इंग्ल्याण्डमा बालबालिकालाई ‘इनर्जी ड्रिंक्स’ बेच्न प्रतिबन्ध लगाउने तयारी

लन्डन-बेलायत सरकारले बालबालिकाको स्वास्थ्यप्रति चासो व्यक्त गर्दै अत्यधिक क्याफिन र चिनी हुने ‘इनर्जी ड्रिंक्स’ बेच्न प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

कोक भन्दा बढि चिनीको मात्रा र सस्तो पनि पर्ने इनर्जी ड्रिंक्स जस्तै रेड बुल, मोन्सटर इनर्जी लगायत उच्च क्याफिन भएका पेय पदार्थ बिक्रीमा प्रतिबन्ध लगाउने प्रस्तावसहित परामर्शका लागि १२ साताको समय दिइएको हो।
प्रतिबन्ध १६ वा १८ वर्ष मुनीका बालबालिकाका लागि लागू गर्ने भन्नेबारे परामर्श भइरहेको बीबीसीले जनाएको छ।
प्रधानमन्त्री टेरेजा मेले प्रतिबन्ध सम्बन्धि परामर्श बालबालिकाको मोटोपन र स्वास्थ्यसँग जोडिएको एवं सफ्ट ड्रिंक्स भन्दा पनि सस्तो इनर्जी ड्रिंक्स सेवनको परिक्षण आवश्यक रहेको बताएकी छन्। प्रधानमन्त्री मेले बुधबार यसबारे सार्वजनिक गरेकी हुन्।
स्कटल्याण्ड, नर्दन आयरल्याण्ड र वेल्ससँग भने आफ्नै ढंगले प्रतिबन्ध लागू गर्ने अधिकार छ।
स्वास्थ्यविज्ञहरुले यस्तो पेय पदार्थका कारण मोटोपन, दाँत, टाउको दुख्ने र निद्रामा समस्या आउने औँल्याएका छन्। यस्ता पेय पदार्थ पिउने बालबालिकाले कक्षा कोठामा अप्रिय व्यवहार समेत देखाउने गरेको बताइएको छ।
बेलायतका जनस्वास्थ्य मन्त्री स्टिभ ब्राइनले बालबालिकाको स्वास्थ्य र शिक्षामा असर पर्ने त्यस्ता पदार्थ सेवनबाट जोगाउनु सबैको दायित्व भएको बताउँदै युरोपेली भन्दा बेलायती बालबालिकाले करिब ५० प्रतिशत बढि सेवन गर्नु चिन्ताको विषय भएको बताएका छन्।
२५० एमएल क्यानको रेड बुलमा ८० एमजी क्याफिनको मात्रा हुन्छ। मोन्सटर इनर्जी त प्राय ५ सय एमएल क्यानमा उपलब्ध छ। गर्भवती र स्तनपान गराउने महिलाले पनि क्याफिन बढि हुने यस्ता पेय पदार्थ सेवन नगर्न सुझाइएको हुन्छ।
रोयल कलेज अफ पेडियाट्रिक्स एण्ड चाइल्ड हेल्थका अध्यक्ष प्राध्यापक रसेल भिनेर इनर्जी ड्रिंक्समा बालबालिका वा युवालाई आवश्यक पर्ने पोषण तत्व रहेको कुनै प्रमाण नभएको बताउँछन्।
बेलायतका ठूला सुपरस्टोरहरुले गत मार्चदेखि स्वयंसेवक रुपमा १६ वर्ष मुनीका बालबालिकालाई इनर्जी ड्रिंक्स बेच्न छाडिसकेका छन्।
बेलायतमा १० देखि १७ वर्ष उमेरका करिब ७० प्रतिशत बालबालिकाले इनर्जी ड्रिंक्स सेवन गर्ने गरेको तथ्यांक सरकारको ‘चाइल्डहुड ओबिसिटी प्लान’ सँग छ।
बेलायतमा इनर्जी ड्रिंक्स विक्री सन् २०१२ देखि २०१७ को अवधिमा करिब १९ प्रतिशतले बढेको छ। बजार अनुसन्धान गर्ने मिन्टेलका अनुसार गत वर्ष बेलायतमा करिब १.६५ बिलियन पाउण्ड मुल्य बराबरको इनर्जी ड्रिंक्स बिक्री भएको थियो। सन् २०२२ सम्म त १० प्रतिशत बढ्ने प्रक्षेपण छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री