चितवन, २१ असोज – कुखुरापालन व्यवसायमा वार्षिक रु २० अर्बभन्दा बढी रकम बाहिरिने गरेको छ । दानाको कच्चा पदार्थ, प्यारेन्ट चल्ला, औषधि, भिटामिन, उपकरणलगायत विदेशबाट आयात गर्नु परेका कारण सो रकम बाहिरिने गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य एवं कृषि र वन समितिका संयोजक डा तिलचन्द्र भट्टराईकाअनुसार दानाका कच्चा पदार्थमा मात्रै वार्षिक रु १६ अर्बभन्दा बढी रकम विदेशिने गरेको छ । भटमास, मकै, हड्डीको धुलो, सूर्यमुखिको पिना, ढुटो, ढुटोको तेल निकालेपछिको पीना, क्याल्सियमलगायतका कच्चा पदार्थ भारत र अन्य देशबाट आयात गरिँदै आएको छ । असीदेखि ९० प्रतिशत भारतबाट तथा अरु तेस्रो मुलुकबाट आयात गरिन्छ ।
“वार्षिक रु दुई अर्बभन्दा बढी औषधि र भ्याक्सिनका लागि तथा रु एक अर्ब उपकरण खरिद गर्न रकम विदेशिन्छ,” डा भट्टराईले भन्नुभयो । नेपालमा गत आर्थिक वर्षमा ११ लाखभन्दा बढी ब्वायलर प्यारेन्ट चल्ला र एक लाख आठ हजार लेयर्स प्यारेन्ट चल्ला आयात गरिएको थियो । रु ६४ करोडभन्दा बढी रकम खर्च हुने गर्दछ । लेयर्स प्यारेण्टका लागि रु ८०० र ब्वायलरका लागि रु ५०० हाराहारी पर्छ । डलरको मूल्य र समयअनुसार मूल्य घटबड हुने गर्छ ।
नेपालमा लेयर्स प्यारेन्ट उत्पादन हुँदैन भने ब्वायलर प्यारेन्ट न्यून सङ्ख्यामा उत्पादन हुँदै आएको छ । माग धान्न नसकेपछि विदेशबाट आयात गर्नुपर्ने बाध्यता छ । पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार थाइल्याण्ड, मलेसिया, अष्ट्रेलिया, फ्रान्स, जर्मनीलगायतका देशबाट नेपालमा प्यारेन्ट चल्ला आयात गरिन्छ । तीनै प्यारेन्टले पारेको अण्डालाई कोरलेर चल्ला उत्पादन गर्ने गरिन्छ । बिस्टकाअनुसार वार्षिक रु ६० अर्बभन्दा बढीको पोल्ट्रीजन्य उत्पादन नेपालमा बिक्री हुने गर्दछ । हालसम्म पोल्ट्रीजन्य उत्पादन निर्यात हुन सकेको छैन । राज्यको नीतिगत स्पष्टता नहुँदा आयात बढ्दै गएको र निर्यात हुन नसकेको बिष्टले बताउनुभयो ।
हरेक वर्ष व्यापार घाटा बढ्दै गएको छ । नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेल पछिल्लो वर्षमा वातावरण अनुकूलित भवन बनाएर कुखुरा पाल्दा अधिकांश सामान विदेशबाट आयात गर्नु परेको बताउनुहुन्छ । दाना, भाँडा, अत्याधुनिक खोरमा राखिने उपकरण र चल्ला उत्पादन गर्ने उपकरण आयात गरिँदै आएको छ । दानामा ५० देखि ६० प्रतिशत मकै तथा १८ देखि २४ प्रतिशत भटमास प्रयोग हुन्छ । जुन नेपालमै उत्पादन गर्न सकिन्छ । कँडेल नेपालका किसानलाई अनुदान दिएर बाँझो जग्गा प्रयोगमा ल्याउन सके र प्यारेन्ट चल्ला मागअनुसार यही उत्पादन गर्न सके पोल्ट्री क्षेत्रको व्यापार घाटा कम गर्न सकिने बताउनुहुन्छ ।
नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष टीकाराम पोखरेल नेपालमा भटमास र मकैको व्यावसायिक खेती गर्न सकेमा ७० प्रतिशत पोल्ट्रीको व्यापार घाटा कम गर्न सकिने बताउनुहुन्छ । प्यारेन्ट चल्ला उत्पादन क्षमता स्वदेशमा बढाउन सकेमा थप १० प्रतिशत व्यापार घाटा कम गर्न सकिने उहाँको भनाइ छ । सरकारले बीउ मात्रै दिएर होइन, अनुगमन सहित आवश्यक सहयोग किसानलाई गर्न सकेमा बाँझो खेतमा मकै र भटमास लगाएर कृषि क्षेत्रको व्यापार घाटामा कमी ल्याउन सकिने उहाँले बताउनुभयो ।
हाल नेपालमा ब्वायलर चल्ला हप्तामा २५ देखि ३० लाख, लेयर्स चल्ला हप्तामा एक लाख ५० हजार, गिरिराज दुई लाखदेखि दुई लाख २५ हजार र प्यारेन्ट २० हजार उत्पादन हुँदै आएको छ । पोल्ट्री क्षेत्रमा रु ७० अर्बभन्दा बढी लगानी भइरहेको छ ।
संसारभरका नेपाली मूलका मानिसलाई नेपाली पहिचान दिन एएनओको माग
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
एनआरएनए विश्व सम्मेलनको १२ बुँदे घोषणापत्र : लगानी, श्रमिक सुरक्षा र एकतामा जोड
बेलायती रक्षा मन्त्रालयमा चर्काचर्की
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
सुर्खेतमा बलात्कारपछि किशोरीको हत्या घटना : दोषीलाई कारबाही माग