पीएचडी र मास्टर्स गरेका मगर सम्मानित

Photo By Milan Tamu

लण्डन । मगर संघ युकेले हाल बेलायतमा बसोबासरत विभिन्न विश्वविद्यालयबाट पीएचडी र मास्टर्स गरेका मगरहरुलाई सम्मान गरेको छ । संघले शनिबार अल्डरसटस्थित एम्पायर हलमा एक कार्यक्रम गरी उनीहरुलाई सम्मान गरेको हो ।

संघका अध्यक्ष नेम थापामगरको अध्यक्षता र महासचिव लालबहादुर पुनले सञ्चालन गरेको सो कार्यक्रममा नेपाल मगर संघकी कोषाध्यक्ष कमला थापा, गोरखा सैन्यका पूर्व लेफ्टिनेण्ट कर्णेल यमबहादुर राना, ब्रिटिश गोरखा सैन्यमा प्रतिष्ठित पदक पाएका क्याप्टेन रिटायर्ड बीरबहादुर पुन र मगर संघ युकेका निवर्तमान अध्यक्ष दुतबहादुर पुन लगायतले सम्मानितहरुलाई खादा तथा प्रसंशापत्र प्रदान गरेका थिए ।

सम्मानित हुनेहरुमा पीएचडी गरेका डा. बालकृष्ण थापामगर, श्याम थापा, प्रेम आले र दिवेश थापा रहेका छन् । यस्तै, मास्टर्स डिग्री हासिल गरेका करिब ७० लाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपालमा रहेका डा. आलेबाहेक बाँकी पीएचडी गरेका व्यक्तित्वले आफ्ना अनुभव सुनाएका थिए ।
मगर संघ युकेको पहलमा शुरु भएको एक करोड रुपियाँ राशीको मास्टर्स एण्ड पीएचडी ट्रष्टलाई सहयोग जुटाउन समेत सो कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा टप मोडल डिकमाया खोर्जा, संघका वेम्व्ली, केन्ट शाखाका नवनिर्वाचित अध्यक्षहरु पूर्ण राना र क्याप्टेन रामबहादुर पुन तथा बाग्लुङ समाज युकेकी नवनिर्वाचित अध्यक्ष छविमाया पुनलाई पनि बधाई दिइएको थियो ।

त्यसैगरी, साहित्य कला,गीत संगीतमा लागेका स्रष्टाहरुलाई सम्मान गरिएको थियो भने गीतकार घन थापा र बिल पुर्जाको गीति क्यासेटहरु ‘नबिर्स’ र ‘मल्हम’को विमोचन गरिएको थियो ।

कार्यक्रममा कोषाध्यक्ष नेत्र आलेले मास्टर्स एण्ड पीएचडी ट्रष्टको हिसाबकिताब प्रस्तुत गरेका थिए भने संघका सल्लाहकारहरु नरेश खपाङ्गी र रमेश सराङकोटीले मगरहरुको शैक्षिक, राजनीतिक अवस्थाका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रम संयोजक योगकुमार फगामीले स्वागत मन्तब्य दिएको सो कार्यक्रममा कलाकारहरु सविता राना, इस्मी थापा, रिया थापा, समीक्षा राना, सुजाता राना, सन्दीप राना र लक्ष्मण रानाले नृत्य प्रस्तुत गरेका थिए भने गायक गायिका बालचन्द्र बराल र सुशीला गौतमले लोकदोहोरी गाएका थिए ।

साँस्कृतिक सचिव तुलचन्द्र तिलिजाले साँस्कृतिक कार्यक्रम चलाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री