २०१० यता सडक छेउमै सुत्नै मानिसहरुको संख्यामा १६९ प्रतिशतले बढेको देखाएको छ, तर वास्तविक संख्या त्यो भन्दापनि बढी भएको ठानिन्छ ।
अफिस अफ न्यासनल स्टाटिस्टिक्सको स्वास्थ्य तथा जीवन परिघटना इकाई प्रमुख बेन हम्बरस्टानले भने, ‘हरेक वर्ष सैयौं घरबारविहीन मानिसहरुको ज्यान गइरहेको छ । हाम्रो अध्ययनले मृत्यु हुने घरबारविहीनहरुको औसत आयु ४४ वर्ष र तीमध्ये ८४ प्रतिशत पुरुष रहेको देखाएको छ । यसरी ज्यान गुमाउने मानिसहरुमध्ये आधाजसोको आत्महत्या, अत्यधिक रक्सी सेवन वा लागूऔषधका कारण भएको पाइएको छ ।’
बेलायती राजनीतिमा समेत संलग्न डार्टफोर्ड काउन्सिलर डा. बच्चु कैलाश कैनी हरेक स्थानीय निकायमा घरबारबिहिनहरुको ब्यवस्थापन गर्न निर्देशिका हुने र सोही निर्देशिका बमोजिम सबै ब्यवस्था काउन्सिलले गर्नुपर्ने बताउंछन् । ‘बेलायतमा घरबार बिहिनको संख्या घटाउन यसै वर्षको अप्रिलदेखि ‘होमलेसनेस रिडक्सन एक्ट २०१८’ लागू भएको छ । घरबारबिहीनहरुका लागि बेलायतमा काउन्सिल वा स्थानीय निकायले अस्थायी बसोबास र दीर्घकालिन बसोबासको ब्यवस्थापन गर्नुपर्ने हुन्छ’, कैनी भन्छन्, ‘हरेक काउन्सिलमा त्यस्ता ब्यक्तिकाबारेमा तथ्यांक संकलन गरेर राखिएको हुन्छ । जस्तै म बसोबास गर्ने काउन्सिलमा गत वर्ष जम्मा ९ जना घरबारबिहीन ब्यक्ति भएको तथ्यांक थियो ।’
त्यस्ता व्यक्तिहरुलाई कुनै सहयोग जरुरत परे हटलाइन टेलिफोन नम्बरमा सम्पर्क गर्न सक्ने गरि सम्पर्क व्यक्ति पनि तोकिएको हुन्छ । बेलायतमा स्थानीय निकायले गैरसरकारी निकायहरुसंग सहकार्य गरेर घरवारबिहीनका लागि विभिन्न किसिमको सहयोग गर्ने ब्यवस्था मिलाएको हुन्छ । विशेष गरि जाडोको बेला घरवारबिहीनलाई खाने, बस्ने ब्यवस्था गर्न र आपतकालीन रुपमा बसोवास ब्यवस्थापन गर्न स्थानीय निकायले थप रकम वा बजेट छुट्याउने कैनीले बताए ।
घरवारबिहीनलाई नेपालीको सहयोग
पूर्व काउन्सिलर तथा दि गोर्खा मेमोरियल फण्डका अध्यक्ष धन गुरुङले बेलायतका घरवारबिहीनलाई क्रिसमस पार्टी दिएका छन् । मातृभूमिबाहेक बेलायतमा पनि च्यारिटी कर्ममा संलग्न रहंदै आएका गुरुङले शनिबार फोकस्टन टाउनका १६ जना घरवारबिहीनलाई नेपाली खाना प्रवन्ध गरिदिएका हुन् ।
गोर्खा मेमोरियल गार्डेन अफ रिमेम्बरेन्समा आयोजित क्रिसमस पार्टीमा घरवारबिहीनले नेपाल र नेपाली मन, खाना एवं गोर्खाको प्रशंसा गरेका थिए । ‘मैले अझ धेरै सहभागिताका लागि प्रयास गरें तर सकिन’, बेलायतमा नेपाली मुलका पहिलो काउन्सिलर गुरुङले भने, ‘सर्वत्र क्रिसमस रमझम भइरहेका बेला ति घरवारविहीनहरुको दयनीय अवस्थाले मेरो मन छोयो र आफ्नो क्षमताले भ्याएको गरें ।’
गत साता बेजिङस्टोकमा बसोबास गर्ने पूर्व डिएसपी शिवजी श्रेष्ठले पनि स्थानीय घरबारबिहीनहरुका लागि खाना र न्यानो कपडा ब्यवस्था गर्न एक च्यारिटी कार्यक्रम गरेका थिए । उक्त च्यारिटी कार्यक्रममा संकलित रकमबाट क्याम्रोज डे सेन्टर र नाइट लाइट वीन्टर सेल्टर नामक संस्था मार्फत ति असहाय घरबारबिहिनलाई अत्यावश्यक सामाग्री ब्यवस्था गरिने श्रेष्ठले बताए । इकान्तिपुर
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा