‘सबै संघसंस्थाले दिनको १५ मिनेट समय दिए १० हजार सदस्य बनाउन सम्भव छ’ शेरबहादुर सुनार, उपाध्यक्ष एनआरएनए युके

शेर बहादुर सुनार

एनआरएनए युकेको वर्तमान कार्यसमितिले १० हजार सदस्य बनाउने महत्वाकांक्षी योजना अगाडि सारेको छ र यसको संयोजनको जिम्मा उपाध्यक्ष शेरबहादुर सुनारलाई दिएको छ । युकेमा एक लाखभन्दा बढी नेपाली बसोबास गरेको बताइए पनि एनआरएनमा त्यसको १० प्रतिशत पनि सदस्य बनेको  रेकर्ड छैन । प्रस्तुत छ यसै सन्दर्भमा उनीसित वीनेपालीले गरेको संक्षिप्त वार्ता :

एनआरएनए युकेले १० हजार सदस्य बनाउने योजना कहाँ पुग्यो ?

हाम्रो भर्खरै पत्रकार सम्मेलन सकिएको छ । यतिबेला नेपालीहरु समरका कारण ब्यस्त भएको हुँदा मैले नोभेम्बर र डिसेम्बरमा हरेक क्षेत्रमा पुग्ने विचार र योजना राखेको छु । हरेक संघसंस्था र व्यक्तिहरुलाई मेरो अनुरोध छ हामी युकेमा धेरै संघसंस्था छौँ ती संघसंस्थाले धेरै समय दिन पर्दैन दिनको १० देखि १५ मिनेट समय दिनुभयो भने पनि हामीलाई अर्को अधिवेसनसम्ममा १० हजार सदस्य सहजै पुरयाउन असजिलो छैन । त्यसैले म यो अनुरोध गर्न चाहन्छु जतिबेला चुनाव आउँछ त्यतिबेलामात्र पदको होडबाजी गरेर सदस्य बन्ने परिपाटी अब नहोस् । समयमै सदस्य बनौँ र सही प्रतिनिधि चुनौँ । किनभने हामीलाई यो धेरै पहिलेदेखि अनुभव हुँदै आएको छ कि हामीलाई यसले नकारात्मक कुरा सिकाएको पनि छ । त्यसैले वर्तमान कार्यसमितिले समयमै १० हजार सदस्य बनाउने योजना ल्याएको हो ।

सदस्य बनाउन कहाँ कहाँ जानुहुन्छ ?
सर्वप्रथम यो कार्यक्रम नोभेम्बरबाट शुरु हुन्छ । स्वीण्डनमा हुन्छ, वेल्समा हुन्छ । नर्दन आयरल्याण्ड, प्लमस्टिड, ह्यारो, अल्डरसट लगायत नेपालीहरुको बसोबास रहेको क्षेत्रमा जान्छु ।

कतिपयले तपाई आफैँ आगामी कार्यकालमा उठ्नका लागि यो अभियान ल्याइएको हो भन्छन् नि ?
मैले अघि नै भनिसकेँ यो मेरो लागि होइन । हाम्रो उद्देश्य दुई लाख नेपालीको संस्था मजबुत बनोस भन्ने हो । संस्थागतरुपमा हामी अगाडि बढ्न सकौँ भन्ने हो । हामी १० देखि २० हजार सदस्य बन्यौँ भने हाम्रा अग्रजहरुको युकेमा नेपाल हाउस बनाउने सपना पनि पूरा हुनेछ । मेरो अनुरोध छ, यो अभियान मेरो लागि होइन गैरआवासीय नेपाली संघको लागि हो ।

एनआरएनए युकेको आगामी अधिवेसनमा तपाईको अध्यक्षमा दाबी रहन्छ कि रहँदैन ?
उपाध्यक्ष पछि जाने त अध्यक्षमा हो तर अहिले म त्यो भन्न सक्दिनँ । त्यतिबेलाको समय र परिस्थितिले नै त्यो तय गर्नेछ । युकेमा रहेका गैरआवासीय नेपालीले भन्ने र रोज्ने कुरा हो । मैले एक्लैले मात्र हुन्छु भनेर हुने कुरा होइन । समयले नै बताउने छ ।

भिडियो अन्तर्वार्ता

प्रतिक्रिया

सम्बन्धित सामाग्री