लन्डनका नेपालीमाझ ट्रम्प झुल्किएपछि…

लन्डन । ‘नो, नो नो… फेक, ड्याट इज फेक, फेक न्यूज । फेक मिडिया, फेक जर्नालिष्ट ।’ लन्डन ग्रीनफोर्डको खचाखच हलबाट एक्कासी ट्रम्प आवाज गुन्जन्छ । दर्शक उत्सुक बन्छन्, उताउति फर्कन्छन् । ‘आइ एम हेअर नट इन नेपाल, आइ एम हेअर इन यूके टु मिट माधव कुमार नेफाल… ।’ यती नेपाली एसोसिएसन बेलायतको च्यारिटी कार्यक्रममा 
प्रमुख अतिथी छन् वरिष्ठ नेता माधवकुमार नेपाल ।

धेरैले ठम्याउन नसकिरहेका बेला टुप्लुक्क स्टेजमा आइपुग्छन् ट्रम्प । अर्थात हांस्यव्यंग्य कलाकार मनोज गजुरेल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भेषमा ।

नायिका मरिस्का पोखरेलले पत्रकारका रुपमा गजुरेललाई प्रश्न गर्छिन्, ‘तपाईं किन यूके आउनुभयो ?’ ट्रम्परुपी गजुरेलको जवाफ थियो, ‘म माधव नेपाललाई भेट्न नेपाल आउने, माधव नेपाल खाली विदेश धाउने, सो आइ एम हेअर उनलाई पछ्याउने ।’

‘नो नो माधव नेफाल…। केपी ओलीले प्रचण्डलाई पार्टीमा हाल्ने, माधव नेपाललाई झिकेर फाल्ने, सो हि इज नेफाल…’ दर्शकहरु पेट मिचिमिची हांस्छन् ।

क्यारिकेचर र स्टयाण्ड अप कमेडीमा राम्रो ख्याति कमाइरहेका गजुरेलले प्रधानमन्त्री केपी ओलीलाई पनि छाडेनन् । ‘हि इज नट ओली, हि इज अइली’ (चिप्लो), बिकज जनतालाई रेल र तेलको सपना देखाउने, आश्वासन दिन सक्ने तर भ्रष्टाचारी र एउटा बलात्कारीलाई समाउन नसक्ने । सो हि इज अइली ।’ फेरि उनले दर्शकदीर्घाबाट ताली पाए ।

हेमन फाउण्डेशनको बालबालिकाका लागि शिक्षा अभियानलाई 
सघाउन आयोजित च्यारिटी कार्यक्रमका मुख्य आकर्षण थिए गजुरेल । उनको ट्रम्प भेष, व्यंग्य अनि हाउभाउ दर्शकले निक्कै रुचाए ।

नेताहरुलाई एम्बेसी होइन, गाउंबेसी धाउन सुझाव दिंदै गजुरेलले सामाजिक सञ्जालमा आफ्ना दुःख पीडा व्यक्त गरेर निरास नबन्न पनि सुझाए । ‘जीवनमा आइपर्ने दुःख व्यवधानको सामना गर्न सक्नुपर्छ’, गजुरियल वाणी थियो, ‘म आफैं पनि कतिपय उतारचढावबाट ग्रुजिरहेको छु तर कमजोर बनिन ।’

नेपाली कमेडियन अन्तर्राष्ट्रिय मिडियामा बिरलै छाउने गरेका बेला मनोज यस्तो पात्र हुन् जसबारे संसारका कयौं मिडियाले लेखेका छन् । ट्रम्प अघि राजा ज्ञानेन्द्रको शासनताका होस् वा भारतीय नाकाबन्दीका बेला नरेन्द्र मोदीको । उनको क्यारिकेचरले भारतीय, बेलायती र अमेरिकी मिडियामा उल्लेख्य स्थान पाएको थियो । ‘म व्यक्तिगत मानमर्दन भन्दा राजनीतिक सुधार र सामाजिक 
सद्भावका लागि व्यंग्य गर्छु’, उनले प्रष्टिकरण दिए ।

ट्रम्प उनको रोजाइमा कसरी परे ? जिज्ञासामा गजुरेल भन्छन्, 
‘नेपाली दर्शक अहिले विश्वभर छरिएका छन् त्यसकारण विषय र पात्र पनि ग्लोवल छान्नुपर्ने चुनौति छ । दर्शकहरुले निरन्तर 
रुचाइदिएर मलाई थप हौसला भएको छ ।’

कार्यक्रममा गायक हेमन मोक्तान र नायिका एवं मोडल मरिस्का पोखरेलले पनि आ आफ्नो प्रस्तुति दिएका थिए ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री