बेलायतमा गायक रविनलाई ‘वान्स मोर’


अल्डरसट । अल्डरसटमा रविन श्रेष्ठ लाइभ कन्सर्टले दर्शक मन जितेको छ । दी लाउन्ज रेष्टुरेन्ट एन्ड बारमा हालै आयोजित कन्सर्टमा करिब दुई सय दर्शक सहभागी थिए । आयोजक मधु गुरुङको स्वागत उद्घोषणसंगै शुभारम्भ भएको उक्त 
सांगीतिक कार्यक्रमको पहिलो सौगात स्वरुप रबिनले भक्तराज आचार्यको देशप्रेमले ओतप्रोत कालजयी गीत ‘जहां छन् बुद्धका आंखा’ प्रस्तुत गरेका थिए । तीन घण्टा लामो सो कार्यक्रममा उनले करिब १५ वटा गीत गाएर दर्शकलाई मनोरन्जन दिलाए ।

मध्यान्तर पश्चात रबिनले आफ्नो ओरिजिनल गीत ‘छेक्यो छेक्यो देउराली डांडा हुस्सु र कुहिरोले…’ गाउनासाथ 
दर्शक खुशीले उत्साहित र रोमान्टिक बने । ‘वान्स मोर’ भनेर दर्शकदीर्घाबाट अत्यधिक फर्माइस आएपछि रबिनले पुनः सोही गीत गाएर सबैलाई फेरि एकपल्ट झुमाए ।

त्यस्तै उनको अर्को सुपरहिट गीत सुक गुरुङको रचना ‘आंखैमा झलझली हितैको दौतरीं…’ गाउंदा उनलाई शीतल पुनले साथ दिएकी थिइन् । शीतल पुनले उनलाई सो अलावा अन्य युगल गीतहरुमा पनि साथ दिनुको साथै हिन्दी र नेपाली गीतहरु समेत गाएर दर्शक नचाउन सफल भइन् । संगीतमा उनलाई रिसाल ब्रदर्स लाइभ ब्यान्डले साथ दिएको थियो । लिड गितारमा जोन रिसाल, मादलमा पहलमान गुरुङ, बांसुरीमा याम गुरुङ र साउन्ड सिस्टममा विश्व शाहीले साथ दिएका थिए ।

धेरै वर्षपछि बेलायत आएका उनको पहिलो लाइभ कन्सर्ट एकदमै सफल भएको आयोजक र दर्शकको दावी छ । सांगीतिक क्षेत्रमा उच्च 
सम्भावना बोकेका एक कुशल गायक वाध्यतावश विदेश पलायन भएर केही वर्ष गीत संगीतबाट ओझेल परेपनि उनको सांगीतिक फांटमा यसरी पुनः आगमन हुनु उनका फ्यानहरुका लागि पक्कै खुशीको कुरा हो । उनी स्वयंले पनि अब उपरान्त गीत संगीतमा निरन्तर लाग्ने प्रतिवद्धता जनाएका छन् । उनको सांगीतिक यात्रालाई निरन्तरता प्रदान गर्न प्रमुख भूमिका खेल्ने आयोजकद्वय संगीतप्रेमी दम्पती 
राजु (भोजेन्द्र) गुरुङ र मधु गुरुङप्रति दर्शक आभारी देखिन्थे । भविष्यमा पनि रबिनलाई साथ दिने ति दम्पतिको मनसाय छ । साथै आयोजकद्वयले सो कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिने सम्पूर्ण दर्शक लगायत 
प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुरयाउने सबैप्रति कृतज्ञता व्यक्त गरेका छन् ।

रबिन श्रेष्ठको सांगीतिक यात्रा सन् १९९१ देखि शुरु भएको थियो । तत्कालिन समयमा संगीतप्रेमी ६ युवा अमृत गुरुङ, रबिन श्रेष्ठ, दिपक जंग राणा, सुरेश पुन, भिम पुन र बुद्धि गुरुङ मिलेर ‘नेपथ्य’ सांगीतिक व्याण्ड स्थापना गरेका थिए जसले अहिले आफ्नो सांगीतिक यात्राको पच्चीस वर्ष सफलतापूर्वक पूरा गरिसकेको छ । नेपाली सांगीतिक फांटमा अपार सफलताका साथ रजत महोत्सव मनाएको
सम्भवतः नेपथ्य नै पहिलो सांगीतिक ब्याण्ड हो ।

९० को दशकमा स्थापना भए देखि नै नेपथ्य समूहले चर्चा बटुल्दै गयो । त्यतिबेला रबिन श्रेष्ठको ‘आंगनै भरी हिउंनै झरे…’, ‘छेक्यो छेक्यो देउराली डांडा…’ जस्ता गीतहरु लोकप्रियताको शिखरमा पुग्दै गइरहेको बेला हङकङ आइडीको लहर तीव्र रुपमा चल्न थाल्यो । त्यो जमाना संगीतमा लागेर जीविकोपार्जन गर्न सक्ने अवस्था थिएन । नेपाली युवाहरु विदेशिने क्रम तीव्रताका साथ बढ्दै गइरहेको थियो । रबिन श्रेष्ठ पनि त्यो लहरबाट अछुतो रहन सकेनन् र पांच 
वर्षे कलिलो आफ्नो सांगीतिक समूह ‘नेपथ्य’ लाई नेपथ्यमै छोडेर सन् १९९६ मा हङकङतिर पलायन भए ।

त्यसपछि विदेशी भूमिमा आफ्नो तीव्र मोह भए पनि निरन्तरता दिन असमर्थ भए । तथापि उनी बेला बेला हङकङका विभिन्न 
सांगीतिक जमघटतिर गायनको सौख भने पुरा गर्ने गर्दथे । हङकङ छोड्नु अघि सन् २०११ मा हङकङमा पोखरेली झ्यालले ‘रबिन श्रेष्ठ नाइट’ को सफल आयोजना पनि गरेको थियो । त्यस लगत्तै सोही वर्ष पोखरेली झ्यालले अल्डरशटमा आयोजना गरेको दोश्रो प्रस्तुतिमा सहभागी हुन उनी बेलायत आएका थिए । त्यसैताका उनले इन्द्रनारायण चोम्बाङको शब्द र राजु सिंहको संगीतमा ‘तिखो तिखो वचन’ बोलको गीत रकर्ड पनि गराएका थिए ।

त्यसपछि सन् २०१२ मा हङकङबाट उनी बेलायत आए । बेलायत आएपछि बेला मौकाको जमघट र पोखरेली मञ्चले आयोजना गर्ने कार्यक्रममा उनले समय समयमा गाउंदै आएका छन् । २१ नोभेम्बर २०१५ मा पोखरेली मञ्च, 
यूकेले मृगौला पीडित गीतकार सुक 
गुरुङ सहयोगार्थ आयोजना गरेको च्यारिटी कार्यक्रममा पनि उनले गाएका थिए । सुक गुरुङ उनको सुपरहिट गीत ‘छेक्यो छेक्यो देउराली
डांडा’ र ‘आखैंमा झलझली (शर्मिला बर्देवासंग) का सर्जक हुन् ।

कुनै पनि गायक गायिका हिट हुनुमा प्रमुख हात गीतकार र संगीतकारको हुन्छ तर बिडम्बना प्राय उनीहरु ओझेलमा परिरहेका हुन्छन् जुन गलत हो भन्ने मान्यता राख्छन् गायक रबिन । साथै उनले नेपथ्यको आफ्नो गीत हिट हुनुमा सुक गुरुङको लेखन कौशल प्रमुख कारक तत्व हो भन्दै गीतकार सुक गुरुङप्रति आफू सदा आभारी रहने बताए । हालै स्वदेश जांदा उनले दुवै मृगौला पीडित सुक गुरुङलाई भेट्न छुटाएनन् ।

रबिन हालै घर बिदा गएका बेला आफ्नै रचना अनि राजु संहको संगीतमा ‘हयाप्पी न्यू इयर’ बोलको नयां गीत रेकर्ड गराएर फर्किएका छन् र आगामी नयां वर्ष २०७६ मा उक्त गीत रिलिज गर्ने सुरमा छन् उनी ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री