लन्डनमा १८ वर्षपछि एकल कन्सर्टमा उत्रिए पूर्व काउन्सिलर गुरुङ

पूर्व काउन्सिलर गुरुङ आफ्ना ब्याण्ड सदस्यहरुसंग कन्सर्टमा (बायांबाट तेश्रो) । तस्विर- शिव भण्डारी

लन्डन । सन् २००७ मा बेलायतमा नेपालीमुलको पहिलो काउन्सिलर बनेपछि धन गुरुङ नेपालीमात्र होइन, बेलायती मिडिया र स्थानीय राजनीतिमा समेत एकाएक उदाए । ४ वर्ष काउन्सिलर बनेपछि उनीबाट प्रेरित भएर यहांको स्थानीय राजनीतिमा लाग्ने अरु धेरै थपिएका थिए ।

यही अवधिमा चर्चित ब्रिटिश अभिनेत्री जोआना लुम्लीसंग भूपू गोर्खाहरुलाई आवासीय अधिकार दिलाउने आन्दोलनमा अग्रमोर्चामा रहे उनी । उनकै नेतृत्वमा फोकस्टन केन्टमा ‘गोर्खा मेमोरियल स्मारक’ बन्यो ।

बेलायतको नेपाली समुदायमा चिरपरिचित पूर्व काउन्सिलर धन गुरुङ सप्ताहन्त भने फरक भूमिकामा देखिए । १८ वर्ष ब्रिटिश आर्मीमा सेवा गरेर निवृत्त उनी १८ वर्षपछि गायकका रुपमा एकल कन्सर्टमा देखिंदा उनका सहकर्मी अधिकांशले पल्टनको याद समेत गरे ।

‘संगीतप्रतिको उत्सुकता अहिले पनि उच्च छ तर पहिला युवावस्थामा जस्तो उर्जा नहुने रैछ’- कार्यक्रमपछि इमान्दार भएर उनले वीनेपालीसंग भने-‘संगीत अभ्यास अझै सशक्त गर्नुपर्छ मैले ।’

लन्डनस्थित हयारो बरो फुटबल क्लबमा आयोजित ‘द हिमालयन टु’ नामक सांगीतिक कन्सर्टमा उनले करिब दुई घण्टा १६ वटा गीत गाए ‘ननस्टप’ । क्वान्टिटी भन्दा क्वालिटीका दर्शकमाझ उनले ‘म नेपाली मेरो देश नेपाल’, ‘मेरी आमा’, ‘तिमी र म’, ‘दाया बाया चौतारी’ लगायत राष्ट्रिय भावनाले ओतप्रोत गीत गाउंदा दर्शक भावुक देखिन्थे । हिमालयन ब्याण्डको आफ्नै संगीत र रचनाका १६ वटा गीत गुरुङले नै कम्पोज गरेका हुन् ।

रक ब्याण्ड ‘द हिमालयन टु’ का अन्य सदस्यहरु मेन ड्रमर राजीव 
राई, लिड गितारिष्ट पवन थापा, बेस गितारमा विनय राई र किबोर्डमा आशिक गुरुङले लाइभ म्यूजिकमा गुरुङलाई साथ दिएका थिए ।

उक्त कन्सर्टमा प्रमुख अतिथी थिए राजदूत डा. दुर्गाबहादुर सुवेदी । उनले मन्तव्यका क्रममा पूर्व काउन्सिलर गुरुङ बेलायत नेपाल सम्बन्धको एउटा कडी भएको बताउंदै इतिहासमा उनको नाम सधैं रहिरहने उल्लेख गरे । राजदूत डा. सुवेदीले गुरुङ र आफू एउटै माटोमा हुर्किएको प्रसंग कोटयाउंदै गुरुङको दुर्गम गाउंमा शिक्षाको उज्यालो ज्योति पुरयाउने अभियानको प्रशंसा पनि गरे ।

गुरुङले उक्त कन्सर्ट रोल्पाको बलभद्र माविमा २१ वटा कम्प्युटरसहित ब्रिटिश स्टाण्टर्डको ‘कम्प्युटर टेक्नोलोजी एजुकेशन सेन्टर’ बनाउन गरेका हुन् । आगामी १५ सेप्टेम्बरमा स्वीन्डन र बांकी शहरमा पनि ‘म्यूजिकल टुर’ गर्ने योजनामा छन् गुरुङ । हयारोको पहिलो कन्सर्टबाट ६ हजार पाउण्ड संकलन भइसकेको जनाउंदै गुरुङले १५ हजार पाउण्ड संकलन गरेर 
रोल्पा स्कुलमा कम्प्युटर व्यवस्थापन गर्ने बताए ।

यसअघि उनले झापाको काकरभिट्टा उच्च माविमा ३१ वटा कम्प्युटर प्रदान गरेका थिए ।

ब्रिटिश आर्मीमा १८ वर्ष सेवा गरेका गुरुङ झापा मेची नगरका स्थायी बासिन्दा हुन् । उनी १२ वर्षको उमेर देखि नै संगीतमा लागेका थिए । सन् १९८७ मा पल्टनमा तालिमका दौरान घर र देशको याद आएर ‘डांडा पारीको त्यो गाउं…’ ब्रिटिश फोर्सेस गोर्खा रेडियो हङकङमा पहिलो पटक लाइभ गाएपछि उनी एकाएक चिनिएका थिए । त्यतिखेर ब्रिगेड अफ गोर्खाजमा उनको ‘डिमाण्ड’ खुबै बढेको थियो । आर्मीमा छंदा पनि गीत प्रस्तुत गरिरहने उनी केही समय संगीतबाट विश्राम लिएका थिए । ‘अब फेरि यसैमा लाग्ने सोचेको छु’- उनले भने ।

हयारो कन्सर्ट फ्रान्सिस्का घले राईले आयोजना गरेकी हुन् । औपचारिक कार्यक्रम एनआरएनए यूकेका प्रवक्ता रमेश सिंह सरांगकोटीले सञ्चालन गरेका थिए । उक्त कन्सर्टमा उर्मिला पउल राई, रबिन लिम्बु, आशिक गुरुङ लगायतले पनि बीच बीचमा गाए ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री