पूर्वप्रधानमन्त्री गिरीको निधनप्रति राष्ट्रपति, प्रधानमन्त्री र दलका नेताद्वारा श्रद्धाञ्जलि

मङगलबार निधन भएका पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफनै निवासमा श्रद्धाञ्जलिका लागि राखिएको पार्थिव शरीर । तस्वीर – नवीन पौडेल, रासस

काठमाडौँ, ३ पुस – पूर्वप्रधानमन्त्री डा तुलसी गिरीको आज बिहान बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा रहेको आफ्नै निवासमा निधन भएको छ ।

कलेजोको क्यान्सरको उपचार गराइरहनुभएका पूर्वप्रम गिरीको आज बिहान ६ बजे ९३ वर्षको उमेरमा निधन भएको उहाँका श्रीमती सराह गिरीले जानकारी दिनुभयो । सन् १९६० देखि सन् २००५ सम्म सक्रिय राजनीति गर्नुभएका गिरी पछिल्लो समय मुटु रोगबाटसमेत पीडित हुनुहुन्थ्यो ।

विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रिमण्डलमा सदस्यका रुपमा काम गर्नुभएका गिरीले प्रधानमन्त्री र तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा मन्त्रिपरिषद्को उपाध्यक्ष भई काम गर्नुभएको थियो । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज निवासमै राखिने र बुधबार पशुपतिमा अन्त्येष्टि गरिने श्रीमती गिरीले जानकारी दिनुभयो । उहाँका श्रीमती, दुई छोरा र चार छोरी हुनुहुन्छ ।

राष्ट्रपतिद्वारा दुःख व्यक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री डा गिरीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जारी गर्नुभएको विज्ञप्तिमा राष्ट्रपति भण्डारीले यस दुःखद घडीमा स्वर्गीय गिरीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको जनाइएको छ ।

प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जलि

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्री गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले केहीबरअघि ट्विट गर्दै पूर्वप्रम गिरीको निधनको खबरले आफूलाई दुःख लागेको र यस घडीमा स्व गिरीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

विभिन्न राजनीतिक दलका नेताद्वारा श्रद्धाञ्जलि

पूर्वप्रधानमन्त्री गिरीको निधनप्रति विभिन्न राजनीतिक दलका नेताले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । बूढानीलकण्ठस्थित सिद्धार्थ कोलनीमा पुगेर गिरीको पार्थिव शरीरमा उहाँहरुले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल, राप्रपाका अध्यक्ष कमल थापा, एकीकृत राप्रपा (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणालगायतले श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो ।

यसैगरी आज राप्रपा (प्रजातान्त्रिक)ले डा गिरीको निधनप्रति दुःख व्यक्त गरेको छ । अध्यक्ष राणाले विज्ञप्ति जारी गर्दै गिरीको निधनबाट देशलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभएको छ । बुधबार उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी दुःखी

पूर्वप्रधानमन्त्री डा गिरीको निधनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीले दुःख व्यक्त गरेको छ ।

राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र एकिकृत राप्रपा (राष्ट्रवादी) ले शोक विज्ञप्तिमार्फत मुलुकमा प्रजातान्त्रिक आन्दोलन, नेपाली राजनीति विकासक्रममा गिरीको महत्वपूर्ण योगदान रहेको उल्लेख गरेका छन् ।

राप्रपाका अध्यक्ष कमल थापाले गिरीको निधनको समाचारले आफू स्तब्ध र मर्माहत भएको बताउनुभयो । “निष्ठा, आदर्श र स्पष्ट वैचारिक मान्यता उहाँका जीवन दर्शन थिए, आफ्नो अनुकूलतामा विचार र दर्शन परिवर्तन गर्न उद्यत समकालीन नेपाली राजनीतिमा डा गिरीको दार्शनिक मूल्य मान्यता अनुकरणीय छ”, विज्ञप्ति उल्लेख छ ।

एकिकृत राप्रपा (राष्ट्रवादी)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले दिवङ्गत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गर्नुभयो ।

राप्रपा (प्रजातान्त्रिक) का महामन्त्री राजाराम श्रेष्ठले गिरीको निधनबाट देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएकामा दुःख व्यक्त गर्नुभयो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री