अवार्ड विजेता ‘सुम्निमा’ चलचित्रका कलाकर्मीहरु सम्मानित

लन्डन । किरात मुन्धुम कथामा आधारित अवार्ड विजेता चलचित्र ‘सुम्निमा’ निर्माणमा आवद्ध निर्देशक, कलाकार, प्राविधिक, गीतकार, संगीतकार, गायक लगायतलाई सम्मान गरिएको छ । बेलायतवासी निर्मात्री खेजी राईले हालै नेपाल रहेका बेला ए वान पार्टी प्यालेस चावहिलमा एक कार्यक्रम गरि चलचित्र निर्माणमा आवद्ध सम्पूर्ण पक्ष- 
निर्देशक, कलाकार, प्राविधिक, गीतकार, संगीतकार, गायक लगायत अन्य सहयोगी गरि करिब ५० जनालाई सम्मान गरेकी हुन् ।

कार्यक्रमका प्रमुख अतिथी व्याकुल माइलाको वाहुलीबाट कलाकार, प्राविधिकलाई कदरपत्र र वरिष्ठ सञ्चारकर्मी गजुरधन राईबाट खादा प्रदान गरिएको थियो ।

सम्मानित हुनेहरुमा चलचित्र ‘सुम्निमा’ का निर्देशक चन्द्र वाम्बुले, कथा लेखक तथा कलाकार प्रवीण पुमा, नायिका प्यारी राई, सह-नायिका जितुका वाम्बुले राई, दैया राई, मायादेवी नगरकोटी बराल, सबिता राई, जनसरी, रेवत राई, टेकराज लाङ्घाली, छायांकार युवराज राई, गीतकार सिताराम राई, गायक बालन्द राई, गायिका मनु नेम्वाङ, संस्कृतिकर्मी यासेली योङहाङ, पत्रकार गणेश राई, अनुसन्धाता टिकाराम राई आदि थिए ।

‘चलचित्र प्रदर्शनपछि मैले सबैतिरबाट सम्मान पाइरहें । यसपटक मेरो तर्फबाट फिल्ममा आवद्ध कलाकार प्राविधिकलाई प्रोत्साहन स्वरुप सम्मान गरेको हुं’, राईले भनिन् । ‘सुम्निमा’ कसैसंग प्रतिष्पर्धा गर्न वा चर्चा बटुल्न भन्दा पनि आदिवासी कला संस्कृति जगेर्ना र भावी सन्ततिका लागि सन्देश दिन बनाएको निर्मात्री खेजी राई बताउंछिन् । ‘आज यहांसम्म आइपुग्दा जुन चर्चा मैले पाएं त्यस वापत कलाकार र प्राविधिकहरुलाई 
प्रोत्साहन र धन्यवाद दिन तथा उनीहरुको योगदानको कदर गर्न सम्मान गरेको हुं’, उनले प्रष्ट पारिन् ।

‘सुम्निमा’ जस्तो ऐतिहासिक फिल्मको निर्मात्री हुन पाउंदा आफूलाई भाग्यमानी ठानेको खेजी बताउंछिन् । घर परिवार, सामाजिक काम र अन्य व्यस्तताका कारण ‘सुम्निमा-२’ बनाउने योजना भने आफ्नो नभएको उनले बताइन् ।

कार्यक्रममा ‘सुम्निमा’लाई बेलायतमा प्रदर्शन गर्न सहयोग 
गर्ने आयोजक कमल राईलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमका अवसरमा निर्मात्री खेजी राईले राष्ट्रिय गानका सर्जक व्याकुल माइलालाई मायाको चिनो प्रदान 
गरेकी थिइन् ।

कार्यक्रममा चलचित्रका कार्यकारी निर्माता प्रेम वाम्बुले र नायक चुडामणि सुनुवार विदेशमा रहेकाले उपस्थित थिएनन् । त्यसैगरि गीतकार भुपाल राई, गायक राजेशपायल राई, संगीतकारद्वय कन्काइस्ट राई, बलराम समाल, जमानसिंह राई, बालकलाकारहरु नामकला राई, स्वर्णदीप राई पनि उपस्थित थिएनन् । उपस्थित हुन नसकेका बांकी श्रष्टालाई निकट भविष्यमा नै सम्मान गरिने निर्मात्री खेजी राईले बताइन् ।

बेलायतमा चलचित्र शो गराउन पहल गर्ने दिलकुमारी राई, 
प्रचारप्रसारमा सघाउने भिमल राईलाई पनि छिट्टै सम्मान 
गरिने छ । अष्ट्रेलियामा रहेका वरिष्ठ समाजसेवी तथा वुद्धिजिवी ओमकार राईलाई पनि प्रदर्शनमा सहयोग गरे वापत छिट्टै सम्मान गरिने निर्मात्री राईले जनाइन् ।

‘सुम्निमा’ चलचित्रकी निर्मात्री खेजी राईको अध्यक्षता 
रहेको सम्मान समारोहको विशेष अतिथीमा वाम्बुले राई समाज केन्द्रीय कार्यसमितिका अध्यक्ष गजुरधन राई थिए भने अतिथीहरुमा बिगेसोका सभापति पदम सुन्दर लिम्बु, रागादीप 
काठमाडौं समाजका वरिष्ठ सल्लाहकार लवसिङ बाहिङ राई, सोही संस्थाका अध्यक्ष डम्बरबाहिङ राई, सिंगापुर पुलिस फोर्सका पूर्व इन्सपेक्टर भुवनसिंह राई, ओखलढुंगा यूके समाजका पूर्वअध्यक्ष कमल राईलगायत विशिष्ठ व्यक्तित्वहरुको उपस्थिति थियो ।

खेजीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने ‘होस्ट’ सुमन कार्की र राज राईप्रति आभार व्यक्त गर्दै अरुलाई पनि धन्यवाद व्यक्त गरिन् ।

चलचित्र ‘सुम्निमा’ को बेग्लै ऐतिहासिक महत्व छ । उक्त चलचित्रले नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालय, चलचित्र विकास बोर्डद्धारा आयोजित ‘राष्ट्रिय चलचित्र २०६९ पुरस्कार’ मा सहभागी भइ ‘सर्वोत्कृष्ट सांस्कृतिक चलचित्र पुरस्कार’ जितेको थियो । नेपाल सरकारबाट पुरस्कृत हुने यो पहिलो आदिवासी चलचित्र हो ।

चलचित्र विकास बोर्डको तथ्यांक अनुसार वि.स. २०६९ सालमा निर्माण भएका १२५ वटा चलचित्र मध्ये सुम्निमाले सर्वोत्कृष्ट सांस्कृतिक चलचित्र पुरस्कार पाउनुलाई फिल्म युनिटले ठूलो उपलब्धि मानेको छ ।

उक्त चलचित्रले सन् २०१७ मा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा आयोजित नेपाल आदिवासी चलचित्र महोत्सवमा उत्कृष्ट कथा विद्यामा पुरस्कार जितेको थियो । उक्त पुरस्कार ग्रहण गर्न निर्मात्री खेजी राई स्वयं अमेरिका गएकी थिइन् ।

लामो समयदेखि बेलायतमा बसोबास गर्दै आएकी खेजी 
राई समाजसेवा गरेपनि यहांको डायस्पोरामा सधैं छांयामा बस्न रुचाउने महिला अभियन्ता हुन् ।

खेजीका अनुसार, चलचित्र सुम्निमाको स्क्रिप्ट २०५८-०५९ सालतिर तयार भएको थियो । स्क्रिप्ट बनेपछि वि.स. २०६३-०६४ सालमा जोर्तीघाट, सोक्माटार, होल्माफु, खचापू, उबु, लिब्जु, ओखलढुङ्गा, जाउमा-ल्खिउमा (तुवाचुङ डांडा), काठमाडौं, ललितपुर, भक्तपुर जस्ता ठाउंमा वाम्बुले र खस भाषा गरि दुई भाषामा फिल्मको सुटिङ गरिएको थियो ।

निर्देशक चन्द्र वाम्बुलेका अनुसार, जन्म देखि मृत्युसम्म र 
वाम्बुले समुदायको धर्म संस्कृतिमा आधारित पारिवारिक कथा बोकेको चलचित्र सुम्निमामा वाम्बुले राईको घरभित्र र बाहिर गरिने खाउमो मुन्धुम संस्कार, रितिरिवाज, चालचलन जस्ता यावत पक्ष समेटिएको छ । चलचित्रमा केही संवाद वाम्बुले भाषामा भएकाले खस नेपालीमा पनि ‘सब टाइटल’ राखिएको छ ।

खेजीलाई सम्मानको ओइरो


चलचित्र प्रदर्शन भएपछि खेजीलाई बेलायतमा सम्मानको 
ओइरो लाग्यो । सन् २०१२ मा वाम्बुले राई समाज यूकेले पहिलो पटक निर्मात्री खेजी राईलाई सम्मान गरेको थियो । उनलाई सन् २०१४ मा एभरेल्ट कल्चर एण्ड मिडिया एकेडेमीले पनि सम्मान गरयो ।

निर्मात्री राईलाई ओखलढुंगा जिल्ला किरात राई समाज यूकेका 
वरिष्ठ सल्लाहकार देव रुम्डालीले सन् २०१५ अगष्टमा सम्मान गरेका थिए ।

त्यसैगरि, नेपाल सरकार चलचित्र विकास बोर्ड अन्तर्गत आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्धन समितिले सन् २०१६ अक्टोबरमा सम्मान गरेको थियो ।

साथै, ओखलढुंगा जिल्ला समाज यूकेको तर्फबाट पनि गत वर्ष जुन २०१७ मा राईलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री