ब्रिटेन नेपालको आर्थिक समृद्धिमा सघाउन सधैं तत्पर

लन्डन । ब्रिटिश लगानीकर्ता आकर्षित गर्ने एउटा पहल स्वरुप लन्डनस्थित नेपाली दूतावासमा ‘नेपाल विकास सम्मेलन- ४’ भएको छ । नेपाली दूतावास र ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शद्वारा 
संयुक्त रुपमा मंगलबार सांझ सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनमा बेलायत तथा नेपालका सरकारी अधिकारीहरुले 
राजनीतिक स्थायित्वसंगै नेपालमा लगानी गर्न अब उपयुक्त समय 
आएको धारणा राखे । विभिन्न वक्ताहरुले नेपालमा व्यापार तथा लगानीका सम्भावनाबारे ‘प्रिजेन्टेसन’ समेत दिए । नेपालमा विशेषगरि हाइड्रो, शिक्षा-स्वास्थ्य, पर्यटन एवं भौतिक पूर्वाधारमा लगानी उपयुक्त रहेको वक्ताहरुले जोड दिएका थिए ।

परराष्ट्र सचिव शंकरदास बैरागीले नेपालको शान्तिप्रक्रिया र भूकम्प पछिको पुनर्निर्माणमा ब्रिटेन र ब्रिटिश जनताले पुरयाएको सहयोगको प्रशंसा गरे । उनले नेपालका सबै राजनीतिक दलहरु देशमा व्यापार र लगानीका लागि राम्रो वातावरण बनाउन प्रतिवद्ध रहेको बताउंदै भारत र चीनजस्ता दुई ठूला मुलुकहरुबीच रहेको नेपाल लगानीकालागि उपयुक्त स्थल रहेको धारणा राखे ।

ब्रिटिश संसदको अल पार्टी पार्लियामेन्टरी ग्रुप अन नेपालका उपाध्यक्ष लर्ड शेखले चीन तथा भारतसंग जोडिएको नेपालमा दीर्घकालिन लगानीका थुप्रै अवसर रहेको बताए । उनले जलविद्युत, सडक, स्वास्थ्य, शिक्षा जस्ता क्षेत्रमा धेरै ब्रिटिश 
कम्पनीहरुले लगानी गरुन् भन्ने आफूले चाहेको पनि उल्लेख गरे ।

अर्का वक्ता लर्ड अर्ल अफ स्यान्डवीचले नेपालमा स्थिर अर्थतन्त्र सहितको सामाजिक सुधार आवश्यक रहेको औंल्याए । उनले काठमाडौंस्थित द ब्रिटिश कलेज नेपालमा ब्रिटिश लगानीको एउटा सफल उदाहरण रहेको पनि उल्लेख गरे ।

नेपालकालागि ब्रिटिश राजदूत रिचार्ड मोरिसले नेपालको आर्थिक विकासमा सघाउन ब्रिटेन सधैं तत्पर रहेको बताए । उनले ब्रिटेनले नेपालको लगानी बोर्डलाई सघाउनुका साथै अरुण तेश्रो जलविद्युत योजनाकालागि रकम जुटाउन पनि सघाइरहेको जानकारी दिए । उनले ब्रिटेन इयूबाट बाहिरिएपछि पनि नेपालसंगको व्यापारमा कुनै असर नपर्ने बताउंदै आफूहरुले समृद्ध नेपाल हेर्न चाहेको जनाए ।

बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायत नेपाल कुटनीतिक सम्वन्ध र नेपालको राजनीतिक घट्नाक्रमबारे चर्चा गर्दै ब्रिटिश लगानीकर्ताहरुलाई स्वागत गर्न आफ्नो सरकार उत्सुक रहेको बताए ।

उक्त अवसरमा बेलायतको स्वान्सी विश्वविद्यालयबाट पिएचडी गरिरहेका रामहरि पौड्यालले नेपालको उर्जा क्षेत्रमा वैदेशिक लगानीको सम्भावनाबारे र ब्रिटेनको डिपार्टमेन्ट अफ इन्टरन्यासनल डिपार्टमेन्टमा कार्यरत भेरिटी म्याक्रमले आफ्नो मन्त्रालयले नेपालमा पुरयाइरहेको सहयोगबारे प्रस्तुति दिएकी थिइन् ।

त्यस्तै नेपालमा वैदेशिक लगानीका सम्भावना विषयमा प्रस्तुति दिंदै ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका अध्यक्ष तथा द ब्रिटिश कलेजका सञ्चालक राजन कंडेलले नेपाल विदेशी लगानीकालागि खुला र तयार रहेको बताए । उनले दक्षिण एसियाली मुलुकहरुकै तुलनामा नेपालमा लगानीकर्ताहरुलाई करमा उल्लेख्य सुविधा उपलब्ध रहेको बताउंदै सरकारले भिसा लगायत अन्य सुविधाहरु दिइरहेको जानकारी पनि दिए । उनले विकासशील मुलुक नेपालमा अझै पनि कयौं चुनौतीहरु रहेको बताउंदै ब्रिटिश लगानीकर्ताहरुलाई सघाउन च्याम्बर संधै तयार रहेको जानकारी दिए ।

लिवरल डेमोक्रयाटस इन विजनेश सेक्टर्सका उपाध्यक्ष किसन देवानीले नेपाली जनता जस्तो इमान्दारी र आतिथ्य अन्यत्र कहीं नभएको अनुभव सुनाउंदै लगानी गर्न प्रेरित गरे । ब्रिटेन नेपाल च्याम्बर अफ कमर्शका कार्यकारी निर्देशक रिचार्ड पेलीले संस्थाले हालसम्म गरिरहेका गतिविधिबारे प्रष्ट पारेका थिए ।

कार्यक्रमको अन्त्यमा नेपाली मौलिक नृत्यहरु पनि प्रस्तुत गरिएका थिए । इकान्तिपुर

तस्विरहरु- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री